देश

चितावनमा अर्ना र बाह्रसिङ्गेका लागि खुला खोर निर्माण गरिदै

चितावनमा अर्ना र बाह्रसिङ्गेका लागि खुला खोर निर्माण गरिदै
कात्तिक - २४ । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा अर्ना र बाह्रसिङ्गे राख्नका लागि खुला खोर निर्माण कार्य बुधबारबाट सुरु गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार सालको वन, घासे मैदान र पानी पोखरी भएको ३० हेक्टर जमिनमा खुला खोर निर्माण गरिँदै छ । सुरुमा बाघको आक्रमण र हराउने डरका कारण दुवै जनावरलाई दुई वर्षसम्म खुला खोरमा राख्न लागिएको हो । दुई फिट अग्लो सिमेन्टको जगमा सात फिट अग्लो जालीले बेरेर खुला खोर निर्माण गरिँदैछ । जसका लागि दुई हजार दुई मिटर जाली प्रयोग हुने अधिकृत कँडेलले जानकारी दिए । हरियो वन कार्यक्रमको सहयोगमा मङ्सिर १५ गतेभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले काम थालेको हो । काम सम्पन्न भएलगत्तै सुरुमा सदर चिडियाखानाबाट एउटा भाले र एउटा पोथी अर्ना ल्याइँदैछ । त्यसको केही दिनमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट १८ वटा अर्ना ल्याइँदैछ । जसमध्ये पाँच भाले र १५ पोथी ल्याइने पनि उहाँले बताए । अधिकृत कँडेलले शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट पाँच भाले र २० पोथी बाह्रसिङ्गे ल्याइने जानकारी दिए। गत आर्थिक वर्षमै चितवन राष्ट्रिय निकुञ्जमा अर्ना र बाह्रसिङ्गे ल्याइने भनिएको भए पनि काम ढिलो गरी सुरु भएको हो । कोसी टप्पु वन्यजन्तु आरक्षमा ३४८ अर्ना छन् भने शुक्लाफाँट वन्यजन्तु आरक्षमा दुई हजार दुई सय बाह्रसिङ्गे रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा यी दुवै वन्यजन्तु ल्याएलगत्तै पर्यटकीय दृष्टिले चितवन राष्ट्रिय निकुञ्जको महत्व अझ बढ्ने पर्यटन व्यवसायीले अपेक्षा गरेका छन् ।

Arna Bahar sing

विशेष