सके स्याउ नै बेचौं नसके रक्सी जिन्दावाद !
कञ्चन न्यौपाने
केही अघि एउटा खबरले नेपालका मदिराप्रेमीहरुमा तरंग ल्याएको थियो । त्यो खबर थियो– लाख भन्दा बढी पर्ने रक्सी नेपालमा भित्रियो भन्ने । एक बोतल रक्सीकै एक लाख भन्दा बढी भनेपछि कति महंगो भनिरहनै परेन ।
नेपालजस्तो तन्नम देशका मानिस एक लाख बढी पर्ने रक्सी धोक्छन्, लाख पर्ने मोबाइल नै बोक्छन्, मोटरसाइकल, गाडी आदिको त के कुरा । नेपालमा यस्ता विलासी वस्तु बेच्न सकिन्छ भने धेरै कमाउने देशका जनताले त अझै विलास गर्न सक्छन् । तिनलाई विलासी वस्तु हामी नेपालीले बेच्न सकियला ? विलासी भन्न नसकिए पनि पैसा तिर्न सक्नेलाई मिठो नेपाली स्याउ, उच्चस्तरको चिया, कफी, जुनार त बेच्न किन नसक्नु सकिन्छ । क्रयशक्ति उच्च भएका देशका मानिसले किन्न सक्ने र हामीले बेच्न सक्ने धेरै वस्तुको सम्भावना छ नेपालमा ।
यसपटकको दसैं–तिहारको समयमा मुस्ताङ घुम्नजानेहरुको ओइरो लाग्यो । हिमालपारिको जिल्ला मनाङ र मुस्ताङ आफ्नै मुलुकभित्रको जिल्ला भए पनि धेरैका लागि विरानो जिल्ला नै हो । किनभने बाध्यतामा नपरी मान्छे मुस्ताङ पुग्दैन थिए । सडक राम्रो बन्दै गएपछि अचेल मानिसहरु घुम्न पनि मुस्ताङ जान्छन् । मुस्ताङ घुमफिरका लागि त एक अनुपम गन्तव्य हुँदै हो, त्यो भन्दा बढी सम्भावनाको दृष्टिले पनि महत्वपूर्ण जिल्ला हो ।
मुस्ताङमा पर्यटन, जलविद्युत, स्याउ, जडिबुटीलगायत के केको सम्भावना छ त्यो सबै दुई–चार दिन घुम्न जानेहरुलाई थाहा हुँदैन । ठाउँ ठाउँमा स्याउका लटरम्म बोट, बोटको फेदमा पाकेर झेरर कुहिएका स्याउ देख्दा यो जिल्लामा स्याउको सम्भावना अपार छ भन्ने लाग्यो ।
काठमाडौंमा पाइने स्याउ केही भारत, केही चीनबाट आयात गरिँदो रहेछ । यदि स्वादको तुलना गर्ने हो भने मुस्ताङको स्याउलाई काठमाडौंमा पाइने स्याउले जित्न सक्दैनन् । मुस्ताङ काठमाडौंभन्दा नौ गुणा ठूलो छ । जनसंख्याको हिसाबले झन्डै ३ सय गुणा सानो छ । यहाँ जम्मा ७ सय हेक्टर जमिनमा स्याउ खेति गरिन्छ । तर जिल्लाको क्षेत्रफल ३ हजार ५ सय ७३ बर्गकिलोमिटर छ । यसहिसाबले मुस्ताङमा स्याउ खेतिका लागि जमिन प्रशस्त निस्कन सक्ने अवस्था छ ।
१० हजार किलोमिटर परबाट पेट्रोलियम ल्याएर व्यपार व्यवसाय भइरहेको छ । ढुवानी महंगो भयो भनेर २–३ सय टाढाको मुस्ताङको स्याउ काठमाडौं हम्मेसी आउँदैन । व्यापारीहरुका अनुसार मुस्ताङको स्याउ ल्याउन ढुवानी भाडा महँगो पर्छ । चिनियाँ सस्ता स्याउका कारण नेपाली महँगा स्याउ बिक्दैनन् ।
विकासको पहिलो शर्त नै सडक हो भनिएको त्यसै होइन रहेछ । मुस्ताङसम्म यदि सिधा सडक हुने हो भने, त्यो ४–५ घण्टामा पुग्न सकिन्छ । अहिले २१ घण्टा लाग्छ । सबै सडक कालोपत्रे मात्रै हुने हो भने पनि यो समयमावधि घटेर १०–१२ घण्टा हुन सक्छ ।
नेपालमा जुम्ला, कालिकोट, मुगु, मुस्ताङ र सोलुखुम्बुमा बढी स्याउ फल्छ । यी जिल्लाका कति स्याउ त बजारसम्म पुर्याएर बेच्न पनि सकिँदैन । यहि भएर स्याउको रक्सी बनाएर बेच्ने विकल्प छ । यो विकल्प पनि राम्रो हो । तर समस्या यो हो कि नेपालमा स्याउबाट बनेका रक्सीको अन्तर्राष्ट्रिय ब्रान्ड कसरी स्थापित गराउने ? जोनी वाकरका रक्सी विभिन्न लेभलमा नेपालमा पनि बिक्री हुन्छन् । अन्य धेरै खाले रक्सी पिइन्छ । भने नेपालमा स्याउबाट बनेको रक्सीले विश्वभर व्यापार गर्न नसक्ने भन्ने के छ र ? यसका लागि पहिलो कुरा त स्याउ नै धेरै फल्नु पर्यो । दोस्रो नेपाली स्याउको रक्सीको गुणस्तर उच्चकोटीको हुनै पर्छ । रक्सी उच्चस्तरको हुनुपर्छ, मोल जति पनि तिर्न तयार हुनेहरुको कमी हुँदैन ।
मुस्ताङको मार्फा गाउँ स्याउ खेतीको लागि प्रख्यात छ । मार्फामा लटरम्म फलेका स्याउले ध्यान तान्छ । यहाँका किसानहरुले स्याउ बेचेर राम्रै आम्दानी गर्दै आएका छन् । मुटु काम्ने चिसोमा बस्ने यस क्षेत्रका बासिन्दाहरुका लागि सरकारले अलिकति भौतिक पूर्वाधारमा लगानी गरिदिने हो भने मुस्ताङको मुहार फेरिन कति समय पनि लाग्दैन ।
नेपालमा चाडपर्वमा स्याउको धेरै माग हुन्छ । अरु फलफूलको पनि हुन्छ । चिसो मौसममा सुन्तलाको व्यापार पनि राम्रो हुन्छ । तराईमा केरा खेती गर्ने किसानहरु पनि धेरै छन् । यस्ता वस्तुमा आत्मनिर्भर हुन धेरै गाह्रो छैन । सरकारले भौतिक पूर्वाधारको प्रबन्ध गरिदिनु पर्छ । किसानहरुलाई चाहिने बिउ, बिरुवा, मल, विषादी, कृषि औजारमा सरकारले एक स्थानका किसानलाई शुरुवाती केही वर्षसम्म भारी अनुदान दिनु पर्छ । उदाहरणका लागि मुस्ताङमै स्याउ नहुर्कुञ्जेल सरकारले किसानलाई सहयोग गर्ने हो भने त्यसपछि बीसौं वर्षसम्म उत्पादन भइ रहनेछ । सरकारले कुनै सहयोग गर्नै पर्दैन । यसो गर्दा मानौ सरकारले १ अर्ब खर्च गर्यो, त्यसपछि नेपालमा उत्पादन भएको स्याउले धेरै वटा अर्ब रुपैयाँ विदेशजानबाट आफै रोकिन्छ ।
मुस्ताङमा फलेको स्याउ हेलिकोप्टरमा चढाएर विदेश निर्यात गरिन्छ भन्ने सुन्दा खुसी पनि लाग्यो । हेलिकोप्टर चढेका स्याउ सस्ता हुने कुरै भएन । जब चीन वा भारतले मुस्ताङको जस्तै स्याउ फलाएर सस्तो दाममा अन्तर्राष्ट्रिय बजारमा बेच्न थाल्छन् तब नेपाली स्याउको बजार आफै गुम्छ । यसकारण स्याउलाई हेलिकोप्टर चढाएर महंगो बनाउने होइन, ट्रकै यात्रा गर्ने प्रबन्ध मिलाउनु पर्छ । सस्तो मिठो स्याउको बजार अहिलेको भन्दै १०० गुणा बढाउन आवश्यक छ ।
बजार बढाउन उत्पादन पनि बढ्नै पर्यो । उत्पादन बढ्न लागनी चाहिन्छ । लगानी भनेको पैसा त हो । पैसा, काम गर्ने जनशक्ति र योजना भए स्याउ त के हवाईजहाज उत्पादन गर्न पनि सकिन्छ । नेपालमा के छैन ? पैसा छैन भनौ भने वर्सेनि खरब भन्दा बढी बजेट त फ्रिज हुन्छ । मान्छे छैनन भनौ भने दैनिक २ हजार युवा विदेश जान्छन् । योजना बनाउने निकाय छैन भने –योजना आयोग भन्ने निकाय नै छ । कृषि मन्त्रालय, कृषि विभाग, जिल्ला कृषि विकास कार्यालय सबै छन् ।
अब उत्पादन गरेको वस्तु बेच्ने ठाउँ छैन भन्ने त प्रश्न उठ्दैन । स्याउ बिकेन भने पनि त्यही स्याउलाई रक्सी बनाउनु पर्छ जति पनि बिक्छ । किनभने हाम्रो देशमा दुध बिक्ने नबिक्ने ग्यारेन्टी हुँदैन । तर रक्सी, चुरोट, खैनी जहिले पनि जहाँ पनि बिक्री हुन्छ ।
मुस्ताङ घुमफिरका क्रममा हरेक बोटमा स्याउ कुहिएर झरेको देखेँ । त्यति मिठा स्याउ कुहिएको देख्दा छक्क नै परेँ । तर त्यति धेरै पनि छक्क परिनँ । किनभने केही समय अघि बाजुरामा स्याउ नबिकेर भैसीलाई खुवाएको समाचार पढेकी थिएँ । काठमाडौंमा कोसेली बन्ने कुरा कतै कतै भैंसीको आहारा बन्छ । नेपालको जंगल, भिरपाखामा अमला, रिठ्ठो त्यसै खेर जान्छन् । भारतबाट रिठ्ठो र अमला हालेको स्याम्पू यहाँ हामी महंगामो किनेर कपाल चम्काउँछौं । धन्य छ देश । धन्य छन यो देशका नीति निर्माता ।