सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने सरकारको निर्णय
कात्तिक २८ । सरकारले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको छ ।
विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटक अधिकतम १५ लाखसम्म उपचार खर्च दिन सकिने गरी स्वास्थ्य मन्त्रालयले तयार पारेको उपचार खर्चसम्वन्धी मापदण्डलाई पन्छाउँदै ५० लाख दिने निर्णय भएको हो ।
आइतबारको मन्त्रिपरिषद् बैठकमा उपचार खर्चसम्वन्धी मापदण्ड एजेण्डामा थियो । तर, त्यसबारे छलफल नै नगरी ठाडो प्रस्ताव ल्याएर पूर्वपरराष्ट्रमन्त्री कोइरालालाई उपचार खर्च दिने निर्णय भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको दबावमा ५० लाख दिने निर्णय भएको छ ।
कोइरालाले त एक करोड उपचार खर्च मागेकी थिइन् । उनलाई स्तन क्यान्सर भएको छ । र, कोइराला थप उपचारका लागि आइतबार नै सिंगापुर प्रस्थान गरेकी छन् ।
मन्त्रिपरिषद बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने २ अर्ब सहयोग रकम स्वीकार गर्ने निर्णय समेत गरेको छ ।