समाज

कैदीलाई परिवार पाल्न मुस्किल

कैदीलाई परिवार पाल्न मुस्किल
कात्तिक २३ । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका रोल्पा कारागारका कैदी स्वरोजगारमूलक कार्य गर्दै आयआर्जनसँगै कैद भुक्तान गरिरहेका छन् । आयआर्जनका लागि कारागारभित्रै मुडा, टोपी तथा बरियो बुन्ने गरेको कैदीले बताएका छन् । समय पनि पास हुने, आयआर्जन पनि हुने भएका कारण यस्तो गरेका छौँ, कैदी खिमबहादुर थापाले बताए । मासिक प्रतिव्यक्ति रु ५-६ हजार आम्दानी गर्ने गरेको कैदीले बताएका छन् । घरको कमाइ गर्ने मूलमान्छे नै कारागार बस्नु पर्दा जीविकोपार्जनमा समस्या भोगिरहेका कैदीका परिवारलाई सो आम्दानीले दैनिक कामकाजमा निकै सहयोग गरेको अर्का कैदी मेखबहादुर रोकाले बताए । महिला कैदीले भने साधनको अभावमा चाहेर पनि स्वरोजगारमूलक काम गर्न नपाएको गुनासो गरेका छन् । 'स्वरोजगारका लागि सिलाइकटाइ गर्ने चाहनाअनुसार जिल्लाका राजनीतिक दल र प्रमुख जिल्ला अधिकारीलाई समेत पटकपटक व्यवस्था गरिदिन अनुरोध गर्यौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन', नाइके मनिसरा विकले दुखेसो पोखे । जेलभित्र उत्पादित सामान गुणस्तरीय हुने भएका कारण ग्राहक सामान खरिदका लागि कारागारमै आउने गरेको तथा बढी भएका सामान घर्तीगाउँ, सुलिचौर, लिवाङलगायतका स्थानीय बजारमा पठाउने गरेको कैदीले बताएका छन् । जिल्लाको उत्पादनलाई प्रवद्र्धन गर्ने भन्दै उपहार दिँदा वा सम्मान गर्दा कारागारभित्र उत्पादित ढाकाटोपी, सल आदि प्रयोग गर्ने प्रचलन समेत रोल्पामा बढ्दै गएको छ । रोल्पा कारागारमा हाल ६७ पुरुष, १० महिला कैदीसहित तीन जना नाबालक रहेको चौकीदार हुकुम बुढामगरले जानकारी दिएका छन् ।

Jail Kaidi

विशेष