महामहिमजी यो पटक नेपालका नदीनाला होइन, नेपालीको मन बुझेर फर्किनुहोला
कात्तिक १७ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण नागरिक स्तरमा विवादित बन्न पुगेको छ । त्यसमाथि सरकारले देश नै बन्द गरेर मुखर्जीको स्वागत गर्ने निर्णय गरेपछि त जनता अझै आक्रोशित भएका छन् । यस्ता आक्रोश सामाजिक सञ्जालहरु हेर्दा प्रष्टिन्छ ।
राष्ट्रपति मुखर्जीको भ्रमणमा सार्वजनिक बिदा दिइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त जनतासँग झुट नै बोले । उनले सार्वजनिक बिदा बारे पहिलोपटक मुख खोलेर भने, ‘सबै राजनीतिक दलहरुसँगको सल्लाहमा बिदा दिइएको हो । काठमाडौंको ट्राफिकको कारण पनि बिदा दिइएको हो । ’
प्रधानमन्त्री दाहालले भनेका यी दुवै विषय आधारहिन र भ्रामक त्यतिबेला प्रमाणित भए जब उनले सिमित पत्रकारहरुलाई भोजका लागि निम्तो गरेर त्यही विषयमा फेरि बोले । दोस्रो पटकको प्रष्टोक्तिमा उनले सत्ता साझेदार दलसँग मात्रै सल्लाह भएको भने । काठमाडौंमा मुखर्जी आउँदा डडेल्धुराको गाविस किन बन्द गर्नुपर्ने हो ? त्यसको औचित्य पुष्टि गर्न सकेनन् । काठमाडौंको ट्राफिक जामको समस्या हल गर्न देशभर नै सार्वजनिक बिदा किन गरियो बुझ्न सकिने कुरै भएन ।
नेपालमा बम पड्काउने आतंकवादीलाई भारतले दश वर्ष पालेर दुःख दिएको थियो । त्यसबेला आतंकवादी घोषित माओवादीहरुलाई शान्ति सम्झौताले राजनीतिक दलका रुपमा स्वीकार गर्यो । नत्र त्यो बेला माओवादी आतंकवादी नै थिए । ‘पठानकोट’ र ‘ताज होटलमा भएको आतंकवादी हमलामा पाकिस्तानमा आधार बनाएर बसेका आतंकवादीले गराएको भन्ने भारतको दाबी छ । उसले ती घटना कहिले पनि विर्सन नसक्ने भन्दै पाकिस्तान आतंकवादीहरुको घर हो भनेर भारत विश्वभर हल्ला गर्दै हिडेको छ । तर भारतले दश वर्ष माओवादीलाई पाल्दा हामीले १७ हजार दाजुभाई गुमायौं । ती १७ हजारलाई हामीले चाहि कसरी भुल्न सक्छौं ?
माओवादी सञ्चालनमा कुनै बेला यीनै राष्ट्रपति मुखर्जीको संलग्नता थियो भन्ने दाबीका साथ राजनीतिक विश्लेषक भरत दाहाल लेख्छन्, ‘माओवादी सञ्चालन गर्ने ३ मूख्य भारतीय कमाण्डरहरूमा मुखर्जी, ‘रअ्’ का पूर्वप्रमूख हर्मीज थाराकान र पूर्वरक्षामन्त्री जर्ज फर्नान्डेज हुन् ।’ यो विषयलाइ बल दिँदै ट्विटरमा आनन्दराम पौडेले लेख्छन्, ‘नेपालको माओवादीलाई संसदवादीहरुसँग सम्झौता गर भनेंँ । एक्कैवचनमा तैयार भए । अक्टोबर २००९ मा अलजजिरालाइ अन्तर्वार्ता दिंदै प्रणव मुखर्जीले भने ।’
सानो र भारतवेष्ठिता/ भूपरिवेष्ठितताको भौगोलिक अप्ठ्यारोमा रहेको छिमेकीसँग भारतले सधै अत्याचार नै गर्दै आयो । नयाँ पुस्ताले गतवर्षको नाकाबन्दीबाट आफ्नो छिमेकीको असली अनुहार हेर्ने मौका पाए । बलियो छिमेकीले कमजोर छिमेकीलाई सहयोग नगर्दा त बात लाग्छ । तर भारतले त नेपालमाथि अत्याचार नै गर्छ । त्यो अत्याचारको घाउ नपुरिने खालको छ भन्दै टेलिभिजनमा कार्यक्रम प्रस्तोता दयाराम अग्रवालले मिठो शब्दमा कडा स्टाटस हिन्दी भाषामा यसरी लेखे,
‘ महामहिम राष्ट्रपति महोदय राजनीतिक प्रतिशोध के नाम पे भारत सरकार ने समय समय पे हम नेपालीयोंको कई घाव दिए, जो शायद कभी भर ना पाएंगे फिर भी हम आपका हमारे देश मे तहे दिलसे स्वागत करते है.... हमारी परम्परा, संस्कृति और संस्कार हमे घर आए अतिथिका अनादर करना नही सिखाता महामहिम...’
भारतले नेपाललाई नुनदेखि पुराना हेलिकोप्टरसमेत सहयोग गर्दै आएको छ । नुनको प्याकेटमा समेत ‘नेपाल–भारत सहयोग’ लेख्न लगाउँछ । सानो सानो सहयोगलाई यसरी हल्ला गर्छ कि मानौ नेपाललाइ पालेकै भारतले हो । सबैभन्दा बढी भारतीय त नेपालले पालेको छ ।
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने चौथो देश भारतका लागि नेपाल हो । भारतसँग मात्रै नेपालको ५–६ खर्बको व्यापार घाटा छ । यस्तो व्यापार घाटा कम गर्न सक्ने जलविद्युत आयोजनाका पाँच स्रोत नदी भारत वर्षौैदेखि ओगटेर राखेको छ । न ती नदीबाट भारत आफू जलविद्युत उत्पादन गर्छ न हामीलाई उत्पादन गर्न दिन्छ । नदीनाला भारतलाई सुम्पने चाहिँ यीनै हाम्रा नेताहरु हुन् । यहि विषयलाई व्यंग्य गर्दै सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलोमा भनियो,
‘मुखर्जी आए आँगन नदी नाला मागन हे भैसी प्यारो, गाई थारो भैलो’
छिमेकी देशको राष्ट्रपति आउँदा सरकारले त ठाउँ ठाउँमा ब्यानर राखेर स्वागतको तयारी गरेकै छ । तर नेपाली जनताले भने बिना कारण नेपालीलाई तीन–तीन पटक नाकाबन्दी गरेर दुःख दिने देशका राष्ट्रपति आउन लागेको महशुस गरेका छन् । कात्तिक १७ लाई कतिपयले ‘ब्लाक डे’ नै भनेर ट्रेन्डिङ गरिरहेका छन् ।
भारतीयहरु अतिथी बनेर आउँछन् । नेपालका नदीनालामा आँखा गाडेर जान्छन् भन्ने नेपालीहरुको बुझाई छ । यसपटक राष्ट्रपति मुखर्जीले नेपालका नदीनाला होइन नेपाली जनताको मन बुझेर जाउन् ।