अन्ततः यी नेपाली बालिकाले खान नपाएकै कारण संसार छाडिन्
कात्तिक २९ । कुपोषणले ग्रस्त कालीकोट सिपखाना–६ की ११ महिनाकी बालिका शुसीला योगीले अन्ततः आइतबार ज्यान गुमाएकी छन् । जन्मेदेखि आमाको दुधबाहेक केही पनि खान नपाएकी यी बालिका जीवनका लागि संघर्ष गर्दा गर्दै जिल्ला अस्पाताल मान्मामा अन्तिम श्वास लिइन् ।
जगन्नाथ योगी र पार्वता योगीकी छोरी शुसीलालाई सिपखानाबाट उपचारका लागि शनिबार मान्मा ल्याइएको थियो । जिल्ला अस्पताल मान्माका प्रमुख डा. कौशर अलीकाअनुशार अस्पताल ल्याइपुर्याउँदा उनको अवस्था नाजुक थियो । ४ केजी तौल र पाखुराको नाम ७८ एमएम थियो । शरिरले उपचार लिनै सकेन । जसका कारण बालिकाको निधन भयो । उपचारमा संलग्न चिकित्सकहरुले ती बालिकालाई बचाउँन मुस्किल भएको बताएका थिए ।
नेपालकै दोस्रो गरिब जिल्ला कालिकोटमा कुपोषणग्रस्त ३३३ बालबालिका छन् । ती सबैको खतरामुक्त अवस्थामा उपचार भइरहेको डा. अलिले जानकारी दिएका छन् । उपचारकालागि निःशुल्क प्रबन्ध जिल्ला अस्पताललगायत आउटरिच सेन्टरहरुमा मिलाइएको छ । विकट गाउँका बिरामीहरुका लागि मोटर चल्ने सडकदेखि अस्पतालसम्मको यातायात खर्च पनि जिविस र अस्पतालले आन्तरिक स्रोताट व्यवस्थापन गर्दै आएका छन् ।
कालीकोटमा कुपोषणले यो आर्थिक वर्षमा यो घटनासहित दुई बालबालिकाले ज्यान गुमाएका छन् ।