खेल

एएफसी सोलिडारिटी कपः नेपाल र मकाउ भिड्ने

एएफसी सोलिडारिटी कपः नेपाल र मकाउ भिड्ने
  कात्तिक - २९ । एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र मकाउ आमनेसामने हुने भएका छन् । मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा नेपाली समयानुसार मङ्गलबार साँझ ५ः१५ बजे नेपालले विजय लक्ष्यका साथ मकाउको सामना गर्ने भएको हो । सात राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल र मकाउ अपराजित रहँदै फाइनलमा प्रवेश गरेका हुन् । शनिबार भएको सेमिफाइनलमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा ३–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । यता मकाउले भने बु्रनाईलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो । त्यसैगरी सन् १९९७ मा भएको फिफा विश्वकप छनोटमा नेपालले पहिलो खेलमा मकाउसँग एक एक गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा नेपाल २–१ ले पराजित भएको थियो । त्यस्तै सन् २००१ मा भएको विश्वकप छनोटको दुवै खेलमा नेपालले मकाउमाथि शानदार जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले मकाउलाई ४–१ को फराकिलो गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा ६–१ ले पराजित गरेको थियो । त्यस्तै आठ वर्षअघि भएको मैत्रीपूर्ण खेलमा नेपालले मकाउलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । फिफा वरियतामा नेपाल १८६ औँ तथा मकाउ १९६ औँ स्थानमा छ । नेपालले यसअघि सन् १९९३ मा बङ्गलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली महासङ्घीय खेलकुद (साफ) मा नेपालले उपाधि जितेको थियो । त्यतिबेला नेपालले भारतलाई टाइब्रेकरमा पराजित गर्दै स्वर्ण पदक हात पारेको थियो । त्यसैगरी गत माघमा भारतमा भएको बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक प्राप्त गरेको थियो ।  

football Nepal VS Macao

विशेष