'सिलौटोमा छोरीको भाग्य कुँद्दैछु'
कात्तिक २६ । मेरो घर सर्लाहीको नवलपुरमा छ । १८ वर्ष पुगेँ । बाल्यकाल दुःखैदुःखमा बित्योे । बुबाले ढुंगाको सिलौटा बनाउने काम गरेर तीनजनाको परिवार जेनतेन धान्दै आउनुभएको थियो । म दुई वर्षको हुँदा उहाँ बित्नुभयो । त्यो सहारा पनि गुम्यो ।
बुबाको निधनसँगै परिवारको सबै जिम्मेवारी आमाको काँधमा आयो । उहाँले मेलापात गरेर र सिलौटा बनाएर मलाई नवलपुरमा रहेको सनफ्लावर बोर्डिङमा पढाउँदै हुनुहुन्थ्यो । तर, म पाँच कक्षा पढ्दै गर्दा मेरो परिवारमा अर्काे बज्रपात आइलाग्यो । त्यही बेला आमाले आफ्नो मानसिक सन्तुलन गुमाउनुभयो । उहाँ धेरै ठाउँ भौँतारिएर हिँडनुभयो । मैले केही गर्न सकिनँ । ओखतीमुलो गराउने पैसा पनि त थिएन मसँग । यत्तिकैमा उहाँ पनि बित्नुभयो । म टुहुरो भएँ ।
जिन्दगीदेखि विरक्त लाग्न थाल्यो । तर, हरेस खाइनँ । जे भए पनि जसरी भए पनि बाँच्नु चाहिँ पर्ने नै रहेछ भन्ने लाग्न थाल्यो । परिवारमा म एक्लो भएपछि मेरो पढ्ने चाहना अधुरै भयो । मलाई रेखदेख र पढाइलेखाइमा सहयोग गर्ने कोही मान्छे भएनन् । मजस्तो गरिबका लागि अब एउटै विकल्प थियो– काम गर्ने । छिमेकी दाइको साथ लागेर नौ वर्षकै उमेरमा काठमाडौँ आएँ ।
कापीकलम समाउने उमेरमा ढुंगा कुँदेर सिलौटा बनाउने काम गर्न थालेँ । मेरा आमाबा यही काम गर्नुहुन्थ्यो । मैले पनि उहाँहरूबाट सिकेको थिएँ । आठ वर्षदेखि म काठमाडौँको जडीबुटीस्थित ढुंगेधारामा बसेर यही काम गरिरहेको छु । यसैबाट मेरो परिवारको गुजारा चलिरहेको छ ।
तीन वर्षअघि विवाह गरेँ । डेढ वर्षकी छोरी र श्रीमतीसहित दुई हजारको कोठा भाडामा लिएर जडीबुटीमै बस्दै आइरहेका छौँ । जीवनमा मैले जति नै दुःख गरे पनि अब मेरी छोरीलाई यस्तो दुःख नहोस् भन्ने मेरो एउटै चाहना छ । उसले चाहिँ सिलौटा बनाउने काम गर्न नपरोस् भनेर म दिनरात खटिरहेको छु । सिलौटोमा छोरीको भाग्य कुँद्दै छु ।
छोरीलाई धेरै पढाउने रहर छ । आफूले चाहँदाचाहँदै पनि पढ्न पाइएन । हाड घोटेर भए पनि छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना छ ।
सिलौटो बनाउने काममा दुःख भनिसाध्य छैन । तर, के गर्नु यो बाहेक आफूसँग अरू सीप पनि त छैन । सिलौटो कुँद्दा चनाखो हुनुपर्छ । ढुंगालाई छिनोले कलात्मक तरिकाले हान्नुपर्छ । खानपानमा समेत विशेष सावधानी अपनाउनुपर्छ । नत्र फोक्सो सुक्ने गर्छ । भोको पेट काम गर्नै सकिँदैन । जीउ कमजोर बनाएर थरथरी हल्लाउँछ ।
कमाइ राम्रै छ । महिनामा सबै खर्च कटाएर १५ हजारजति बचाउँछु । छोरीको पढाइलेखाइका लागि अहिलेदेखि नै जोहो गरिरहेको छु ।
- शुक्रबारबाट
lala thangai