'वर्षकै साहसी व्यक्ति'मा नेपाली धाविका मीरा
कात्तिक–१९ । नेशनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चरर अफ द इयर) को मनोनयनमा विश्व अल्ट्रा म्याराथानमा स्थापित गरेकी नेपली धाविका मीरा राई पनि परेकी छिन् । उनी सहित दश जनाको नाम नेशनल ज्योग्राफिकले शुक्रबार सार्वजनिक गरेको हो ।
बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ । छनौटमा परेका व्यक्तिलाई नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत् भोट हाल्न सकिन्छ । सर्वाधिक भोट ल्याउनेलाई वर्षको साहसिक व्यक्ति घोषणा गरिनेछ ।
यसमा भोट हाल्ने म्याद डिसेम्बर १६ सम्म छ । विजयीको घोषणा सन् २०१७ जनवरीमा गरिनेछ ।
भोजपुरकी मीरा किशोरी अवस्थामा माओवादी लडाकु बनेकी थिइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजन क्रममा उनी अयोग्य ठहरिएकी थिइन् । यहाँ बाट उनको खेल जीवन सुरु भयो ।
मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन् । उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन् ।
विगत दुई वर्षमा सफलता हात पार्दै मीरा केही समयअघि मात्र विश्वको दोस्रो स्थानमा उक्लेकी थिइन् । उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहेकी छन् ।
त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन् । त्यही प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि नै उनको लोकप्रियता चुलिएको हो । राष्ट्रियस्तरमा पनि उनी खेल सुरु गरेको छ महिनामै राष्ट्रिय च्याम्पियन बनेकी थिइन् ।
–एजेन्सी
meera rai
ultra dhabika