प्रचण्डले १०० दिनमा आर्जन गरेका १० बद्नामी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार वर्तमान सरकारले तीन सय दिनमा गर्न नसक्ने काम सय दिनमा गरेको दाबी गरे । उनले सय दिनमा गरेको कामको फेहरिस्तमा कर्मचारीलाई तलब बाँडिएको बाहेक स–साना विषय पनि समावेश गरे । वर्तमान सरकारले गरेको राम्रा कामको बयान त प्रधानमन्त्री आफैले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिसकेका छन् । यो सय दिन राम्रा कामले भन्दा पनि प्रचण्ड सरकार विभिन्न विवादले बढी आलोचित भयो । सरकारले १०० दिनमा आर्जन गरेका विवाद यस्ता छन्ः
पार्टीको अनुशासन तोडेः साउन १९ मा संसदबाट निर्वाचित भएलगत्तै प्रधानमन्त्री प्रचण्डले २० गते सपथ लिए । आफन्तलाई सचिवालयमा नराख्ने पार्टीले नै बनाएको आचारसंहिता तोडेर विवादै विवादमा फसेका आफ्ना छोरा प्रकाशलाई सचिवालयका कर्मचारी बनाए ।
प्रहरीका मोस्ट वान्टेड, प्रचण्डका मित्रः भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरीले सर्वाधिक खोजिरहेको एक अभियुक्त रेशम चौधरीलाई भारतमा भेटे । त्यो फोटो नै सार्वजनिक भएपछि प्रचण्डले होइन भन्न सकेनन् । उनका अन्धभक्तहरुले झुक्याएर प्रधानमन्त्रीसँग भेट गराइयो भन्ने लाचार जवाफ दिए । रेशम टीकापुर हत्याकाण्डका सरदार मानिन्छन् ।
मुद्धा फिर्ताः वर्तमान सरकार भनेपछि प्रधानमन्त्री प्रचण्डको कुरा मात्रै गरेर पुग्दैन । उपप्रधानमन्त्री विमलेन्द्र निधिले टीकापुर हत्यकाण्डका आरोपीहरुको मुद्धा फिर्ता लिने असफल चेष्टा गरे । जनस्तरमा कडा प्रतिवाद भएपछि तत्कालका लागि वर्तमान सरकार मुद्धा फिर्ताबाट पछि हटेको छ । मधेसी मोर्चाले झुठा मुद्धा मात्रै फिर्ता लिनु पर्ने माग गरेको छ । टीकापुर घटना झुठो होइन ।
लोकमानसँग कुरा मिलाउने, उनकै विपक्षमा महाभियोगः भारत भ्रमणमा रहेकै बेला नेपालमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीले लडाकु शिविरको भ्रष्टाचार मुद्धाको फाइल खोल्ने धम्की दिए । प्रचण्ड नेपालमा आएर लोकमानसँग कुराकानी गरे । र उनले आफ्ना कार्यकर्तासँग सगौरव भने, ‘लोकमानसँग कुरा मिलिसकेको छ । चिन्ता गर्नु पर्दैन । शिविरको मुद्धा ब्यूँतिदैन ।’ माओवादीका कार्यकर्ता पनि अनौठा नै छन् । प्रचण्डले यसो भन्दा उनीहरु ढुक्क पनि भए । जबकी तिनै कार्यकर्ता (लडाकु)को पैशा माथिका नेताले हिनामिना गरेको विषय थियो त्यो । आफ्नै भाग खोसिँदा कार्यकर्ता आक्रोशित हुनु पर्नेमा उल्टो ‘लोकमानसँग कुरा मिलिसकेको छ’ भन्दा कार्यकर्ता खुसी भए ।
लम्पसारवादः नेपाली समाजमा ‘लम्पसारवाद’ अब स्थापित शब्द बनेको छ । यो शब्द सिर्जना त जनताले गरेका हुन् । तर कारक बने प्रचण्ड । राजसंस्था हुँदा राष्ट्रप्रमुखको राजकीय भ्रमणमा सार्वजनिक बिदा हुन्थ्यो । नेपालमा पनि कुनै देशको राष्ट्रप्रमुख आउँदा सार्वजनिक बिदा दिने गरिन्थ्यो । गणतन्त्रमा राष्ट्रपति रामवरण यादवको राजकीय भ्रमणमा विदा दिने कि नदिने भन्ने अन्यौल भयो । त्यो बेलाको सरकारले निर्णय लियो, ‘यो गणतन्त्रमा के के त्यस्तो चाप्लुसी । हुँदैन बिदा ।’
त्यो बेलादेखि राष्ट्रप्रमुखको सवारीमा बिदा हट्यो । तर छिमेकी भारतका राष्ट्रपति आउँदा राजशाही सामन्ती चाकडीवाज बिदा दिने प्रचलन प्रचण्डले भित्र्याए । अनि भनियो –लम्पसारवाद । यो लम्पसारवादलाई काउन्टर दिँदै प्रचण्डले, ‘मैले राष्ट्रहितमा बोल्दा लम्पसारवादी भनियो ।’ प्रचण्डको यो स्पष्टिकरण पनि बेतुककै थियो । किनभने उनले बोलेकै कारण लम्पसारवादी भनिएको थिएन ।
भारत भ्रमण विवादमाः प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण पनि विवादरहित हुन सकेन । मूलतः संयुक्त विज्ञप्तिमा रहेका धेरै विषय विवादमा परे । भारतले नेपालमा सञ्चालन गरेका योजनाको अनुगमनका लागि भारतीय राजदूत र नेपाल सरकारका प्रतिनिधि सम्मिलित संयन्त्र बनाउने भनिएको छ । त्यो विषयमा प्रचण्डले स्पष्टिकरण दिँदै संसदमा भने, ‘ भाषा त्यस्तै पर्न गयो । तर मैले समान हैसियतका प्रतिनिधिबीचको संयन्त्र हुनुपर्छ भनेर भारतमा भनिसकेको छु ।’ लिखितमा राष्ट्रियता र सम्मानलाई अवमूल्यन गरिसकेपछि मौखिकरुपमा भारतसँग यस्तो उस्तो कुरा गरिसकेको छु भन्नुको के तुक हुन्छ ? प्रचण्डले त्यस्तै नै गरे ।
निराशाका सय दिनः प्रधानमन्त्री दाहालले कार्यभारत सम्हालेयताका सय दिनमा उत्साहजनक कुनै पनि काम देखिएनन् । पछिल्लो समय एउटा मात्रै उत्साहको घटना भनेको ‘राजधानीलगायत ठूला सहरमा लोडसेडिङ अन्त्यको परीक्षण ।’ यसलाई प्रचण्ड सरकारको सफलताका रुपमा सामाजिक सञ्जालमा प्रचण्डका अनुयायीहरुले प्रचार गरिरहेका छन् । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आफैले भनेका छन्, ‘यो कुनै चमत्कार गरिएको होइन । भएकै बिजुलीलाई वितरण गर्ने तरिका बदलेको हुँ । ’
अर्थात जस लिने भनेको बिजुली उत्पादन गरेर कि भएको बिजुलीलाई परीक्षण स्वरुप वितरण गर्दा निस्केकोे नतिजालाई हेरेर ? नियालेर हेर्ने हो भने यो बाहेक प्रचण्ड सरकारका १०० दिन निराशाजनक नै छन् ।
चिनियाँ राष्ट्रपतिको भ्रमणः चिनिया राष्ट्रपतिको भ्रमण अझै एकीन भएको छैन । जानकारहरुका अनुशार भरसक भ्रमण हुँदैन । चीनलाई दुःख दिने तिब्बतका निर्वासित नेतासँग नेपालका नेता एउटै लहरमा बसेर कार्यक्रममा सहभागी भएको तस्बिर पनि बाहिरियो । चीनप्रतिको नेपाल नीति उल्लंघन हुन लाग्दा रोक्ने काम सरकारको हो । शेरहादुर देउवाले गोवामा जे गरे कार्यकारी प्रमुख हुनुको नाताले त्यसको जवाफदेही प्रचण्डले नै हुनु पर्छ । प्रधानमन्त्रीले चिनियाँ प्रतिनिधिमण्डसँग भेट गर्न नमानेको खबर पनि बाहिरियो । घटनाक्रम यस्ता छन्, अनि चिनियाँ राष्ट्रपतिसँग भेटैपिच्छे नेपालका प्रधानमन्त्री भने निम्तो मात्रै दिइरहेका छन् । अब आउलान त सि जिन पिङ ?
दसैं तिहार नमान्ने, छठ मान्नेः प्रधानमन्त्री प्रचण्डले दसै तिहार नमान्नु पर्ने कुनै कारण थिएन । उनले मानेनन् । तर जुत्ता लगाएर छठ पुजा गर्न चाहिँ गए । यसो किनभने उनले धर्म संस्कृतिलाई पनि राजनीतिक फाइदाका लागि उपयोग गर्छन भन्ने स्पष्ट सन्देश थियो त्यो । प्रचण्ड काठमाडौंबाट हारे तर सिरहा ५ बाट जिते । पर्वलाई माध्यम बनाएर सिरहाका जनताको मन जित्न प्रचण्डले छठ पूजा गरेका थिए । श्रद्धा र आश्था भएर होइन ।
गोयबल्स शैलीः हालैमात्र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कसरी तह लगाउने भन्ने चिन्ता प्रचण्डले जाहेर गरे । किनभने उनीमाथि अहिले सबैभन्दा बढि खनिएकै सामाजिक सञ्जाल हो । तर यो मामिलामा प्रचण्डकै अनुयायी पनि कम छैनन् । प्रचण्डका अनुयायीसँग आफ्ना नेताको प्रशंसा गरेर लेख्ने विषयवस्तु धेरै छैनन् । तर एमाले र एमालेका नेताहरु (विशेषगरी केपी ओली) विरुद्ध धुवाँदार प्रचार भइरहेकै छ । माओवादी कार्यकर्ताहरु अहिले सबैभन्दा बढी आक्रमक केपी ओली र उनका अनुयायीविरुद्ध बनेका छन् । प्रचण्डको तारिफ र विपक्षीविरुद्धको कटाक्ष यसरी अगाडि बढेको छ कि त्यसले गोयवल्सको १०० पटक झुठलाई पनि सत्य भनेर प्रस्तुत गर्दा त्यो पनि सत्य नै हुन्छ भने झै सामाजिक सञ्जालमा ‘भर्चुअल युद्ध’ जारी छ । –ध्रुव रिजाल