समाज

काेसेली घरबाट उत्पादित सामग्रीतर्फ उपभोक्ताको आकर्षण बढ्दै

काेसेली घरबाट उत्पादित सामग्रीतर्फ उपभोक्ताको आकर्षण बढ्दै
कात्तिक - २६ ।  जिल्लामा सञ्चालित कोसेली घरबाट उत्पादित सामग्रीतर्फ उपभोक्ताको आकर्षण बढ्दै गएको छ । पछिल्लो समयमा जिल्लामै नेपाली कागज र अल्लोबाट तयार पारिएका जुहारीकोट, स्टकोट, फुलकोट, टोपी, झोलालगायत सामग्रीतर्फ उपभोक्ताको आकर्षण बढ्दै गएको हो । यहाँ आउने नागरिकले ती सामग्री कोसेलीका रुपमा वा उपहारका रुपमा लैजाने गरेका सौगात कोसेली घरकी पन्थकला वलीले बताए । जिल्लामै उत्पादित सिमी, मास, टिमुर, भाङो, भटमास, कोदाको पिठो, मकैको पिठो, सिस्नोको पाउडर, बेसार, मह, घ्यूलगायतका सामग्री उपभोक्ताका रोजाइ हुन् । 'ग्राहकको माग पुरा गर्न सकिएको छैन,' वलीले भने । जिल्लामा उत्पादित वस्तु समयमै खरिद गर्न नसक्दा ग्राहकको मागअनुसार सामान उपलब्ध गराउन नसकिएको उनको भनाइ छ । यस्तै लिबाङ–६ की सीता आचार्य कोसेली घरमा किन्न खोजेका सबै कुरा पाइने भएकाले कोसेली घर धाउने गरेको बताउँछन् । जिल्ला सहकारी सङ्घको समन्वय तथा सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयको सहकार्यमा सो कोसेली घर सञ्चालनमा आएको हो । किसानद्वारा उत्पादित वस्तुलाई बजारको पहुँचमा पुर्याउने उद्देश्यले सात वर्ष अघि सौगात कोसेली घर सञ्चालनमा आएको हो । हाल सदरमुकाम लिबाङमा अन्य कोसेली घर पनि सञ्चालनमा रहेका छन् ।

koseli ghar upavokta akarsit

विशेष