विचार

राजीनामा देऊ गगन !

राजीनामा देऊ गगन !

समाचार टिप्पणी

gagan-thapaaa

गगन थापा स्वास्थ्य मन्त्री भएपछि उनको राजनीतिको खास परीक्षण शुरु भएको हो । दुई पटक सांसद र कृषि समितिको सभापति हुँदासमेत उनका लागि कार्यकारी पद नभएको भन्ने र उम्किने चर बाँकी थियो । अब सो चरपनि सदाका लागि समाप्त हुनेछ ।

सुजाता कोइरालालाई उपचार खर्चवापत ५० लाख दिने सरकारी निर्णय स्वास्थ्य मन्त्री थापाका लागि भारी बन्ने देखिन्छ । स्वास्थ्य मन्त्री भएपछि थापाले बिशिष्टको उपाचारमा १५ लाखसम्म दिन सकिने कार्यविधि ल्याएका थिए । तीन पटक प्रधानमन्त्री भइसकेका तुल्सी गिरीलाई दिन लागिएको उपचार खर्च रोकेर उनले पद्धतिको विकास गर्न खोजेका थिए । उनको तर्क थियो, ‘गिरीले आफुले आफ्नो उपचार आफैँले गर्न नसक्ने भनि लिखितरुपमा निवेदन दिनुपर्ने ।’ व्यक्ति स्वंय उपचार गर्न सक्षम हुँदाहुँदै वा नेपालमा उपचार गर्न सक्ने अवस्था रहँदा रहँदै विदेशमा उपचार गर्न नपाइने थापाको तर्क कर्णप्रिय थियो ।

उनले कर्णप्रिय अभिव्यक्ति दिएको केही साता नबित्दै ‘दिज्यु’ लाई क्यान्सर देखिएको खबर थापाले सुने । स्वभाविकरुपमा संचारकर्मीले थापालाई प्रश्न गर्न थाले, ‘सुजाता कोइरालाले माग गरेको १ करोड दिने कि नदिने ?’ उनले सुजाताले मागे बराबरको उपचार खर्च दिन नसकिने जवाफ दिइरहे ।

कुनैपनि विशिष्ट व्यक्तिको उपचारका लागि सरकारले उपचार खर्च दिन सक्छ । तर, यसका लागि नियम र विधिको पालना हुनुपर्छ । नेपाल मेडिकल बोर्डले नेपालमा उपचार सम्भव छैन भनि लिखितरुपमै प्रमाणित गर्नुपर्दछ । तर, विदेश भ्रमणमा रहेकी सुजाताले उतै परीक्षण गराइन् । नेपालको अस्पतालमा देखाउँदै नदेखाइ उनी उपचारका लागि सिंगापुर हानिइन् । उनको उपचार सिंगापुरमै किन गर्नुप¥यो प्रष्ट छैन । उनी उपचारका लागि हिडेपछि सरकारले ५० लाख दिने निर्णय गर्यो ।

जबकी स्वास्थ्यमन्त्री थापाले सर्त राखेजस्तो सुजाताले आफ्नो उपचार आफैँ गर्न असमर्थ रहेको लिखित व्यहोरा पेश पनि गरेकी छैनन् । उनी आफ्नो उपचार आफैँ गर्न नसक्ने गरिव पनि होइनन् । काठमाडौँमा बिसौँ रोपनी जग्गा भएकी उनको करोडौँको सम्पत्ति सबैले देखेकै छन् । उनले उपचारका लागि एक टुक्रा जग्गा बेच्न लागेको समाचारपनि बाहिरिएको थियो । जग्गा बेच्ने मुख्र्याई गर्ने ‘लाटी’ भन्दै उनलाई रोकिएको हो ।

एकातिर छबि बिग्रने अर्कोतिर दिज्यु रिसाउने दोहोरो मारमा थापा परे । परिस्थितिअनुसार उम्कन सिपालु गगनले सुजातालाई उपचार खर्च दिने फाइल आफुले पेश गर्न नमिल्ने नैतिक विवशता तेर्साए । त्यसपछि सो प्रस्ताव काँग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका उपप्रधानमन्त्री एंव गृहमन्त्री बिमलेन्द्र निधिले गर्ने निधो भयो । राजनीतिक विश्लेषक भरत दाहालका अनुसार गृहमन्त्रालयबाट प्रस्ताव पेश गर्ने विकल्पपछि थापा मन्त्रिपरिषद्को बैठकमा सहभागी भएनन् । यता उपचार खर्च दिने निर्णयको विरोधपनि गर्न पाइने उता दिज्युको सुविधासम्पन्न अस्पतालमा आरामदायी उपचारपनि हुने । थापा अहिले दुबै हातमा लड्डुु पार्ने ध्याउन्नमा छन् ।

गगन थापा पार्टीको मूल नेतृत्व र नीतिको विपक्षमा प्रस्तुत हुँदै सरकारसम्म पुगेका हुन् । सरकारमा पुगेपछि उनको बागी छबीको खाश मूल्यांकन भइरहेको छ । मन्त्री भएपछि सबैभन्दा चर्चा उनले उपचार खर्चलाई व्यवस्थित र पारदर्शी बनाउने निर्णय गरेपछि बटुलेका हुन् । तालुकदार स्वास्थ्य मन्त्रालयको अख्तियारी खोसेर आफ्नै पार्टीका गृहमन्त्रीले ५०÷५० लाख उपचार खर्च दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरे । प्रधानमन्त्रीले प्रस्ताव स्विकृत दिए । यसको अर्थ हो : गगनको मूल एजेण्डालाई उनकै पार्टीका बरिष्ठ मन्त्रीले अपहरण गरी बलत्कार गरे । प्रधानमन्त्रीले बलत्कारलाई अनुमोदन गरिदिए । संसदीय राजनीतिमा मुख्य मुद्धामै प्रधानमन्त्रीसँग मत बाँझिएपछि पदमा बसिरहनु अनर्थ मानिन्छ । प्रधानमन्त्रीसँग बिमतिपनि राख्दै सोही मन्त्रिपरिषद्मा बसिरहनु भनेको पदीय आशक्तिमात्र ठहर्छ । क्रान्तिकारी छबीसहित सरकारसम्म पुगेका गगनको क्रान्तिकारिता आवरण हो वा अन्त्य ? निर्णायक मोडमा पुगेको छ ।

गगन थापाका लागि अर्को चुनौति बनेका छन् डाक्टर गोविन्द केसी । गगन मन्त्री नहुँदा केसीको पक्षपोषण गर्ने मध्येका एक हुन् । अहिले केसी गगनसँगै माग राखेर दशौँ पटक अनसन गरिरहेका छन् । नवौँ अनसनमा पनि गगन मन्त्री थिए । गगन र सरकारका प्रतिनिधिले माग पूरा गर्ने वाचापछि केसीले अनसन तोडेका थिए । हिजो आफैँले काँध थापेको पात्रले आफैँसँग माग राखेर अनसन बसिरहँदा गगनले हिजो दिएको साथ सतही रहेछ भन्ने प्रष्ट भएको छ ।

मन्त्री बनेपछि धेरैको छबी धुमिल हुने गर्दछ । केहीको पहिचान भने फराकिलो बन्ने गर्दछ । राष्ट्रिय राजनीतिमा नचिनिएका लालबाबु पण्डितको लाल छबी मन्त्रीका रुपमा उजागर भयो । उनको एकाग्र निष्ठाले उनको एजेण्डा स्थापित भयो । ओझनदार छबीसहित मन्त्री भएका गगन गणित मिलाउँदा मिलाउँदै छबी धुमिल हुने स्थितिमा पुगेका छन् । दिज्युलाई पनि खुशी पार्ने र उपचार खर्च दिलाउने तथा सोको विरोध गरेर लोकप्रियता हासिल पनि गर्ने पूरानो गणितिय सूत्र अब काम लाग्दैन । गगनसँग दुई बाटा छन्ः बिद्रोह गर्दै राजिनामा गर्ने । यात मन्त्रिपरिषद्को निर्णयको स्वामित्व लिँदै रक्षा गर्ने । अन्यथा गगन गनगनमा सिमित हुनेछन् ।

Gagan Thapa

विशेष