समाज

गर्भवती, बालबालिकादेखि कोटधारीसम्म सडकको बास

गर्भवती, बालबालिकादेखि कोटधारीसम्म सडकको बास
कात्तिक - २९ । सञ्जु नामकी एक युवती चितवनको नारायणगढस्थित लायन्स चोकको सडक पेटीमा गएराति १०ः३० बजे भेटिइन् । टाउकोमा रुमाल बाँधेकी उनी सडकपेटीमा बसिरहेका बेला फेला परिन् । उनी गर्भवती छिन् । सडकमै बस्ने र सडकमै खाँदै आएकी उनलाई प्रहरी र मानवसेवा आश्रमको संयुक्त रात्रि सडक सेवाका क्रममा भेटियो । उनको मानसिक अवस्थासमेत कमजोर छ । श्रीमान् को हो कसैलाई थाहा छैन । शरीरको पछिल्लो भाग आगोले पूरै पोलेको छ । 'कष्टकर देखेकाले उनको उद्धार गरियो,' आश्रम अभियान्ता रुपा केसीले भनिन्, 'यसरी गर्भ बोकेर सडकमा पुग्ने पाँच, छजना महिला भेटिसक्यौँ ।' उद्धारपछि चार बच्चा आश्रममै जन्मेको केसी बताउँछिन् । कतिपयचाहिँ सडकमै बलात्कार भएको अनुमान उनकाे छ। नारायणगढ लीला चोक नजिकै अर्की गर्भवती सीता परियार आफ्नो श्रीमान्कै साथमा सडक पेटीमै सुतिरहेकी भेटिइन् । उनी आश्रम जान मानिन् । कोठा खोजेर बस्ने प्रतिबद्धता जनाएपछि उनलाई छाडियो । नारायणगढका विभिन्न क्षेत्रको सडकमा यसैगरी कतै परिवारसहित त कतै बालबालिकासहित आमा त कतै युवायुवतीसँगै सुतेको अवस्थामा भेटियो । बाराकी लक्ष्मी मगर नाबालक दुई छोरी लिएर भरतपुरको बसपार्क पेटीको चिसो सिँढीमा सुतिरहेका बेला राति १० बजे भेटिइन् । तल म्याट ओछ्याएकी छिन् । पातलो कम्बल ओढेकी छिन् । डेढ वर्षकी छोरी सुकु उनको दूध चुस्दै छिन् । छेउमा पाँच वर्षकी रिजा मस्त निद्रामा छिन् । पल्लोपटी जेठो छोरा सन्तोष र अर्काे छेउमा भाइ राम मदिराको लतमा अर्धहोस अवस्थामा पल्टिएका छन् । लक्ष्मीको इँटा लोड अनलोड गर्ने काम हो । श्रीमान् तुले तामाङ पनि त्यही काम गर्छन् । बसपार्कको सडकपेटीमा रात गुजारेको यो पहिलो होइन । यसैगरी उनले कैयौँरात कटाउँदै आएकी छिन् । “मेरो तीन बूढा भए, एक डाक्टर एक आर्मी दुईटैले छाडे अहिले तामाङसँग आ’छु” – लक्ष्मीले भनिन् । औँसीमा आमाकहाँ आएकी उनी फेरि फकेर गएकी छैन । इँटा बोक्दा दिनमा रु ८०० देखि ९०० कमाइ छ । उनको छेउमा अन्य अन्य व्यक्ति पनि लस्करै सुतेका छन् । गुल्मी घर भएका ४७ वर्षीय यमबादुर शाही ठकुरी सेतो सर्ट, आकर्षक कोट पाइन्टमा नारायणगढस्थित सडकपेटीको यात्रु प्रतीक्षालयमा सुतिरहेका बेला राति ११ बजे भेटिए । उनी घर बनाउने मिस्त्री हुन् । दिनमै रु ७०० देखि रु एक हजारसम्म कमाउँछन् । चार बालबालिकाका बाबु उनी मदिरा पिएर यसरी सडकपेटीमा पुगेका हुन् । “मदिरा खाएपछि घरमा बस्न दिँदैनन् त्यही भएर सडकमा आएको” – उनले भने । सिन्धुलीका सागर बराल र सुस्मिता बोरा ओछ्याएर सडकपेटीमै सुतिरहेका भेटिए । धरान घर भएका रिक्सा चालक राजन क्षेत्री ढाकाटोपीमा पैसा सिउरिएर १४०८ नंको रिक्सामा अर्ध बेहोस् अवस्थामा भेटिए । 'हेर्दा केही वास्तविक पीडितहरु सडकमा यसरी भेटिए भने धेरैचाहिँ रक्सी खाएर मस्त भएकाहरु पाइयो,' चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले भने – 'यो जाडो मौसममा यसरी सडकमा बस्दा पुरा शरीर कठ्याङ्ग्रीएर मानिस मर्न सक्छ ।' केही महिला जोखिममा देखिएका छन् । कतिपय अवस्थामा यसरी सडकमा बस्दा आपराधिक क्रियाकलाप बढ्ने सम्भावना हुन्छ । त्यही भएर मानवसेवा आश्रम र प्रहरी मिलेर सडकमा कष्टकर अवस्थामा रहेकालाई उद्धार गर्ने र रक्सी खाएर बस्नेलाई नियन्त्रणमा लिई सचेत पार्ने अभियान थालिएको हो । सडकमा बास हुनेमध्ये केही कवाडी टिप्ने, केही रिक्सा चालक, केही मजदुर र केही वास्तविक असहाय, मनोरोगी भेटिन्छन् । त्यीमध्ये असहाय र मानसिक रोगीको सङ्ख्या न्यून रहेकाले अहिले चितवनका सडकपेटीमा बढी मदिरा पिएकाहरु भेटिन थालेका छन् । दिनमा रु एक हजारसम्मै आम्दानी गर्नेहरु पनि मदिराको लतमा सडकमा बस्ने गरेको पाइएको चितवनका प्रहरी प्रमुख वसन्त कुँवर बताउँछन् । दुई दिनअघि एक बेवारिसे मान्छेको नारायणगढस्थित सडकपेटीमै ज्यान गयो । चिसो बढेसँगै यसैगरी ज्यान जाने गर्छ । प्रहरीका अनुसार अघिल्लो वर्षको जाडोमा १० जना यस्तै बेवारिसेको शव उठाइएको थियो । आश्रमकी अभिभावक प्रेमप्रभा अधिकारी स्थानीयवासी सचेत हुने हो भने उनीहरु पनि अकालमै ज्यान जानबाट जोगिने बताउँछन् । जिल्लामा प्रहरी र आश्रमले सुरु गरेको रात्रि सडक सेवा एक साता बढी भएको छ । यो बीचमा सडकमा मदिरा पिएर बस्नेहरु कतिपयले कोठा खोजेर बस्न थालेका छन् भने छजनालाई उद्धार गरिएकाले सडकमा आश्रय लिनेहरु भरतपुर नारायणगढ क्षेत्रमा न्यून भएको पाइएको छ । आश्रमका अध्यक्ष रामजी अधिकारी सडकपेटीबाट असहाय तथा मानसिक समस्या भएका गरी ५०० जनाको उद्धार गरिएकामा १६६ जनालाई परिवारमा मिलन गराइसकिएको बताए ।

street people in nepal

विशेष