समाज

रोल्पाका करिब १६ हजार घरधुरीमा सुधारिएको चुलो

रोल्पाका करिब १६ हजार घरधुरीमा सुधारिएको चुलो

कात्तिक २६ । सन् २०१७ भित्र जिल्लालाई घरभित्रको धुवाँमुक्त घोषणा गर्ने जिल्ला परिषद्ले निर्णय गरेको भएपनि जिल्लामा सुधारिएको चुलो जडान कार्यले तीव्रता पाउन सकेको छैन ।  जम्मा ४२ हजार घरधुरी रहेको रोल्पामा हालसम्म १५ हजार आठ सय ७५ घरधुरीमा मात्र सुधारिएको चुलो जडान गरिएको सुधारिएको चुलो प्राविधिक दलबहादुर पुनमगरले जानकारी दिए ।

धुवाँका कारण लाग्ने रोगमा कमी, वन फँडानी नियन्त्रणजस्ता प्रत्यक्ष फाइदाका अलावा पर्यावरणमा समेत सहयोग गरिरहेको भएपनि सुधारिएको चुलो स्थानीय सरकार र सरोकारवालाको प्राथमिकतामा नपरेका कारण तोकिएको समयमा जिल्लालाई धुवाँमुक्त गर्नेमा आफूलाई शङ्का लागेको गैरसरकारी संस्था महासङ्घ रोल्पाका अध्यक्ष कर्ण वाँठामगरले बताए ।

जिल्लामा सुधारिएको चुलो निर्माण गर्नसक्ने करिब तीनसय तालिम प्राप्त प्राविधिक जनशक्तिसमेत रहेका कारण उनीहरुको परिचालन गर्ने हो भने एक वर्षमै जिल्लालाई धुवाँमुक्त बनाउन सकिने सुधारिएको चुलो अभियन्ता खुसीराम केसीले बताए ।

जिल्लामा हाल पाङ, ह्वामा, नुवागाउँ, गैरीगाउँ र झेनाम गाविस धुवाँमुक्त गाविस घोषित भइसकेका छन् भने आधा दर्जन गाविस घोषणाको अन्तिम तयारीमा रहेको बताइएको छ ।

rolpa

विशेष