समाज

तामाका भाँडा बनाउने पेशा विस्थापित

तामाका भाँडा बनाउने पेशा विस्थापित
कात्तिक - २० । जिल्लामा विभिन्न आधुनिक प्रविधि भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका छन् । गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका छन् । यी सामानको सट्टामा अहिले बजारमा मेसिनबाट उत्पादित सामान भित्रन थालेका छन् । तामाको भाँडाको सट्टामा स्टिल, प्लास्टिकका भाँडाको प्रयोग बढ्दो छ । झडेवाका वीरबहादुर नेपालीको घरमा कुनै समय नयाँ भाँडा बनाउने, पुरानो तामाका भाँडालाई नयाँ स्वरुप र शैलीमा फरक किसिमको भाँडा बनाउन आउनेको निकै भीड लाग्ने गरेकोमा आजभोलि सुनसान बनेको छ । यस क्षेत्रमा धेरैले तामाका भाँडा बनाएर जीविकोपार्जन गर्ने गर्दथे, यतिखेर स्टिल र प्लास्टिकका भाँडाको प्रयोगले व्यवसाय नै लोप भएको नेपालीले बताए । मेसिनद्वारा निर्मित सामग्री बजारमा आउन थालेपछि प्रतिस्पर्धा गर्न नसक्नु, तामाका सामाग्रीको उपयोग कम हुँदै जानु जस्ता कारणले गर्दा विस्थापित हुन पुगेको हो । स्थानीय प्रविधिको उपयोग गरी निर्मित अमखोरा, तमौरा, गाग्री, मानापाथीलगायतका बस्तु अहिले लोप हँुदै गएको पुराना उद्यमी तेजबहादुर विश्वकर्मा बताउँछन् । झडेवाकोबगाले, हुमिन, रुप्से, बन्दीपोखरा, बौघापोखराथोक, अर्गली, ख्याहा, ताहुँ जस्ता २० भन्दा बढी गाविसमा सञ्चालित उद्योगमा झन्डै एक हजार व्यक्तिलाई रोजगारी मिलेको स्थानीयवासी बताउँछन् । अहिले व्यवसाय नै हराउँदै गएपछि गाउँमा विदेश जाने युवाको सङ्ख्या बढ्दो छ । घरेलु उद्योगभित्रपर्ने भए पनि यस्ता उद्योगलाई निरन्तरता दिन कही कतैबाट पहल भएन् । पाल्पा जिल्लालाई तामाका भाँडाका लागि प्रख्यात बनाउन सकिने अवसर पनि थियो त्यो अवसरलाई कुनै निकायले जगाउन नसक्दा यतिखेर हराउन पुगेको पुराना उद्यमीको भनाइ छ । उद्योग वाणिज्य सङघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ यस्ता उद्योग संरक्षण र विकास आफ्नो प्राथमिकतामा परेको बताउँछन् ।

tamaka vada

विशेष