देवताहरुले दानवहरुलाई अत्याचार गरेको घटनाबाट जन्मेको थियो देउसी

कात्तिक १५ । हामीले सुन्दै आएको कुरा हो सत्य युगमा दानवहरु अत्याचारी हुन्थे । उनीहरुले अत्याचार गर्थे । अनि भगवानले अत्याचारी दानवको संहार गरी धर्मको रक्षा गर्थे । यदि यसलाई देउसीको सन्दर्भमा जोड्ने हो भने कुरा उल्टो हुन्छ ।
सत्ययुगमा बली नामका असूर राजा थिए । अत्यन्तै पराक्रमी र दानबीर थिए उनी । उनले इन्द्रासनका लागि अश्वमेध यज्ञको समापनकोघडीमा थिए । त्यो यज्ञ समापन हुँदा बली राजालाई इन्द्रासन प्राप्त हुने थियो । त्यो कुरा इन्द्रले थाहा पाए । असूरलाई इन्द्रलोक दिनु हुँदैन भन्ने बहानामा इन्द्रले विष्णुको सहयोग मागे । विष्णुले वामन (पुड्के) ब्राम्हणको रुप धारण गरेर बलीराजा भए ठाउँ गए ।
र उनलेमहादानी बलीसँग भिक्षा मागे । भिक्षामा के दिउँ ? भनेर बलीले बामनअवतार रुपी विष्णुलाई सोधे । वामनअवतारी विष्णुले भने यज्ञका लागि तीन पाउ जमिन देऊ ।
बली छक्क परे । किनभने त्यो बेला पूरै पृथ्वीमा बलीराजाको राज थियो । होचो फुच्चे ब्राम्हणले एउटा देश नै माग्न सक्त्थ्यो । तर उसले जम्मा तीन पाउ जमिन माग्यो । उनले दिन्छु भने । वामन अवतारले भने उसो भए पहिले संकल्प गर भने ।
संकल्प गर्न बली राजाले करुवाबाट पानी हातमा हाल्न खोज्दा असुरहरुका गुरु शुक्राचार्यले बलीलाई रोके । अनि भने, ‘यीनी ब्राम्हण होइनन् विष्णु हुन् । संकल्प नगर, तीन पाउमा तेरै सबै राज्य लिइदिन्छ ।’
दानबीर बली आफ्नो वचनबाट पछि हट्न सक्दैन थिए । उनले जे सुकै होस संकल्प गर्छु भने । शुक्राचार्य सानो रुप धारण गरेर करुवाको प्वालमा बसिदिए । करुवबाट पानीआएन । त्यो देखिरहेका वामन ब्राम्हणले खरले करुवाको प्वालमा घोचे । त्यो बेला शुक्रचार्यको आँखा फुट्यो । उनी बाहिर निस्के । बलीले संकल्प गरे ।
वामनरुपको ब्राम्हणले त्यसपछि विशाल रुप धारण गरे । पहिलो पाउमा पृथ्वी, दोस्रो पाउमा आकाश टेके । अनि तेस्रो पाउ टेक्ने ठाउँ पाएनन् । अनि बलीले भने, ‘मसँग भएको सबै लिइ सक्नु भयो, अब म कसरी तीन पाउ जमिन पूरा गरु ? ’ विष्णुले भने ‘देउ शिर ।’ हो, यहि देउ–शिर नै अपभ्रंश भएर देउसिरे भएको हो । तिहारमा ‘बली राजाले पठाको’ भन्ने गरिन्छ । ती बली राजा यीनै थिए ।
बलीराजाले शिर दिएर तेस्रो पाउ पूरा गरिदिए । अनि विष्णुले भने, ‘तिम्रो दानबीरताबाट म प्रशन्न भएँ । के बरदान माग्छौ ? ’ बलीले भने पहिले मेरो प्रश्नको जवाफ दिनुहोस् अनि बरदानको कुरा गरौंला ।
विष्णुले प्रश्न गर भने । बलीले सोधे, ‘प्रभु म हजुरको पनि महाभक्त हुँ । त्यो हजुरलाई पनि थाहा छ । यो श्रृष्टि हजुरकै हो । यो चराचर जगत हजुरकै हो । म त एक निमित्त मात्रै हुँ । यो थाहा हुँदा हुँदै पनि म जस्तो सानो व्यक्तिले आर्जेको राज्य लिन हजुर किन छद्मभेष लिएर म कहाँ आउनु भयो ? सोझै मसँग हजुरले माग्नु भएको भए म ज्यान पनि दिने थिए, आफ्नो भक्तसँगै यस्तो छल किन ?
बलीको प्रश्नले भगवान विष्णु निरुत्तर भए । किनभने बली दानव कुलमा जन्मेकै कारणले उनीमाथि देवताहरुको सिन्डिकेटले अत्याचार गरेको थियो । जसरी राणाशासनमा राणाकै सन्तान दरसन्तान राजा, मन्त्री, सेनापति हुन पाउँथे, त्यसै गरी देवताहरुको पालामा पनि दानवहरुलाई अछुतको व्यवहार र अपमान गरिन्थ्यो । उनीहरुमाथि अत्याचार गरिन्थ्यो ।