बिपीदेखि सुजातासम्म क्यान्सर ! क्यान्सर कतै वंशाणुगत त होइन ?
कात्तिक – २० । कोइराला परिवारमा क्यान्सर बंशाणुगत रोग जस्तै भएको छ । कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाका सन्तान सबैको क्यान्सरकै कारण निधन भयो । कोइराला परिवारका अन्य सदस्यहरुलाई झै कृष्णप्रसादकी नातिनी, गिरिजाप्रसादकी छोरी सुजातामा पनि हालै क्यान्सर देखा परेको छ । परिवारिक स्रोतका अनुसार उनलाई बे्रस्ट (स्तन) क्यान्सर भएको हो ।
छाति दुख्न थालेपछि उनले स्वास्थ्य जाँच गराएकी थिइन् । नेपालमा प्रारम्भिक जाँच गराएर थप परीक्षणका लागि मलेसिया पुगेकी थिइन् । मलेसियामा गरिएको परीक्षणमा क्यान्सर निश्चित भएको थियो ।
गिरिजाप्रसाद कोइरालामा पनि क्यान्सरको शंका गरिएको थियो । उनको फोक्सोको टुक्रा झिकेर परीक्षण गर्ने तयारी गरिएको थियो । जीवनको उत्तरार्धमा रहेका कोइरालाले क्यान्सर परीक्षण गर्न इन्कार गरे ।
सिंगापुरको ग्लीन इगल्स अस्पतालमा परिक्षणकै क्रममा चिकित्सकले गिरिजाप्रसादमा क्यान्सरको आशंका गरेका थिए । चिकित्सकले क्यान्सरकै आशंका गरे फोक्सोको तल्लो भाग काट्न खोज्दा कोइरालाले मानेनन् । किनकि आफ्ना दाई पूर्वप्रधानमन्त्री विपी कोइराला क्यान्सरको शल्यक्रियालगत्तै निधन भएको थियो । उनलाई घाँटीको क्यान्सर थियो ।
गिरिजाका सानीमाका छोरा पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई पनि जिब्रोको क्यान्सर थियो । सुशील जिब्रोको क्यान्सरको उपचार गर्न हरेक वर्ष न्यूयोर्कस्थित स्लोन केटरिङ क्यान्सर सेन्टरमा पुग्ने गर्दथे । पछि उनलाई फोक्सोमा पनि क्यान्सर भएको पुष्टी भयो । सुशीलले क्यान्सर जिते तर फोक्सोको क्रोनिक ब्रोंकाइटिसका अगाडि घुँडा टेके ।
दिव्या कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी हुन् । दिव्याको कोखबाट जन्मिएका बिपी कोइराला, केशव कोइराला र तारीणी कोइरालाको मुत्यु क्यान्सरकै कारण भएको थियो । तारीणीकी कान्छी छोरी कल्पनाको पनि क्यान्सरबाटै निधन भएको हो ।
विपीकी नातिनी मनीषालाई पनि क्यान्सर भयो । पाठेघरको क्यान्सरको उपचारपछि पूर्णरुपमा निको भएकी मनीषा अचेल मुम्बईमा छिन् । उनको न्यूयोर्कस्थित स्लोन केटरिङ क्यान्सर सेन्टरका चिकित्सकबाट क्यान्सरको उपचार भएको हो । त्यहाँको ग्ल्यामरस र भिडभाडयुक्त संसारबाट अलग एउटा शान्त र सात्विक जीवन बिताइरहेकी छिन् । कोइराला परिवारका चर्चित हस्तीहरुको निधन क्यान्सरबाट भए पनि मनिषा कोइरालाले भने क्यान्सरलाई जितिसेकेकी छन् ।
हालै सुजातालाई क्यान्सर भएको समाचार बाहिर आएको छ । सुजाताले उपचारका लागि सिंगापुर जाने तयारी गरेकी छन् । उनलाई उपचार खर्च दिनेबारेको प्रस्ताव पनि मन्त्रिपरिषदमा गइसकेको बताइन्छ ।
आफ्ना छोरी ज्वाईसँग मलेसिया भ्रमणमै सुजातालाई रिंगटा लागेको थियो । स्वास्थ्यजाँच गर्दा क्यान्सरको कोष भेटिएको थियो । क्यान्सर कुन चरणमा छ त्यो थप परीक्षणपछि थाहा हुने बुझिएको छ ।