समाज

भारतीय राष्ट्रपतिले भने कवी जी, हाउ आर यु ?

भारतीय राष्ट्रपतिले भने कवी जी, हाउ आर यु ?

कात्तिक १८ ।  ‘गाउंछ गीत नेपाली, ज्योतिको पंखा उचाली... जय जय जय नेपाल, सुन्दर र शान्त विशाल ...।’

हरेक नेपालीको मनमस्तिष्कमा जीवन्त बास बसेका यी गीतका हरफहरु सङ्गीतमा तरङ्गित भइरहेको थियो । खुला चौरमा त्रिपाल त थियो नै । वरिपरि रुख र रुखमा रहेका चराचुरुङ्गीको आवाजसँगै राष्ट्रिय गीतमा विशिष्टजनले मन भुलाइरहेको प्रतीत हुन्थ्यो ।

कालजयी यस राष्ट्रिय गीतका स्रष्टा राष्ट्रकवि माधव घिमिरे मुस्कुराउँदै मञ्चतर्फ लम्किए । नब्बे वर्ष पार गरेका वयोवृद्ध राष्ट्रकवि घिमिरे लौरोको सहाराले मञ्चमा पुगे । मञ्चमा पाइला राख्ने बित्तिकै भारतका राष्ट्रपति प्रणव मुखर्जीले ‘कवि जी, हाउ आर यु ?’ भन्ने भलाकुसारीका शब्द उच्चारण गरे । अङ्गेजी भाषाका ज्ञातासमेत रहेका राष्ट्रकवि घिमिरेले जवाफमा भने – आई एम फाइन, योर एक्स्लेन्सी ।

राजकीय निमन्त्रणामा आउने विशिष्ट व्यक्तिले आफे दूतावासमा आयोजना गरिने स्वागत समारोहमा आमन्त्रित पाहुनाहरुसंग भेटघाट गर्ने परम्परा रहिआएको छ । भ्रमणको पहिलो दिन नै भारतीय दूतावासले राष्ट्रपति मुखर्जीकोे सम्मानमा स्वागत समारोह आयोजना गरेको थियो । राष्ट्रकवि घिमिरे स्वागत समारोहका लागि मध्याह्न १२ बजे नै लैनचौरस्थित भारतीय दूतावासमा पुगेका थिए । जीवनमा मलाई बडो आनन्द मिल्यो राष्ट्रपति मुखर्जीसँग हात मिलाएपछि उनले भने ।

दुई देशका राष्ट्रिय गानको धून बजाएर स्वागत समारोह सुरु र अन्त्य गरिएको थियो । भारतीय राष्ट्रपतिसंग नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भेटघाट गरेका थिए । त्यस्तै भारतीय राष्ट्रपति मुखर्जीसंग नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला, नेता डा शेखर कोइराला, सरकारमा सहभागी मन्त्रीहरुले भेट गरेका थिए ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल, पूर्वसभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझीले पनि भेट गरेका थिए ।

यसैगरी, भारतीय राष्ट्रपतिसँग भेट गर्ने अन्य नेतामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलगायतका थिए ।

विशेष