महाकवि देवकोटाको रुचि चुरोट, जुवा, संगीत र केटीमा पनि थियो (देवकोटाबारे भ्रमको चिरफार)
कात्तिक १४ । नेपाली साहित्यका एक महान् कवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जयन्ति मनाइँदैछ । लक्ष्मीपुजाको दिन महाकवि देवकोटा जन्मेका थिए । यसैले हरेक लक्ष्मीपुजामा हामी देवकोटाबारे चर्चा गरेर उनलाई सम्झने गर्दछोैं । मानवतावादी देवकोटाका कैयन कृतिहरु हामीसँग सुरक्षित छन् । जसमा हामी अहिले पनि उनलाई सजिलोसँग बुझ्न सक्छौं । यदि नेपाली साहित्यमा देवकोटा हुँदैन थिए भने पक्कै पनि ठूलो भ्याकुम महशुस हुन्थ्यो होला । देवकोटाको निधन भएकै ५७ वर्ष भइसकेको छ ।
देवकोटाको जन्म, बाबुआमाआदिबारे हामीले बच्चैदेखि थाहा पाउँदै आएका विषय हुन् । देवकोटा छ भाइमध्येका साहिँला थिए । उनका ६ जना दिदीबहिनी थिए । उनका एक छोरा र तीन छोरी अहिले पनि काठमाडौंको डिल्लीबजारमा बस्छन् । देवकोटा र उनकी पत्नी मनदेवी चालिसेले जम्मा पाँच छोरी र चार छोरा जन्माएका थिए । देवकोटा जन्मेको घर पुनर्निर्माण गरी पुरानै अवस्थामा डिल्लीबजारमा राखिएको छ । त्यो घरमा मानिसहरु भाडामा बस्छन् ।
दश वर्षको उमेरमा उनले कविता लेख्दा विद्यालयका साथीहरुले पत्याएनन् । उनैले लेखेको होइन भनेर शंका गरियो । शंका निवारण गर्न उनलाई कविता लेख्ने परीक्षा लिइयो । परीक्षामा उनले राम्रो कविता लेखिदिए । त्यही बेला उनलाई ‘कोपिलाउँदो कवि’ भनियो । देवकोटाको रुचि अंग्रेजी पढेर पैसा कमाउने थियो । किनभने उनको परिवारको आर्थिक अवस्था त्यति राम्रो थिएन । अंग्रेजी पढ्न उनी दरबार हाइस्कुलमा भर्ना भए । राणा शासनको त्यो बेला स्कुल पढ्ने भनेको काठमाडौंका घरानीयाहरुले मात्रै थियो । त्यस हिसाबले देवकोटाको परिवार आर्थिक रुपले कमजोर भए पनि समाजमा घरानीयामा गनिन्थे भन्न सकिन्छ ।
देवकोटाको पढाई राम्रो थियो । उनी तिक्ष्ण बुद्धिका थिए । त्यही भएर उनलाई दरबार हाइ स्कुलमा आठौंबाट एकैपटक दशौंमा भर्ना गरिएको थियो । देवकोटाले विज्ञान पनि पढे । त्यो बेला लेखेका कविता गोरखापत्रमा छापिएका थिए । गोरखापत्र त्यसबेला साप्ताहिक रुपमा प्रकाशित हुन्थ्यो । आइएससी पढ्दा नै देवकोटा ट्युसन पढाउँथे । उनले प्राइभेट परीक्षार्थीका रुपमा पटना विश्वविद्यालयबाट विए र विएल गरे ।
देवकोटा चौध भाषा बुझ्थे । चौध भाषा बुझ्न चानचुन प्रतिभाले पुग्दैन । यसबाट पनि देवकोटाको प्रतिभा स्पष्ट हुन्छ । उनले नौवटा भाषामा लखेको कविताहरु शारदा मासिकमा प्रकाशित नै भएको थियो ।
१६ वर्षमा विवाह भएपछि देवकोटाको जीवनको मोड बद्लीयो । देवकोटाले त्यही बेला मुनामदन रचना गरे । ८० विघा जमिन देवकोटाको थियो । दैनिक १८ घण्टासम्म ट्यु्सन पढाउँथे । तर पनि देवकोटा कंगाल सरि थिए । पत्नी अत्यन्त धार्मिक, देवकोटा बढी स्वच्छन्द थिए । जसका कारण पति–पत्नीबीचको व्यवहारिक तालमेल मिल्दैन थियो । यहि कारण देवकोटाको परिवार अभावमा रुमल्लिएको थियो ।
देवकोटाले लगाएकै कोट फुकालेर भिखारीहरुलाई दिन्थे, पैसा बाँड्दै घर पुग्दा गोजी रित्तो हुन्थ्यो’ भन्ने किस्सा हामीले धेरै सुनेका छौं । देवकोटाका गणेश श्यामदास वैष्णवले उनी स्वच्छन्द चाहिँ भएको तर, त्यति साह्रो नभएको बताएका छन् । यसकारण महाकवि देवकोटाका विषयमा केही मिथक पनि बनेको अनुमान लगाउन गाह्रो छैन । लगाउनमा भन्दा खानमा शौखीन देवकोटा खसीको टाउको पाउँदा एउटा खण्डकाव्य नै लेखिदिन्थे ।
देवकोटाको अम्मल चुरोट थियो । जुवातास र पासामा पनि उनलाई रस थियो । उनी राति राति हारमोनियम बजाएर भजन पनि गाउँथे । उनको सौखको अर्को साधन साइकल पनि थियो ।
देवकोटाले कुनै बेला ‘उद्देश्य के लिनु उडि छुनु चन्द्र एक’ भनेर कविता लेखे । मानिसहरुले उनलाई तरंगी भनेर जिल्याए । देवकोटाको निधन हुनुभन्दा १६ घण्टा अगाडि रुसले छाडेको रकेट चन्द्रलोक पुगेको थियो ।
देवकोटालाई वास्तवमै मानसिक आघात परेको थियो । उपचारका लागि उनलाई राँची लगियो । देवकोटालाई १९९५ साल पुस २० गतेदेखि १५५ दिन राँचीको मानसिक अस्पतालमा राखिएको थियो । पागलखानाको उपचारका क्रममा देवकोटालाई डा.बर्कले हिलले भनेका थिए, ’देवकोटाजस्तो मान्छे नेपालमा जन्मनु भौगोलिक गल्ती हो ।’
देवकोटा गरीव थिएनन् तर अति अव्यवहारिक थिए । हातमा पैसा परेपछि कसरी फुर्मास् गर्ने भन्ने सोचमा उनी केन्द्रित हुन्थे । अनि जताबाट भए पनि उनी पैसा मास्नेतिरै उन्मुख हुन्थे र भोलिपल्टदेखि भोकै पनि सुत्थे । यसको मुख्य कारण के हो भने पत्नी मनदेवीले धर्मका नाउँमा पैसा उडाउन थालेपछि देवकोटाले पनि घरमा पैसा ल्याउन चाहँदैन थिए ।
देवकोटाको जीवनशैली अव्यवस्थीत भएकै कारण उनलाई आर्थिक अभाव हुने गथ्र्यो । कतिसम्म भने त्यो बेला बिए बिएल गरेको मान्छेले जागिर नपाउने भन्ने नै थिएन । तर उनी लहडी थिए । त्यही भएर दश वर्षसम्म जागिरमा छिर्न सकेनन् ।
अन्ततः उनी नेपाली भाषानुवाद परिषदमा जागिरे भए । उनले त्रिचन्द्र कलेजमा प्रोफेसरको पदमा जागिर पनि पाए । उनले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए । उनको लहडी बानीले कार्यालय समयमा उनी कहिल्यै पुग्दैनन थिए । कहिले धेरै अघि पुग्थे, कहिले कार्यालय सकिने बेला पुग्थे ।
देवकोटालाई त्यो बेलाको सरकारले दुःख दिएन । राणाकालमा उनले पढ्ने अवसर पाए । प्रजातन्त्र आएपछि पनि राजाहरुले माया गरे । पढेलेखेका देवकोटा लहैलहैमा लागेर भारत पुगे । दुःख पाए । त्यो बेला बबर शमशेरले देवकोटा लिन खर्चसहित आफ्ना भाइलाई पठाए । जसका कारण देवकोटा राणाहरुसँग धेरै आक्रमक बनेनन् ।
देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे । राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए । यसकारण देवकोटा शासकहरुका प्रिय नै थिए भन्न सकिन्छ ।
डाक्टर केआइ सिंह प्रधानमन्त्री हुँदा देवकोटा ११० दिन शिक्षा तथा स्वायत्तशासन मन्त्री बने । भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ’मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।
देवकोटाले ३६ वटा खण्डकाब्य ६ वटा महाकाव्य लगायत विविध विधाका ८४ वटा कृति लेखे । उनका अप्रकाशित ४५ वटा कृति भेटिएका छन् । एक पटक देवकोटा अफ्रोएसियाली लेखक सम्मेलनमा भाग लिन तत्कालीन सोभियत संघको तासकन्द गए । चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो । नेपालबाट भिसा र पासपोर्ट बिनानै उनी तासकन्द पुगेका थिए ।
देवकोटाले राहुल सांकृत्यानलाई नै लक्षित गरेर पागल कविता लेखेका थिए । त्यो कवितामा उल्लेख भएको ‘तिम्रा विद्धान मेरा मुर्ख’ पछि सम्पादन गरि बनाइएको थियो । विद्वान भन्ने ठाउँमा देवकोटाले सांकृत्यानको नाम नै लेखेका थिए । पागल कवितालाई देवकोटाको सर्वोत्कृष्ट कविता पनि भन्ने गरिन्छ ।
देवकोटालाई पागल सम्झेर मदन पुरस्कार दिइएन । खास कुरा के थियो भने रानी जगदम्बाले देवकोटालाई पुरस्कारका साथै थप नगद र जिन्सी दिन्छिन् भन्ने डरले उनलाई जगदम्बाको आँखाबाट ओझेल पारिएको थियो ।
देवकोटाले मन्त्री भएका बेला उनका समकक्षी मन्त्री जनरल भूपालमानसिंह कार्कीको समेत साथ पाएर त्रिभुवन विश्वविद्यालयका लागि कीर्तिपुरमा पाँच हजार रोपनी जग्गा अधिग्रहण गरेका थिए । देवकोटा मन्त्री भएका दिन उनलाई निवासबाट मन्त्रालय पुर्याउने काम सत्यमोहन जोशीले गरेका थिए । देवकोटा केटी प्रिय थिए । उनले केहीसँग मन जोडे र केहीसँग तन पनि जोडे । उनले सोभियत रूस, भारतको पटना र दार्जि्लिङ अनि काठमाडौंका केही केटीसँग माया साटासाट गरेका थिए । देवकोटाका ८४ वटा किताप छापिए । उनका ४५ किताप छाप्न अझै बाँकी छन् । देवकोटाले ’मुनामदन’ खण्डकाव्य ८ घन्टामा लेखेका थिए । देवकोटाले १० दिनमा “सुलोचना“ महाकाव्य लेखे ।
देवकोटाले खण्डकाव्य र काव्य ३६ वटा, महाकाव्य ६ वटा, कवितासङ्ग्रह २१ वटा र नाटक, निबन्ध प्रबन्ध, कथा, उपन्यास, समालोचना आदि लेखे । साथै उनले केही किताप अनुवाद पनि गरे । देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए ।
स्रोतः नरेन्द्रराज प्रसाईको ‘देवकोटाको जीवनशैली’