देश

पढ्न पाउनुपर्ने माग गर्दै बहुमुखी क्याम्पसमा तोडफोड

पढ्न पाउनुपर्ने माग गर्दै बहुमुखी क्याम्पसमा तोडफोड
कात्तिक - २९ । सिन्धुलीको पुरानो शैक्षिक संस्था सिन्धुली बहुमुखी क्याम्पसमा आज विद्यार्थीले तोडफोड गरेका छन् । लामो समयदेखि आफूहरुले क्याम्पसमा अध्ययन गर्न नपाएको भन्दै पढ्न पाउनुपर्ने माग गर्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । क्याम्पसमा आए पनि सधैँ त्यत्तिकै फर्कंदा आफूहरुको भविष्य अन्धकारतर्फ धकेलिएको भन्दै उनीहरुले क्याम्पसको प्रशासनिक गेटमा लगाएको ताल फोरेका छन् भने क्याम्पसका केही फर्निचरसमेत भाँचिदिएका छन् । दसैँ, तिहार र छट बिदापछि कात्तिक २२ गतेबाट क्याम्पस सञ्चालन भए पनि क्याम्पसमा प्राध्यापक नआउने, विद्यार्थी आएर त्यत्तिकै फर्कनुपर्ने समस्या झन्डै छ महिनादेखि रहेको विद्यार्थीको भनाइ छ । आफूहरुले क्याम्पसमा नियमित पठनपाठन गर्न पाउनुपर्ने नभए लिएको पैसा क्याम्पसले फिर्ता गर्दै आफूहरुलाई अन्यन्त्रै पढ्न पाउनुपर्ने व्यवस्था गरिदिनुपर्ने विद्यार्थीको माग छ । कात्तिक २२ गतेबाट नियमित क्याम्पस खुलेको भए पनि पठनपाठन नहुँदासम्म पनि सम्बन्धित निकाय मौन बसिरहेका छन् । विद्यार्थी सङ्गठनले पनि क्याम्पसमा पठनपाठन नियमित गर्न पहल नगरेको विद्यार्थीको आरोप रहेको छ । एक सय विद्यार्थीको हाराहारीमा निक्लिएको जुलुसले क्याम्पसहातामा तोडफोड ग¥यो भने बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–९ ढुङ्ग्रेवासमा पढ्न नपाएको झोकमा केहीबेर राजमार्ग अवरुद्ध बनाए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई तितरवितर पारेपछि राजमार्ग खुलेको थियो । क्याम्पसको विधान संशोधन गर्दै प्राध्यापकहरुको उपदान कटौती गर्ने गरी संशोधन गरिएपछि आन्तरिक विवाद र समस्या चुलिएको हो । सिन्धुली बहुमुखी क्याम्पसका २२ जना प्राध्यापकले विधान संशोधन भएको विषयलाई लिएर क्याम्पस प्रमुखको राजीनामा माग गर्दै व्यवस्थापन समितिसमक्ष भदौमा सामूहिक राजीनामा बुझाएको क्याम्पस प्रशासनले जानकारी दिएको छ । क्याम्पस प्रमुखले राजीनामा नदिएसम्म प्राध्यापकले पठनपाठन ठप्प पारेपछि क्याम्पस प्रमुख मीमप्रसाद घिमिरेले असोजमा राजीनामा दिएको क्याम्पस प्रशासनको भनाइ छ । क्याम्पस प्रमुखले राजीनामा र प्राध्यापकको राजीनामा दुवै महिनौँसम्म विचाराधीन अवस्थामा छन् । रासस

Sindhuli bahumukhi Campus

विशेष