महिला टोलीमा प्रशिक्षकले क्रिकेटबाहेक अरु पनि सिकाउन खोजेपछि
कात्तिक ३० । इङ्ल्यान्डमा सन् २०१७ मा आयोजना हुने महिला विश्वकप क्रिकेटअन्तर्गत गत महिना हङकङमा सम्पन्न एसियाली छनोट प्रतियोगिताका क्रममा प्रशिक्षक राजु बस्न्यातले आफूहरूमाथि दुव्र्यवहार गरेको आरोप नेपाली खेलाडीहरूले लगाएका छन् । टोलीका सिनियर खेलाडीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । प्रशिक्षक बस्न्यातले भने खेलाडीमाथि आफूले कुनै गलत व्यवहार नगरेको दाबी गरेका छन् ।
खेलाडीले प्रशिक्षकमाथि गम्भीर खालका आरोपसमेत लगाएका छन् । खेलाडीको उजुरीमा राखेपका साथै अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले समेत चासो व्यक्त गरेको छ । सोमबार नेपाल आइपुगेका आईसीसीका प्रतिनिधि अमर शेखले घटनाका विषयलाई लिएर राखेपका सदस्यसचिव केशवकुमार बिष्टसँग फोन संवाद गरेका छन् । शेखको जिज्ञासामा आफूले घटना गम्भीर बन्न सक्ने देखिएको जबाफ दिएको सदस्यसचिव बिष्टले बताए ।
‘अमर शेखले सोमबार बिहानै मलाई फोन गरेर खेलाडीमाथि प्रशिक्षकले दुव्र्यवहार गरेको विषयमा जिज्ञासा राखेका थिए’, उनले भने, ‘मैले घटना गम्भीर हुन सक्ने जानकारी उनलाई गराएको छु ।
सदस्यसचिव बिष्टले राखेप बोर्ड सदस्य शैलेश कर्माचार्यको नेतृत्वमा गठित क्रिकेट समन्वय समितिसमक्ष खेलाडीले उजुरी गरेको र समितिको प्रतिवेदन आएपछि दोषीलाई कारबाही गरिने जानकारी दिए । –अन्नपूर्ण पोस्ट्बाट