समाज

आइओएमकाे डिनमा प्रा डा सिंह नियुक्त, डा केसीद्वारा अनशन बस्ने चेतावनी

आइओएमकाे डिनमा प्रा डा सिंह नियुक्त, डा केसीद्वारा अनशन बस्ने चेतावनी
कात्तिक - २८ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिनमा प्रा डा केशवप्रसाद सिंह नियुक्त भएका छन् । त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि आज उनलाई डिन नियुक्त गरेको हो । डिन सर्च कमिटीले प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा केपी सिंह र प्रा डा ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको थियो । त्रिविका उपकुलपति डा तीर्थ खनियाँले डा सिंहलाई अाइतबार नै पत्र बुझ्ने गरी डिन नियुक्त गरिएको जानकारी दिए । विसं २०४५ मङ्सिर ८ गते आइओएममा नियुक्त भएका उनले चार वर्षअघि त्रिवि शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । चिकित्सा शिक्षा सुधार र विकृतिविरुद्ध नौ पटकसम्म अनशन बसिसकेका प्रा डा केसीले भने आइओएमको डिन नियुक्ति वरिष्ठताका आधार नभएकाले यसलाई नसच्याए अाइतबार अपराह्न ३ बजेदेखि अनशन सुरु गरिने चेतावनी दिएका छन् । डा केसीले गत बुधबार र शनिबार विज्ञप्ति जारी गर्दै आइओएमको डिन नियुक्ति वरिष्ठता आधारमा गर्न २४ घन्टाको समयावधि दिएका थिए । त्रिवि उपकुलकति कार्यालयले शनिबार साँझ बैठक बसी अवकाश पाउन चार महिना बाँकी समय रहेका प्रा डा सिंहलाई डिन नियुक्त गर्ने निर्णय गरेको हो । रासससँग कुरा गर्दै डा केसीले वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने आफ्नो माग यथावत् रहेकाले सो नसच्याए आफूले फेरि अनशन बस्ने चेतावनी दिए । उनले भने, “मैले कसैलाई व्यक्तिगत फाइदाका लागि नभई सिङ्गो चिकित्सा शिक्षाका लागि सिस्टममा चल्नुपर्ने मान्यताअनुसार नै वरिष्ठताका आधारमा डिन नियुक्ति हुनुपर्ने माग अघि सार्दै आएको छु । डा सिंहको नियुक्ति वरिष्ठताका आधारमा नभएकाले मेरो असहमति छ ।” उपकुलपति खनियाँले भने बाहिर जसले जे भने पनि वरिष्ठताका आधारमा नै डिन नियुक्त गरिएको र सिफारिस भएकामध्ये डा सिंह नै वरिष्ठ भएको जिकिर गरेका छन् ।

Dean gobinda kc le ansan basne IOM

विशेष