स्वास्थ्य

‘कतै मलाई त छैन स्तन क्यान्सर ?’ स्तन फाल्न विवश चर्चित अभिनेतृको तपाईलाई सुझाब

‘कतै मलाई त छैन स्तन क्यान्सर ?’  स्तन फाल्न विवश चर्चित अभिनेतृको तपाईलाई सुझाब

हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीको बक्षस्थलमा जोकोहीको आँखा ठोकिन्थ्यो । उनले लगाउने लुगाले उनको सुन्दर बक्षस्थल अझ कामुक देखिन्थ्यो । क्यान्सरले पनि उनको उनको स्तनमा आँखा लगायो । जोली आफ्ना दुबै स्तन फाल्न विवश भइन् ।

जोलीका सामान्य गतिविधिपनि समाचार बन्थे, र बन्छन् । तर, जोली असामान्य नियतिको सिकार भएकी थिइन् । उनले स्तन फालेको सन्दर्भ गोप्य राखिन् । प्राकृतिक स्तनको ठाऊमा उनका लागि कृत्रिम स्तन तयार भइसकेको थियो ।

जोलीले जीबनमा र स्तनमा आएको परिवर्तनका बारेमा दुनियाँ बेखर थियो । गोप्यताको जादुबाट जोलीले सन्तोषको सास फेरिन् । उनी स्तन क्यान्सरबाट मुक्त भइन् । सामान्यप्राय भइसकेको थियो अवस्था । तर, उनले दर्शकलाई सत्यबाट टाढा राख्न चाहिनन् । आफ्नो स्तन नक्कली रहेको सनसनीपूर्ण खुलाशा आफैँले गरिदिइन् ।

‘जीबनभन्दा ठूलो स्तन होइन, स्तन क्यान्सर लाग्दैमा हरेश खानुपर्दैन ।’ यही सन्देश प्रवाह गर्न उनले वास्तविकता सार्वजनिक गरेकी थिइन् । नभन्दै उनका कारण स्तन क्यान्सरका बारेमा विश्वभर समाचार बन्यो । स्तन क्यान्सरका बारेमा अद्धितिय बहश भयो ।

स्तन क्यान्सर महिला पुरुष दुबैलाई हुनसक्छ । तर महिलाको तुलनामा पुरुषलाई नगन्य मात्रामा स्तन क्यान्सर लाग्दछ । तसर्थ स्तन क्यान्सर भन्ने बित्तिकै महिलालाई लाग्ने क्यान्सरका रुपमा बुझिन्छ । नेपालमा पनि स्तन क्यान्सरबाट पीडित थुप्रै महिला छन् । पछिल्लो समय एमाले नेत्री शान्ता चौधरीले स्तन क्यान्सरलाई जितेकी छन् । ‘स्तनमा क्यान्सरको कोशिकाहरु देखिनासाथ उपचार गरेको कारण उपाचार जटिल भएन । म क्यान्सरमुक्त छु ।’ शान्ताले भन्छिन् ।

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर देखिएको खबरसँगै यसका बारेमा नेपाली समाजमा बहश चुलिएको छ । ‘कतै मलाई त छैन ?’ धेरैको मनमा चिसो पसेको हुनसक्छ । किनकी क्यान्सर जसलाई जुनसुकै बेलापनि लाग्न सक्छ । बैलैमा ध्यान नपुर्याएर स्तन क्यान्सरका कारण ज्यानपनि जान्छ । अभिनेत्री जोलीका अनुसार स्तन क्यान्सर कतै आफुलाई लागेको त छैन भनि प्रश्न गर्नु र जाँच गर्नु नै स्तन क्यान्सर फैलिनबाट जोगिने महत्वपूर्ण उपाय हो ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ सुदिप श्रेष्ठ भन्छन ‘क्यान्सर जीवनको अन्त्य होईन । तेस्रो स्टेजसम्म पहिचान गरेर उपचार गर्न सक्यो भने बाच्न सकिन्छ । यसको उपचार नेपालमै सम्भव छ ।’

के हो स्तन क्यान्सर ?

महिलालाई सबैभन्दा बढी पाठेघरको क्यान्सर लाग्छ । पाठेघरको क्यान्सरजस्तै स्तन क्यान्सरपनि धेरैमा देखिन्छ । डाक्टर श्रेष्ठका अनुसार स्तनमा दूध बनाउने ग्रन्थी, दूध ग्रन्थीबाट मुन्टासम्म दूध ओसार्ने नलीहरू, मुन्टा वरिपरिका भाग, रेसीय तन्तु एवं बोसो हुन्छ । स्तनका कोषहरूमा असामान्य, अनियन्त्रित र अनावश्यक वृद्धि हुन गई गिर्खा, गाँठागुठी तथा निको नहुने घाउ बन्ने अवस्थालाई स्तन क्यान्सर भनिन्छ ।

श्रेष्ठका अनुसार नेपालमा वर्षेनी एक लाखमा झण्डै २२ जनामा स्तन क्यान्सर हुन्छ । तीमध्ये १० जनाको मृत्यु हुन्छ । महिलामा हुने क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत मृत्यु स्तन क्यान्सरका कारणले हुने गर्दछ ।

यसकारण हुन्छ क्यान्सर

‘हलीउड अभीनेत्री एन्जेलिना जोलीको आमालाई स्तन क्यान्सर भएको थियो । त्यसको असर एन्जेलिनालाई पनि देखियो । बशांनुगत गुणको कारणले पनि क्यान्सर हुन्छ ।’ डाक्टर श्रेष्ठले बताए ।

श्रेष्ठको अनुसार ५० वर्षभन्दा माथिका, आनुवंशिक खराबी भएका, ३५ वर्षपछि विवाह गरेर आमा बनेका, १२ वर्ष अगाडि नै महीनावारी शुरू भएकाहरुलाई क्यान्सरको उच्च जाखिम हुन्छ ।

मोटोपना भएका, अधिक वा लामो समयदेखि इस्ट्रोजेन (तान्ने औषधी) सेवन गरेका, अधिक धूम्रपान तथा मद्यपान गर्ने, बढी चिल्लो तथा बोसोयुक्त खाना खाने महिलामाहरुमा स्तन क्यान्सरको जोखिम बढी हुने डाक्टर श्रेष्ठ बताउछन् ।

श्रेष्ठको अनुसार विहाहित महिलालाई मात्रै स्तन क्यान्सर हुने होईन । विवाह नगरेका, बच्चा नजन्माएका, बच्चा पाएर स्तनपान नगराएहरुलाई पनि स्तन क्यान्सर हुने श्रेष्ठ बताउँछन् ।

स्तन क्यान्सरका लक्षण

डाक्टर श्रेष्ठको अनुसार स्तनमा गिर्खा आउनु, स्तनको आकारमा परिवर्तन हुनु स्तन क्यान्सरको लक्षण हो । यस्तो देखिएमा तुरुन्त उपचार गरे क्यान्सरबाट बच्न सकिन्छ ।

डाक्टर श्रेष्ठ भन्छन ‘मुन्टाबाट रगत वा पीप बग्छ, स्तनको छालामा सुन्तलाको बोक्रामा जस्तो स–साना प्वाल देखिन्छ, स्तनको मुन्टा भित्र धसिन्छ भने त्यो निश्चित रुपमा स्तन क्यान्सर हो ।’

स्तन क्यान्सर निश्चित भएपछि क्यान्सरको चरण, बिरामीको अवस्था तथा अन्यत्र फैलिए नफैलिएको आधारमा शल्यक्रिया गर्नुपर्छ । उनी भन्छन‘ बिरामीलाइ रेडियोथेरापी, केमोथेरापी, हर्मोनथेरापी गर्नुपर्छ । बेलैमा उपचार पाए क्यान्सरको तेस्रा स्टेजसम्मको बिरामी बाच्न सक्छ । त्यसको उपचार नेपालमै सम्भव छ ।’

डाक्टर श्रेष्ठका अनुसार क्यान्सर पीडित बिरामीले धूम्रपान नगर्ने, चिल्लो तथा बोसोयुक्त खाना कम खाने गर्नुपर्छ , तौल नियन्त्रण गर्नुपर्छ । प्रांगारिक फलफूल सागसब्जी र रेसादार खानाले क्यान्सरले दिने पीडा कम हुन्छ ।

प्रस्तुतिः सागर बुढाथोकी

Anjilina Joly Breast Cancer

विशेष