१० गाविस खाद्य सुरक्षाको दृष्टिकोणले जोखिममा
कात्तिक २५ । काभ्रेपलाञ्चोकको महाभारत डाँडापारिका १० गाविस खाद्य सुरक्षाको दृष्टिकोणले जोखिमयुक्त देखिएको छ ।
जिल्ला खाद्य सुरक्षा सञ्जालले बालीको अवस्था, घरधुरी सङ्ख्यालगायत विभिन्न सूचकका आधारमा बुढाखानी, बनखुचौर, फोक्सिङ्टार, गोकुले, डाँडागाउँ, फलामेटार, साल्मेचाकल, सालधारा, घर्तीछाप र मिल्चेमा त्यस्तो समस्या देखिएको हो ।
'मकै र धान बाली भित्रिकाले समस्या छैन, तर वर्षभरिमा खाद्य सुरक्षाको जोखिम देखिन्छ,' जिल्ला कृषि विकास कार्यालयका सहायक सूचना अधिकारी विष्णु अधिकारीले बताए ।
नेपाल खाद्य सुरक्षा अनुगमन प्रणालीका जिल्ला संयोजक भरत थापा विगत वर्षमा जिल्लाको कोसीपारि गाविसमा देखिएको खाद्य सुरक्षाको जोखिम हटेको र १० गाविसमा ४० प्रतिशत खाद्यान्न अपुग भएको जनाएका छन् ।
मकै बाली भित्र्याएको र धान बाली भित्र्याउन लागेकाले खाद्य सञ्चित रहेको आैँल्याउँदै उनले भौगोलिक विकटता र सडक सञ्चालन नभएका कारण ढुवानीमा समस्या रहेको बताए । ती गाविसका बासिन्दाले चामल, दाल, आलु, मकैको उपभोग गरिरहेका छन् ।
करिब तीन महिनाका लागि खाद्यान्न सञ्चित रहेको तथा जोखिमयुक्त गाविसमा खानाको परिमाण घटाएर खाने र कम रुचिकर खाना खाने समेत पाइएको सञ्जालले जनाएको छ ।
kavrepalanchowk
khadya sankat