समाज

गौराति भीमेश्वर मेला सुरु

गौराति भीमेश्वर मेला सुरु

कात्तिक २९ । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराति भीमेश्वरको मेला आजदेखि सुरु भएको छ ।

प्रत्येक कार्तिक पूर्णिमाको दिनबाट सुरु भई तीन दिनसम्म चल्ने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन आउने हुँदा यो मेला जिल्लाकै ठूलो मेलाका रुपमा मानिएको हो ।

सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने चौतारा नगरपालिका–२ स्थित गौरातीडाँडामा अवस्थित भीमेश्वर मन्दिरसम्म पुग्न यातायातको समेत सुविधा छ । चौताराको पुरानो बजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगि पूर्णिमाको रात गौराति मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनःफर्काइन्छ ।

गुठीयारको घरघरमा समेत पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ । गौराति भीमेश्वर मेलाकै अवसरमा सरकारी पूजासमेत हुने प्रचलन रहेको छ । मेला भर्न देशका विभिन्न भागबाट श्रद्धालु भक्तजन आउने गर्दछन् । पौराणिक कालमा जङ्गल रहेको सो डाँडामा गोठालाले खर्क राखी गाई चराउने गर्दथे ।

गाईले रातिराति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ । ‘गौ’ अर्थात् गाईले राति दूध चढाएको कारण गौराति र भूमि खनेर उत्पत्ति भएकाले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ ।

Gaurati Mela

विशेष