समाज

भारतीय राष्ट्रपति मुखर्जीले गरे गाेर्खा सैनिककाे प्रशंसा

भारतीय राष्ट्रपति मुखर्जीले गरे गाेर्खा सैनिककाे प्रशंसा
कात्तिक - २० । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार पोखरास्थित भारतीय पेन्सन क्याम्पमा नेपाली पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गरिरहँदा खचाखच भरिएका हजारौ नेपाली पूर्व गोर्खा सैनिक खुसी देखिन्थे। लगभग ११ मिनेटको सम्बोधनको अधिकांश समय भारतीय सेनाका सुप्रिम कमान्डरसमेत रहेका राष्ट्रपति मुखर्जीले भारतीय पूर्व सैनिकको प्रशंसा गरिरहँदा उपस्थित पूर्व सैनिकको मुहारमा चम्किलोपन त थियो नै समय समयमा तालिको गड्गडाहट गुञ्जिएको थियो। आफ्नो सम्बोधनको अधिकांश समय गोरखा सैनिकका लागि भारतको कल्याणकारी योजना, गोर्खा सैनिकले देखाएको कर्तव्यनिष्ठता र बहादुरीका साथै नेपाल भारतबीचको अतुलनीय सम्बन्धको चर्चामा राष्ट्रपति मुखर्जीले बिताएका थिए। नेपालका कूल एक लाख २६ हजार भारतीय पेन्सरमध्ये पोखरा र यस आसपासका क्षेत्रमा मात्र ६३ हजारको सङ्ख्यामा पेन्सन लिइरहेका छन् । भारतीय सेनाका सुप्रिम कमान्डर स्वयम् उपस्थित भएर भूतपूर्व गोर्खा सैनिकको कर्तव्य निष्ठता, बहादुरी तथा योगदानको खुलेर प्रशंसा गर्नुले सम्पूर्ण पूर्व गोर्खा सैनिकलाई खुसी तुल्याएको एक्स सर्भिसमेन सेल पोखराका संयोजक कर्नेल कमानसिंह गुरुङले बताए। “पूर्व गोर्खा सैनिकलाई भारतीय सेनाका सुप्रिम कमान्डर आफैं उपस्थित भएर सम्बोधन गर्नु हाम्रा लागि निकै ठूलो कुरा हो,” उनले भने, “राष्ट्रपतिज्यूले पूर्व गोर्खा सैनिकको योगदान, बहादुरी र कर्तव्यनिष्ठताको प्रशंसा गर्नुभयो ।” पूर्व गोर्खा सैनिक र उनका आश्रितजनले विभिन्न किसिमका समस्या समेत भोगिरहेको बताउँदै उनले समस्याबारे राष्ट्रपतिलाई जानकारी गराउने योजना भए पनि समय अभावलगायतका कारणबाट सम्भव नभएको बताए। सम्बोधनका क्रममा राष्ट्रपति मुखर्जीले पछिल्लो २०० वर्षदेखि गोर्खा वीर भारतमा सेवा गरिरहेको बताउँदै गोर्खा सैनिकले भारतीय सेनामा असाधारण वीरता तथा कर्तव्य निष्ठाका साथ सेवा गरेको स्मरण गरिरहँदा उपस्थित भूतपूर्व गोर्खा सैनिकका मुहारमा हर्ष त छाएको थियो नै त्यसमा गम्भीरता पनि झल्किएको थियो। भारतमा हाल ३२ हजार गोर्खा सैनिक सेवारत रहेका छन् भने लगभग एक लाख २६ हजार पूर्व सैनिक र तिनका आश्रित नेपालमा पेन्सनको सुविधा लिएका छन्। राष्ट्रपति मुखर्जीले पूर्व गोर्खा सैनिकले भारतको सीमा रक्षाका लागि दृढता र साहसका बाबजुद काम गरेको र भूतपूर्व गोर्खा सैनिक नेपाल र भारतको मित्रताको आधारस्तम्भ भएकोमा जोड दिएका थिए। भारत सरकार र भारतीय सेना वीर गोर्खा सैनिक र पूर्व सैनिकप्रति गौरव गर्दै राष्ट्रपति मुखर्जीले भारत सरकार पूर्व सैनिकको कल्याणका लागि हरसम्भव प्रयत्न गर्न कहिलेपछि नहट्ने विश्वास व्यक्त गरिनुले सम्पूर्ण भारतीय गोर्खा सैनिकलाई आशा एवम् भरोसा जगाएको भारतीय पूर्व गोर्खा सैनिक लोकबहादुर गुरुङ बताउँछन्। “नेपाली पूर्व भारतीय गोर्खा सैनिकको योगदानलाई आफ्नै घरआँगनमा आएर सुप्रिम कमान्डरबाट चर्चा गरिनु सम्पूर्ण पूर्व गोर्खा सैनिकका लागि निकै खुसीको विषय हो,” – उनले भने। भारत सरकारबाट प्रतिवर्ष लगभग तीन हजार एकसय करोड रुपैयाँ नेपालमा पेन्सन वितरण भइरहेको छ भने चालु आर्थिक वर्षमा लगभग चार हजार करोड नेपाली रुपैयाँ वितरण गर्ने योजना राखिएको छ। गतवर्ष लगभग साढे ६ करोड रुपैयाँ विभिन्न कल्याण योजनामा वितरण गरिएको राष्ट्रपति मुखर्जीले बताएका थिए। वृद्ध अवस्थामा भूतपूर्व गोर्खा सैनिकको स्वास्थ्यको ख्याल राख्नका लागि नेपालमा पूर्व सेवारत योगदान स्वास्थ्य योजना लागू गर्नका लागि लगभग एक करोड रुपैयाँ गतवर्ष उपचार सहायताको रुपमा वितरण गरिएको राष्ट्रपतिको सम्बोधनमा उल्लेख छ । भारतीय सेनाको दश मेडिकल टिमले प्रत्येक वर्ष नेपालमा सेवा दिइरहेको र अहिलेसम्म ६४ वटा एम्बुलेन्स विभिन्न भूतपूर्व सैनिक संस्थालाई उपहारस्वरुप प्रदान गरिसकेको छ । भारतीय सैनिकले भूतपूर्व सैनिकको आश्रित बालबालिकाका लागि छात्रवृत्ति पनि प्रदान गरेको छ भने हालसम्म एक हजार ४९ पूर्व सैनिकको गाउँसम्म पानीको योजना पुर्याएको छ । त्यस्तै १७ वटा दुर्गम इलाकामा सौर्य बिजुली योजना अन्तर्गत उज्यालो बनाइएको राष्ट्रपतिको सम्बोधनमा उल्लेख छ । पूर्व सैनिकका लागि कल्याणकारी योजना नेपालमा पनि लागू भइरहेको बताउँदै राष्ट्रपति मुखर्जीले वन रेन्क वन पेन्सनअनुसार ३१ डिसेम्बर २०१५ मा पाउने बेसिक पेन्सनको २।५७ गुनाले एक जनवरी २०१६ बाट भारतीय सेनाले पनि पाउने जानकारी दिएका थिए। भूतपूर्व सैनिकको योगदानलाई प्रशंसा गर्दै कर्तव्य निष्ठता तथा बहादुरी विर्सन नसक्ने भारतीय राष्ट्रपतिको सम्बोधनले आगामी दिनमा पनि आफूहरूको योगदान बाँचिरहने र त्यसको उचित कदर हुने विश्वास भूतपूर्व गोर्खा सैनिकले लिएका छन् ।

Gorkha Sainik pranab mukharji

विशेष