स्वास्थ्य

नेपालगञ्जमा डेङ्गु र स्क्रब्स टाइफस रोगको सङ्क्रमण बढ्दै

नेपालगञ्जमा डेङ्गु र स्क्रब्स टाइफस रोगको सङ्क्रमण बढ्दै
स्वास्थ्य/नेपालगञ्ज

कात्तिक - १६ ।  नेपालगञ्जमा डेङ्गु र स्क्रब्स टाइफस रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ । नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ७० जनाभन्दा बढी स्क्रब्स टाइफस र डेङ्गुका बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ । नेपालगञ्ज शिक्षण अस्पतालमा सबैभन्दा बढी डेङ्गु र स्क्रब्स टाइफस रोगका बिरामी आएका हुन् । अस्पतालका निर्देशक डा एम किदवाईका अनुसार हालसम्म अस्पतालमा पुगेका बिरामीमध्ये ५० जनामा स्क्रब्स टाइफस रोग र आठ जनामा डेङ्गु भेटिएको छ । तीमध्ये अधिकांशलाई उपचार गरेर घर पठाइसकिएको, केहीलाई भारतको लखनउ र काठमाडौँ पठाउन सिफारिस गरिएको तथा अझैं केहीको उपचार भइरहेको निर्देशक डा किदवाईले जानकारी दिए ।

अस्पतालका निर्देशक डा एम किदवाईका अनुसार हालसम्म अस्पतालमा पुगेका बिरामीमध्ये ५० जनामा स्क्रब्स टाइफस रोग र आठ जनामा डेङ्गु भेटिएको छ ।


डेङ्गु र स्क्रब्स टाइफस रोग लागेर अस्पतालमा भर्ना भएका बिरामीमध्ये अधिकांश बर्दिया जिल्लाबाट आएका छन् भने बाँकी कैलाली, सुर्खेत, दाङ, रुकुम, सल्यान र बाँकेका बिरामी रहेको अस्पताल प्रशासनले जनाएको छ । भेरी अञ्चल अस्पतालमा पनि डेङ्गुका दुई जना र स्क्रब्स टाइफस रोगका १० जना बिरामी आएको अस्पतालले जनाएको छ । भेरी अञ्चल अस्पतालका प्रमुख डा। श्यामसुन्दर यादवका अनुसार एक जना नेपालगञ्जका र एक जना दाङका बिरामीमा डेङ्गु देखिएकोमा उनीहरुको उपचार भइरहेको तथा स्क्रब्स टाइफस रोगका १० भन्दा बढी बिरामी भर्ना रहेको बताए । उहाँका अनुसार डेङ्गुु परीक्षणका लागि किटको अभाव भएकाले मन्त्रालय र विभागमा माग गरिएको जनाउँदै डेङ्गु बढ्ने सङ्केत देखिएकाले समयमै सबै सचेत हुनुपर्ने सुझाव दिइएको छ । रासस
 

Bheri Hospital dengue Nepalganj

विशेष