मिथिलाञ्चलमा सामा–चकेवा पर्व सुरु, यस्तो छ धार्मिक महत्व
समाज । काठमाडौँ
कात्तिक – २० । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । ‘सामा–चकेवा’ पर्व मुख्यतया चेलीबेटी र माईती पक्षका बीच रहेको अटूट श्रद्धा एवं प्रेमको प्रतीक हो ।
सामा चकेवा पर्व आज पञ्चमीदेखि सुरु भई दश दिनसम्म चल्ने छ भने एघाराैँ दिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुनेछ । नेपालको खासगरी पूर्वी तराइको गाउँगाउँमा महिलाहरू यस लोकपर्वमा सहभागी हुने गदर्छन् ।
दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्नेछन् । आजको दिन बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याएका छन् भने सो माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाएका छन् ।
सामा चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्ग भरेर सामा चकेवा रङ्गीचङ्गी बनाउनेछन् । रङ्गिसकेको सामा चकेवा रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियोबाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर दश दिनसम्म गीत, नाच गर्दै चेलिबेटीले सामा चकेवा खेल्नेछन् ।
कलामर्मज्ञहरूद्वारा यसको कथासूत्रको रोचकता, आकर्षक दृश्यात्मकता, गीत–सङ्गीत–नृत्य र यसको पारम्परिक स्वरूपलाई अवलोकन गरी यसको अभिनय पक्षलाई पारम्परिक ‘लोकनृत्य’का रूपमा व्याख्या गरेको पाइन्छ । समूहगत रुपमा चेलिबेटी तथा छोरीबुहारी “गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइदिय” “सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो” लगायतका गीत गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबैले सबैको दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् ।
दश दिनसम्म सामा चकेवा खेलेर दिदीबहिनीले एघारांै दिनमा बिहानै सामा चकेवालाई पुनः बनाउने रङ्गरोगन गर्ने दिनभरी सुकाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाएर सोही सामा चकेवाबाट दाजुभाइको फार भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाएर सामा चकेवालाई बाजागाजा, गीतनाचका साथ दिदीबहिनीले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् ।
मिथिलाञ्चलका हरेक दिदीबहिनीले सामा चकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सामा चकेवा पर्वको बेला सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोही अनुरुप यस पर्वमा टाढा टाढाबाट दिदीबहिनी सामा चकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् । मिथिलाञ्चलका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामा चकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निक्कै महत्वपूर्ण मानिन्छ ।
यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यस पर्वलाई मनाउने गर्दछन् । सामा चकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास अनुरुप तराईको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लामा यो पर्व लोकप्रिय रहेको छ भने हर्ष उल्लासका साथ यी ठाउँमा यो पर्व मनाउने गर्दछन् ।
मिथिलाञ्चलमा छठ पर्वको एकदिन पहिलेदेखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् ।
samachakhewa parba
tharu