स्वास्थ्य

डाक्टर भन्छन्ः यी बालिकाको केही घण्टाभित्र निधन हुन सक्छ

डाक्टर भन्छन्ः यी बालिकाको केही घण्टाभित्र निधन हुन सक्छ

infant-kupason-nepalaajaकात्तिक २८ । कुपोषणले ग्रस्त ११ महिनाकी यी बालिकाको बाँच्ने सम्भावना कम रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अफ्रिकामा कुपोषणले ग्रस्त बालबालिकाको फोटो हेरेर कठै भन्ने हामी नेपाली अहिले आफ्नै देशमा यस्ता फोटो सार्वजनिक हुन थालेका छन् ।

सामाजिक सञ्जालमै यो तस्बिर देखेपछि हामीले कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण खड्कासँग सम्पर्क गर्ने प्रयास गर्यौं । सम्पर्क भयो सहायक प्रमुख जिल्ला अधिकारी पद्म लामिछानेसँग । लामिछानेले जिल्ला अस्पताल प्रमुख डा. कौशर अलीसँग सम्पर्क गर्न नम्बर दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका समेत प्रमुख रहेका डा. कौशर अलीलाई उनको फेसबुकमा हामीले तस्बिर कालीकोटको हो कि होइन भनेर म्यासेन्जरमा पठायौं । उनले कालिकोटकै ११ महिने बालिकाको तस्बिर भएको पुष्टि गर्दै भने, ‘ती बालिका कालिकोट सिपखाना गाविसकी हुन् । उनको तौल ४ दशमलव १ केजी छ । उनी अहिले कुपोषितहरुकालागि उपचार गरिने सेन्टरमा उपचारका लागि भर्ना भएकी छन् । ’

डा. अलिले यी बालिकाको अवस्था अत्यन्त नाजुक अवस्थामा पुगेको जानकारी दिए । उपचार शुरु गरेपछि त बिसेक हुनु पर्ने होइन र ? भन्ने प्रश्नको जवाफमा डा. अलीले भने, ‘यी बालिकाले जन्मेदेखि आमाको दुध बाहेक केही पनि खान पाएकी छैनन् । आमाले मजाले खाना खान पाएको भए पनि अवस्था यस्तो हुँदैन थियो । उनको शरिरमा केही नै छैन । हामीले सबै प्रयास गरिरहेका छौं । कुनै पनि बेला जे पनि हुन सक्छ । ’

यी जस्तै अर्की एक सिपखाना गाविसकै बालिकाको कुपोषणकै कारण निधन भइसकेको छ । जिल्लामा ३३३ वटा कुपोषणका बिरामी फेला परेका छन् । उनीहरु सबैले उपचार पाइरहेका छन् ।

डा. अलीका अनुसार उपचार भनेको बिरामीलाई मिलाएर खाना खुवाउने हो । यस्तो उपचार ४२ दिनसम्म चल्छ । बालबालिकाको हकमा आमालाई समेत पोषीलो खानेकुरा निःशुल्क खुवाइन्छ । जाने आउने यातयात खर्चको प्रबन्ध पनि सरकारले गरेको छ ।

तर विकटताका कारण धेरै बिरामीको बाटोमै ज्यान जान्छ । कुपोषणले ग्रस्त सिपखानाकी ती बालिकाको पनि जिल्ला अस्पताल मान्मा ल्याउने क्रममा निधन भएको थियो ।

कालीकोटको स्युना, मेहलमोडी, रपु, कुमालगाउँ, गेला, राँचुली, धौलागह गाविसमा कुपोषणका बिरामी बढी देखिएको छ । रपु गाविस त सदरमुकामदेखि २ दिनको पैदल दुरीमा पर्छ । यस्ता गाउँका बिरामीको त अस्पताल ल्याउँदा ल्याउँदै निधन हुने सम्भावना बढी हुन्छ ।

डा. अलीकाअनुसार कुपोषणका १० प्रतिशत बिरामीलाई जोगाउन सकिएको छैन । बाँकी तन्दरुस्त भएर घर फर्किन्छन् । गरिबी सूचकांकमा कालीकोट नेपालकै दोस्रो गरिब जिल्ला हो । कालीकोटभन्दा गरिब बाजुरा हो ।

–ध्रुव रिजाल

kalikot kaushar ali krishna khadka kuposan

विशेष