स्वास्थ्य

कैदीमा छाला रोगको प्रकोप फैलियो

कैदीमा छाला रोगको प्रकोप फैलियो
कात्तिक - १७ । चितवनको भरतपुरस्थित जिल्ला कारागारमा छाला रोगको प्रकोप फैलिएको छ । jail क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको भरतपुर कारागारमा दाद, छाला चिलाउने, विभिन्न बिबिरा आउने तथा एलर्जी देखिएको कारागारका चौकीदार अमृत गुरुङले जानकारी दिए । कारागारमा रहेका झन्डै ६ सय कैदी र थुनुवामध्ये ५० प्रतिशतमा रोग देखिएको गुरुङले बताए । छाला रोगको प्रकोप नै फैलिएपछि कैदी र थुनुवाले उपचार गरी पाउँ भन्दै कारागार व्यवस्थापनलाई निवेदन समेत दिएका छन् । कारागारभित्रै कैदीको रुपमा रहेका अहेव तथा मेडिकल नाइके ओदारी महतोले छालाको रोग देखिएको लामो समय भए पनि अहिले भने रोग बढेर गएको जानकारी दिए । महतो कैद भुक्तान गरिरहेका कैदी र थुनुवालाई कारागारभित्रै उपचार गर्ने मेडिकल प्राविधिक हुन् । भित्रको औषधिले नभेटेकाले बाहिरबाट औषधि र चिकित्सक ल्याउनुपर्ने महतोको भनाइ छ । कारागारमा छालाको रोग बढेको बताउँदै कारागार प्रमुख कमल काफ्लेले रोगको उपचारका लागि बाहिरबाट औषधि र चिकित्सक ल्याउने तयारी भएको जानकारी दिए । यो वर्ष कैदी र थुनुवाको उपचारका लागि भनेर १० लाख रकम सरकारबाट सहयोग आएको कारागार प्रशासनले जनाएको छ । अहिले नियमित उपचार गर्ने अन्य बिरामी क्यान्सरका पाँच जना, टिभीका पाँच जना, हेपाटाईटिसका दुई जना तथा अधिकांश उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको कारागारले जनाएको छ ।

Chitwan Jail kaidima chhalako rog failiyo

विशेष