स्वास्थ्य

चितवनका ८ सय २ घर डेङ्गु प्रभावित

चितवनका ८ सय २ घर डेङ्गु प्रभावित
कात्तिक – १७ । चितवनको भरतपुर र रत्ननगरको बजार क्षेत्रमा ८ सय २ घर डेङ्गु पोजेटिभ पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले चलाएको डेङ्गु रोग लगाउने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्ने अभियानका क्रममा गरेको स्थलगत अनुगमनमा यस्तो पाइएको हो । कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २० हजार २ सय ६७ वटा घरमा गरिएको अनुगमनमा ८ सय २ घरको एक हजार २ सय ५२ कन्टेर र भाँडामा डेङ्गु सार्ने लामखुट्टेका लार्भा भेटिएको हो । गएको असोज १६ गतेदेखि १८ गतेसम्म गरिएको अनुगमन प्रतिवेदनबारे बुधबार जानकारी दिँदै उहाँले रत्ननगर र भरतपुरका बजार क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे रहेकाले यस्ता लामखुट्टेबाट बच्न सर्वसाधारणलाई अपिल गर्नुभएको छ । खोजी अभियान तथा स्थलगत अनुगमनमा स्वास्थ्यकर्मीसहित १ सय ५० जना स्वयंसेवक परिचालन गररिएको थियो । फेला परेका लामखुट्टेका लार्भा नष्ट भएको कार्यालयले जनाएको छ । चितवनको भरतपुर उपमहानगर क्षेत्रमा १६ हजार ४ सय ८५ घरमा गरिएको अनुगमनमा ५ सय ४९ घर तथा रत्ननगरका तीन हजार ७ सय ८२ घरमा गरिएको परीक्षणमा २ सय ५३ घर डेङ्गु पोजेटिभ फेला परेको निरीक्षक केसीले जानकारी दिनुभयो । एडिस एजेप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ । यो लामखुट्टेले भाँडामा जमेको सफा पानीमा लार्भा हुर्काउँछ । लामखुट्टेको टोकाइबाट बच्ने र भाँडामा एक हप्तासम्म पानी जन्म नदिए यो रोग लाग्नबाट बच्न सकिने चिकित्सक डा विजय पौडेलले बताउनुभयो । चितवनमा भदौदेखि अहिलेसम्म ४ सय ५० भन्दा बढीमा डेङ्गु रोग देखिइसकेको छ ।

Chitawan dengue

विशेष