ताजा खबर स्वास्थ्य

तन्नेरी सिध्याउने रोग

तन्नेरी सिध्याउने रोग

कात्तिक २६ । धेरै पढ्थ्यो, फलानो त खुस्केछ ! गाँजा खान्थ्यो, साथी त खुस्केछ ! कसैले असामान्य व्यवहार देखायो भने ऊप्रति हुने केही टिप्पणी हुन् यी । तर, मानसिक रोगको परिधि विशाल छ । नेपाली समाजमा यस रोगबाट ग्रस्त व्यक्तिहरू डरलाग्दो ढंगले बढिरहेका छन् ।

सिजोफ्रेनिया कडा खालको मानसिक रोग हो । खासगरी तन्नेरी यसबाट पीडित हुन्छन् । १५ देखि २५ वर्षका ऊर्जाशील युवायुवतीमा बढी देखिने यस रोगका कारण देशलाई नै अन्ततः ठूलो घाटा हुनेछ । राज्य नै मानसिक रोगीलाई सहयोग गर्न अग्रसर नहुने हो भने स्थिति झन् भयावह हुन सक्छ ।

पाटन अस्पताल मानसिक रोग विभाग प्रमुख डा. रवि शाक्यका अनुसार ओपीडीमा प्रत्येक दिन आउने ५० भन्दा बढी मानसिक रोगीमा आधा जति यस्तै लक्षण भएका बिरामी आउने गरेको डा. शाक्यले बताए ।

‘सिजोफ्रेनिया कडा खालको मानसिक रोग हो । यो यस्तो रोग हो जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हुँदैन । बिरामी एक्लै बस्दा कानमा आवाज आँउछ । ऊ अरूलाई शंका गर्न थाल्छ । साथीभाइको संगत छाड्छ र एक्लै बस्न रुचाउँछ । दैनिक काममा ध्यान दिँदैन । सफासुग्घर गर्न छाड्छ । घरबाट भाग्छ,’ डा. शाक्य भन्छन, ‘जसले गर्दा कतिपय अवस्थामा यो रोग पत्ता नलाग्दै बिरामीले निकै क्षति बेहोरिसकेकोे हुन्छ । बिरामीले आत्महत्यासमेत गर्न सक्छ ।’ डा. शाक्यका अनुसार पुरुषमा सरदर १० देखि २५ वर्ष र महिलामा २५ देखि ३५ वर्षभित्र सुरु हुने यो रोगले तन्नेरीलाई नराम्ररी सिध्याउने गर्छ । केही नयाँ प्रयोग गर्न रुचाउने उमेरमा लक्षण देखा पर्ने भएका कारण धेरैले यो रोग लागेको अनुमान नै लगाउन सक्दैनन् । डा. शाक्य भन्छन्, ‘कोही निकै तेज विद्यार्थी छ र उसले केही अस्वाभाविक लक्षण देखायो भने धेरै पढेर यस्तो भएको भन्दै कम पढ्न सल्लाह दिने चलन पनि पाइन्छ । जसले गर्दा रोग छिप्पिँदै जाने र बिरामीको अवस्था थप बिग्रने हुन्छ ।’

के हो सिजोफ्रेनिया ?

सिजो अर्थात् टुक्रिएको र फ्रेनिया अर्थात् मन । यी दुई ग्रीक शब्द मिलेर सिजोफ्रेनिया बनेको हो । धेरैलाई यो शब्दको अर्थ टुक्रिएको व्यक्तित्व भन्ने गलत धारणा रहेको डा. शाक्य बताउँछन् ।

यो एक प्रकारको सोच्ने प्रक्रियामा हुने गम्भीर मानसिक रोग हो । सिजोफ्रेनियामा इन्द्रियका असाधारण महसुस, सोचविचारमा असाधारण भ्रम हुने गर्छन् । जसले गर्दा गलत भाव, मिजास, गतिविधि आदि हुने हुन्छ । यो रोग लागेकाले अनौठो व्यवहार गर्छन् । यो एक किसिमको साइकोसिस हो । रोगीले वास्तविकता र अवास्तविकता छुट्याउन नसक्ने हुन्छ । ‘उपचार गर्दा पनि पूरा ठीक नहुने, प्रायः जिन्दगीभर लक्षणहरू आउने–जाने भइरहने आदि कारणले गर्दा यसका रोगीहरूले विश्वको आधी जस्तो मानसिक अस्पतालका शड्ढया ओगटिरहेका हुन्छन् भन्ने गरिन्छ,’ डा. शाक्य भन्छन्, ‘यो रोग लागेकाहरू सम्भवतः सबैभन्दा बढी सामाजिक अपहेलना र दुव्र्यवहारका शिकार हुने गरेका छन् । सिजोफ्रेनिया के कारणले हुन्छ भन्ने तथ्य अहिलेसम्म पत्ता लागेको छैन ।’

कसरी चिन्ने सिजोफ्रेनिया ?

सिजोफ्रेनियाका लक्षणहरू निकै व्यापक एवं थरीथरीका हुन्छन् । सिजोफ्रेनिया भन्नलाई सबै लक्षण हुन जरुरी हुँदैन । एकै रोगीको फरक समयमा भिन्नाभिन्नै लक्षण र एक रोगीको लक्षण अर्कोको भन्दा पूर्णतया भिन्न हुन पनि सक्छ । वास्तवमा विशेषज्ञहरू माझ सिजोफ्रेनिया एउटा मात्र रोग नभई अनेक रोगहरूको एक समूह भन्ने अवधारणा पनि छ ।

सिजोफ्रेनिया भएकाहरूको निद्रा एकदमै गडबड हुन्छ । जसका कारणले बिरामीले चुरोट, रक्सी र गाँजा जस्ता नशालु पदार्थको सेवन अत्यधिक मात्रामा गर्न थाल्छन् । जसले गर्दा रोगीमा देखिएका लक्षण नशा सेवन गरेर भएको भन्ने अनुमान प्रायः सबैले लगाउँछन् । त्यसपछि बिरामीलाई नशालु पदार्थको सेवनबाट छुटकारा गराउन विभिन्न उपाय गरिन्छ । तर, समस्या एकातिर समाधानको उपाय अर्को्तिर खोज्दा बिरामीले निकै दुःख पाउने गरेका छन् । धेरै सिजोफ्रेनियाका बिरामीले आफूलाई के भएको हो भन्ने पत्ता लगाउन नसकेर नै दुःख पाउने गरेका छन् । ‘बिरामीले त आफूलाई के भएको हो, त्यो सजिलै थाहा पाउने कुरा भएन,’ डा. शाक्य भन्छन्, ‘उसका अभिभावक पनि यो रोगसँग झुक्किन्छन् । कतिपय अवस्थामा चिकित्सकले पनि बिरामीमाथि विभिन्न किसिमका औषधि सेवन गराएर परीक्षणमात्र गरिरहेका हुन्छन् ।’

रोगपूर्वका संकेत

– बाल्यकालीन मौनता, निष्क्रियता र अन्तर्मुखी स्वभाव – किशोरावस्थामा पनि सामाजिक अन्तरक्रियाभन्दा एक्लै रमाउने – अमूर्त विषयः दर्शन, धर्म आदिमा अनौठो रुचि देखाउने – दीर्घकालीन टाउको, ढाड, पेट दुखाइ – कमजोर पाचन समस्या – अनौठो मिजास, बोली–व्यवहार, सोचविचार आदि

रोगी अवस्थाका लक्षण

– अनुचित लवाइ, हाउभाउ, गतिविधि, मूर्तिझैँ उभिरहने, अकारण अस्थिरता आदि – अनुचित रिस, खुशी, उदासी, डर, चिन्ता वा भावविहीनता – असामान्य इन्द्रिय स्वचालनः वास्तवमा नभएका, अरूले नसुन्ने ध्वनि, दृश्य, गन्ध आदि महसुस गर्ने । – सिजोफ्रेनिया भएकाले प्रायः अवास्तविक ध्वनि सुन्ने गर्छन् । रोगीले आफूलाई गालीगलौज गरेको, उसको क्रियाकलापबारे अरूले कुरा गरेको आदि महसुस हुन्छ । कहिलेकाहीँ उनीहरू आफ्ना सोच फेरि प्रतिध्वनित भई सुन्ने पनि गर्छन् ।

शुक्रबारबाट

Tanneri Sidyaune rog

विशेष