देश

भारतीय राष्ट्रपतिलाई जनकपुर बासीले ३ भाषामा अभिनन्दन गर्ने

भारतीय राष्ट्रपतिलाई जनकपुर बासीले ३ भाषामा अभिनन्दन गर्ने
कात्तिक - १७ ।  भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरमा शुक्रबार नागरिक अभिनन्दन गरिने भएको छ । जनकपुरका बासिन्दाद्वारा राष्ट्रपति मुखर्जीलाई प्रदान गरिने नागरिक अभिनन्दन पत्र तीन भाषामा तयार गरिएको छ । नेपाली, अङ्ग्रेजी र मैथिली भाषामा अभिनन्दन पत्र तयार गरिएको अभिनन्दन समारोह समितिका संयोजक एवं जनकपुर उपमहानगरपालिकाका प्रमुख पुन्यप्रसाद लुइँटेलले बताए । अभिनन्दन पत्रमा जनकपुर र अयोध्याको सम्बन्ध, जानकी र रामको वैवाहिक सम्बन्ध, मिथिला र अवधको सम्बन्ध, दुबै देशको भाषा र संस्कृतिलगायत नेपाल र भारतका सम्बन्धबारे वर्णन गरिएको छ । भारतीय राष्ट्रपति मुखर्जीको यही कात्तिक १९ गते जानकी मन्दिरमा पूजाअर्चना र तिरहुतिया गाछीमा नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार भारतीय राष्ट्रपति मुखर्जीलाई जानकी मन्दिरमा वैद्धिक र मिथिलाको संस्कृति अनुसार स्वागत, जानकी मन्दिरमा विशेष पूजा, मन्दिर परिसरका अन्य विभिन्न मूर्तिको पूजा र जानकी मन्दिरको परिक्रमा गरिने कार्यक्रम रहेको छ । त्यसका लागि मन्दिरलाई फूलले सजाउने कार्य तीव्र रूपमा भइरहेका छन् । त्यस्तै राष्ट्रपति मुखर्जीको नागरिक अभिनन्दन हुने स्थल तिरहुतिया गाछीमा मञ्चको व्यवस्थापन र सजाउने कार्य पनि उच्चसुरक्षासहित भइरहेको छ । प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईँले भारतीय राष्ट्रपति मुखर्जीको जनकपुरधाममा ५५ मिनेटको कार्यक्रम रहेको बताउँदै विमानस्थलमा उपप्रधान र गृहमन्त्री विमलेन्द्र निधिले स्वागत गर्ने कार्यक्रम रहेको जानकारी दिए। भारतीय राष्ट्रपति मुखर्जीको स्वागतका लागि जनकपुर विमानस्थलदेखि जानकी मन्दिर परिसर एवम् अभिनन्दनस्थल तीन किलोमिटरसम्म स्वागतद्वारको निर्माण गरिएको छ भने बिजुलीका पोलमा नेपाल र भारतका झन्डा र तुल राखिएको छ । मुखर्जीको स्वागतका लागि विमानस्थलदेखि अभिनन्दन स्थलसम्मका सडक, चोकलाई सफा र चिटिक्क बनाउने कार्य पनि तीव्र रूपमा भइरहेको छ ।

Janakpur pranab mukharji

विशेष