समाज

भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउँदै, आज सार्वजनिक विदा

भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउँदै, आज सार्वजनिक विदा

कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने नेपाल भ्रमणका लागि आज आउँदैछन् । भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि झन्डा तथा तुलहरु चोक चोकमा राखिएको छ । उनको सवारी पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् । राष्ट्रपति मुखर्जीको स्वागतका लागि सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नेछन् भने सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ । भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ ।


राष्ट्रपति मुखर्जी नेपाल रहँदा राजनीतिक दलका नेताहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने छन् । सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जाने कार्यक्रम छ । भारतका राष्ट्राध्यक्षको भ्रमणमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते यहाँको भ्रमण गरेका थिए ।

Mukharju

विशेष