देश

सुनसरीका ५० भन्दा बढी विद्यालयका प्रअ अयाेग्य

सुनसरीका ५० भन्दा बढी विद्यालयका प्रअ अयाेग्य
कात्तिक - १९ । सुनसरीका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक कम योग्यताका रहेको स्थानीयवासीले गुनासो गरेका छन् । जिल्लाका ५० भन्दा बढी माध्यमिक विद्यालयमा प्रावि र निमावि तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेबारी निर्वाह गरिरहेका कारण सो विद्यालयका प्रअ अयोग्य रहेको स्थानीयवासीले गुनासो गरेका हुन् । शिक्षा क्षेत्रको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेलामा यहाँका अधिकांश प्रअ नै अयोग्य रहेकाले शैक्षिक गुणस्तर खस्केको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन् । शिक्षाजस्तो संवेदनशील र देश विकासको मेरुदण्ड मानिएको क्षेत्रमा काम गर्ने कर्मचारी नै अयोग्य भएपछि देशको अवस्था कस्तो हुन्छ होला भन्ने कुरा सहजै अनुमान गर्न सकिने स्थानीयवासीको गुनासो रहेको छ । शिक्षा मन्त्रालयले २०७० को साउनमा नै माध्यमिक तहको प्रअको योग्यता स्नातकोेत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने निर्देशन जारी गरेको भएपनि सुनसरीमा अधिकांश प्रअ कम योग्यता भएका पाइएको छ । क्षेत्रीय शिक्षा निर्देशानालय, धनकुटाले दुई वर्षअगाडि नै एक वर्षभित्र योग्यता पुगेका प्रअलाई जिम्मेवारी दिने र अयोग्यलाई व्यवस्थापन गर्ने भनिएपनि त्यसको कार्यान्वयन नभएको कारण अयोग्य प्रअको जमात बढ्दै गएको स्थानीयवासी बोधनारायण मेहताले गुनासो पोखेका छन् । सुनसरीको राष्ट्रिय मावि लौकहीका प्रअ धनिलाल यादव, राष्ट्रिय मावि सोभनपुरका देवनारायण साह लगायतका ५० भन्दा बढी विद्यालयका प्रअ कम योग्यताका रहेका छन् । कतिपय विद्यालयका प्रअ प्रावि र निमावि तहका छन् भने कति अस्थायी, राहत कोटामा कार्यरत र स्नातक तहसमेत उत्तीर्ण नगरेका रहेको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ । यस्तो अवस्था प्रायः निमाविबाट मावि भएका विद्यालयमा रहेको कार्यालयले जनाएको छ । शिक्षामा जति नै लगानी गरे पनि समस्या भने जस्ताको तस्तै रहेको छ ।

bidhyalaya School sunsari

विशेष