ट्राफिक युवतीको रात्री व्यथा, मुखर्जी भ्रमणमा कस्लाई के थाहा !
बा ५२ प ३४३ नम्बरको स्कुटर । आमा चालक र दुई छोरी यात्रु । बानेश्वर चोकको शंखमुलपट्टि ट्राफिकको अवरोध । ‘घर त्यहीं पारी हो संविधानसभा हलको अगाडिपट्टि, जान दिनु न’ झण्डैं १ घण्टा जाममा परेपछि आमा ट्राफिक युवतीसँग बिलौनागरिरहेकी थिइन् ।
दीपावलीको भोलिपल्ट काठमाडौं साँझैमा मस्त निदाएको थियो । अघिल्लो दिनसम्म रातभर जागेको काठमाडौंको मुख्य भाग बानेश्वर निस्पट अन्धकारमा ढाकिएको थियो । आक्कलझुक्कल जाममा फसेका गाडी र मोटरसाइकलको बत्ति बल्थ्यो । ‘को हो जान्ने भएको ? बत्ति निभाउनु ।’ ट्राफिकको आक्रोशसहितको आदेश आइहाल्थ्यो ।
‘कतिबेला हो खुल्ने ?’ जामको सबैभन्दा अघिल्लो पंक्तिमा रहेकी स्कुटरवाली आमा ट्राफिक युवतीसँग सोधिरहेकी थिइन् । ‘खै अझैं हिडेको छैन । कतिबेला हुने हो ?’ यात्रुलाई रोक्न पर्र्दा ट्राफिक युवती आफैं बेखुश सुनिइन् ।
त्यत्तिकैमा साइरन बज्यो । ‘ल, आएजस्तो छ ।’ कोही चिच्चायो, ‘होइन एम्बुलेन्स रहेछ’ अर्कोले जवाफ फर्कायो । जामको पछिल्लो पंक्तिमा एम्बुलेन्स अड्किएको थियो । एम्बुलेन्सलाई बाटो खुलाउन हम्मेहम्मे परिरहेको थियो । अधबैंशे ट्राफिक पछाडिबाट आत्तिदै अघिल्लो पंक्तिमा आइपुगे । ‘साला, पृथ्वीनारायणको जन्मदिनमा बिदा हुन्न, आज यस्तो छ ।’ उनी आफैंले रिस थाम्न सकेनन् ।
‘तपाईले छोडिदिनु हामी जान्छौँ । किन रोक्नु ?’ भीडबाट कसैले प्रस्ताव गर्यो । थकित मुद्राको ट्राफिक युवकको मुहारमा एकाएक चमक देखियो । मुस्कानसहित उनले जवाफ फर्काए, ‘तपाईलाई जान दिएर, घरको माड रोक्नु ?’
भारतीय राष्ट्रपति प्रणव मुखर्जी होटल ह्यातबाट सोल्टी होटलमा आयोजित रात्रिभोजका लागि प्रस्थान गर्ने कार्यक्रम थियो । उनी सवा ८ बजे सोल्टी होटले पुग्ने कार्यक्रम थियो । तर, ट्राफिकले सवा ६ बजेदेखि नै बाटो छेक्न शुरु गरिसकेको थियो । एक ठाऊँमा बाटो छेकिएपछि अर्को बिकल्प खोज्दै सवारी चालक अर्को दिशामा पुग्थे । बाटोको मुखैमा पुग्दा फरी झ्याप्प राकिन्थ्यो । लुकामारीजस्तै भइरहेको थियो ।
बाटोको पारीपट्टि घर भएकी अधवैंशे महिला वारीपट्टि रोकिएकी थिइन् । पछाडि बसेकी सानी छोरी भन्दै थिइन्, ‘मोदी आको मम्मी ?’ ‘मुखर्जी भन न’ छोरीलाई सच्याउँदै आमा थप व्याख्या गर्थिन । आमा छोरीको गफले धेरैलाई तानेको थियो । सायद संवाद मन परेरै होला ट्राफिक युवती छेवैमा उभिरहेकी थिइन् ।
मुखर्जी भ्रमणको क्रममा खटिने ट्राफिकलाई लुगा धोएर आइरन गरेर आउन भनिएको थियो । असइ युवतीले काट्ला झैं गरी पोशाकमा धार पारेकी थिइन् । यदाकदा प्रकाश पर्दा उनको क्रिज टलक्क टल्किन्थ्यो । ‘पारी घर हो, छोरी आत्तिइ, जान दिनु न ।’ उनले बिन्ति बिसाइन् ।
शुरुमा च्याठ्ठिएकी युवती यात्रुहरुसँग त्यतिन्जेल घुलमिलिइसकेकी थिइन् । उनले आफ्नो व्यथा भन्न थालिन् । ‘बिहान ६ बजेदेखि आको हो । यो खुलेपछि तपाईहरु जानुहुन्छ ।
हामी त सोल्टीबाट नर्फकन्जेल बस्नुपर्छ । एघार बज्छ होला ।’ ट्राफिक युवतीले विरह पोख्न थालेपछि सन्नाटा छायो । अलि परैसम्म उनको आवाज सुनिन थाल्यो । उनलाई हेर्नका लागि पछाडिबाट कसैले हेडलाइट बाल्यो । उनी मौन रहिन् । यात्रु आफैं कराए, ‘बत्ति नबाल भनेको होइन । किन बालेको ? एक छिन कुर्दा के जान्छ ? के को हतार ?’ ट्राफिक युवतीको बोली यात्रु आफैँले बोल्न थाले ।
युवती थप्दै गइन्, ‘२ घण्टा अघि रोकेको छ । तपाईहरुले धन्न बुझ्नुभयो । कतिले हामीलाई दोषी ठानेर गाली गर्छन । रिसै चढेर आउँछ ।’ ‘२ घण्टा रोक्न किन पर्छ त ?’ कसैले सोध्यो । ‘थाहा छैन । होटेलबाट निस्कने बेलामा यता रोक्दापनि भ्याइन्थ्यो । तर अति गरे ।’ उनी आफैँले यात्रुको पक्षमा लिइन् । ‘एघार यही बज्ला जस्तो छ । भोलि बिहानै ६ बजेको ड्युटी छ । कहिले बित्ला तीन दिन भन्ने भइसक्यो ।’ उनी भीडलाई माइती सम्झेझैँ प्रस्तुत भइन् । त्यत्तिकैमा उनी हुत्तिदै केही अघि बढिन् । सायद कानमा वाकीटकी लगाएकी थिइन् ।
एकपछि अर्को गाडी बिजुलीको गतिमा अघि बढे । तीस चालिसवटा गाडी र मोटरसाइकल निमेषभरमै बानेश्वर कटे । ‘खाली छ बाटो । आँखा चिम्लेर चलाएपनि भो नि ।’ स्कुटरवाली आमा च्याठ्इन् । ट्राफिक युवतीले सिठ्ठी फुकिन् । सिठ्ठीको आवाज नसकिदै प्याँप्याँ र पुँपुँ शुरु भयो । काठमाडौँ आफ्नै लयमा हतारियो ।
(भारतका राष्ट्रपति मुखर्जी भ्रमणमा यात्रुले पाएको अचाक्ली दुःखको अंश ट्राफिकको कथा मार्फत यहाँ व्यक्त गरिएको हो । ट्राफिक प्रहरीको जागिरको सवाल भएकाले नाम र वतन नखुलाइएको हो । सुरक्षा कारण देखाएर लाइट बाल्न नदिइएको अवस्थामा खिचिएको दृश्य प्रष्ट छैन, तर अन्धकार दृश्य आफैँमा अर्थपूर्ण हुने अपेक्षासहित समावेश गरिएको हो ।)
https://youtu.be/-o5WG3rh63M Mukharjee in Nepal Pranab Mukarjee