समाज

खेत किसानको, बाली किसानको : रातारात लालपूर्जा पारिन्छ अर्कैको

खेत किसानको, बाली किसानको : रातारात लालपूर्जा पारिन्छ अर्कैको

मंसिर १ । भक्तपुर बालकोटको हनुमन्ते खोलाको जमिन भूमाफिया र नापीका कर्मचारीका मिलेमतोमा बेचेर खाएको तथ्य फेला परेको छ । दिव्यश्वरी २ (ख) मा पर्ने हनुमन्ते खोलाले चर्चेको जग्गा २०३७ सालमै नयाँ नक्सा बनाएर एकपछि अर्को व्यक्तिलाई बिक्री गरिएको प्रमाणिक कागजात भेटिएको छ ।

jagga-michne-04-nepalaajaतस्बिरमा हेर्नुहोस् । नक्साको तल्लो भागमा खोला देखिन्छ । यो खोलालाई नापीले कित्ता नम्बर ४४, ४३ आदि नाम दिएको रहेछ । कित्ता नम्बर भन्नाले जमिनको टुक्रा चिन्न सजिलो होस भनेर राखिएको नम्बर हो । यो नक्सामा खोला देखिएको भागलाई २०३७ सालमा नापीका कर्मचारीले नयाँ कित्ता काट गरेर धेरैवटा टुक्रा बनाए ।

त्यस्तो टुक्रा किन बनाइयो भन्ने जवाफ अहिले नापीका कर्मचारीहरुसँग जवाफ छैन । तर पुराना अभिलेखमा ३१ साल वैशाख ३ गतेको निर्णयबमोजिम यसो गरिएको भन्ने उल्लेख छ । ३१ साल वैशाख ३ गते कुन निकायले त्यस्तो निर्णय गरेको थियो र खोलालाई नम्बरीमा परिणत गरियो स्पष्ट छैन ।

३१ सालको सरकारी जमिनलाई निजी बनाउने भूमाफियाको चलखेलपछि त्यो जमिन २०३७ सालमा बिमली उपाध्यायको नाममा गएको देखिन्छ । जसमा कित्ता नम्बर ११३६, ११३७, ११३८, ११३९, ११४०, ११४१, ११४२  आदि थिए । ती जमिनका टुक्राहरु त्यही बेला तकलीमाया कुटु, कृष्णलक्ष्मी कुटु, तुइलाल कुटु, कान्छीमाया कुटुले खरिद गरेका थिए । यी टुक्रा जमिनहरुको क्षेत्रफल छ रोपनी भन्दा अलिकति बढी छ । खोलाको २८ रोपनीभन्दा ढी कित्ताकाट भएको थियो । ती मध्ये आधाजति व्यक्तिको नाममा परेको थियो ।

खोलाको जमिन कसरी व्यक्तिको नाममा गयो ? नापी कार्यालय भक्तपुरका पुराना कर्मचारी प्रमोद यादव भन्छन्, ‘खोलाले धार परिवर्तन गरेर व्यक्तिको जमिनमा पस्यो भने, नदी उकासको जमिन ती पीडितलाई दिने निर्णय ४८ सालतिर मन्त्रिपरिषदबाट भएको थियो । त्यो अनुसार हुन सक्छ ।’

यादवले अनुमान गरेभन्दा धेरै अघि नै ३१ साल वैशाख ३ गतेको निर्णयअनुसार भनेर नदि क्षेत्रको जमिन व्यक्तिको नाममा नामसारी भएको देखिन्छ ।

jagga-michne-02-nepalaaja


कौशलटार हेभनले पनि खोलाकै जमिन मिच्यो

कोटेश्वरबाट कौशलटार पुगेपछि दायाँ दिशामा बालकोट जाने बाटो आउँछ । थोरै अघि बढेपछि हनुमन्ते खोला आउँछ । कौशलटार र बालकोटलाई जोड्ने पूलको छेवैबाट बायाँपट्टि कच्ची घाँसे बाटो देखिन्छ । हालसालै बनाइएको योे बाटो खासमा खोला क्षेत्र हो । खोला मिचेर बनाइएको यो घाँसे बाटो हुँदै २०० मिटर अघि पुगेपछि यस्तो ठाऊँमा टुंगिन्छ जहाँ चारैतिर जस्तापाताले घेरिएको जग्गा छ । जस्ताले घेरेको जग्गामा सिई कन्स्ट्रक्सन नामक कम्पनीले हाउजिङ निर्माण गर्ने तयारी गरेको छ । कुरुवा घर र स्टोर्स हाउस बनाइसकिएको छ ।

सिई कन्सष्ट्रक्सनले भक्तपुर–राजमार्ग नजिकै रहेको र खोला किनारमा बनाउन लागेको सो हाउजिङको नाम ‘कौशलटर हेभन हाउजिङ’ राखेको छ । बुझ्दैजाँदा स्वर्गरुपी घर नाम दिइएको हाउजिङ मसानघाट रहेको तथ्य फेला परेको छ । सँगै हाउजिङले कम्तिमा पनि ३ रोपनी क्षेत्र हनुमन्ते खोला मिचेको पाइएको छ ।

हाउजिङ क्षेत्रभित्र रहेको मसानघाट र मूर्दा पोल्ने ठाऊँ केही महिनाअघि डोजर लगाएर फालिएको थियो । स्थानीयले विरोध गरेपछि हाउजिङकै छेऊमा मूर्दा पोल्ने नयाँ ठाऊ बनाइदिएको छ कन्स्ट्रक्सनले ।

एक अगुवा रैथानेका अनुसार हाउजिङले खोला क्षेत्रसमेत मिचेर जग खनेपछि स्थानीय विरोधमा उत्रिए । उनीहरुले खोला क्षेत्र छाडेरमात्र निर्माण गर्न पाउंने अडान लिएपछि हाल हाउजिङ निर्माणको काम रोकिएको छ । कन्स्ट्रक्सनका अधिकारीहरु पावरवालाको घर र कार्यालय धाउँन व्यस्त रहेको बुझिएको छ ।

सिई कन्स्ट्रक्सनका मार्केटिङ प्रमुख सुजन घिमिरेले खोला मिचिएको स्विकार गरेका छन् । नेपाल आजसँग कुरा गर्दै उनले भने, ‘हामीले त्यहाँ जस्ताले घेरेरमात्र राखेका छौं निर्माण कार्य केही भएको छैन ।’ घिमिरेका अनुसार कन्स्ट्रक्सनले १८ रोपनी जग्गा किनेको भएपनि फिल्डमा १६ रोपनीमात्र भएकाले काम रोकिएको जनाए ।

स्थानीयका अनुसार हाउजिङ कम्पनीले स्थानीय शक्तिशाली व्यक्तिलाई प्रभावमा पारिसकेको छ । सो कुरा बुझ्नका लागि हामीले हाउजिङ कम्पनीका मार्केिटङ प्रमुख घिमिरेलाई सोधेका थियौं, ‘गुण्डा र शक्तिशालीले कत्तिको सताएका छन् ?’ उनले सरल रुपमा उत्तर फर्काए, ‘यस्तो समस्या हरेक कन्स्ट्रक्सनमा आइलाग्छ । कुरा मिलिहाल्छ । त्यो समस्या होइन । खास समस्या भनेको हाम्रो जग्गा पुगेन ।’

हनुमन्ते खोलाले चर्चेको जमिनमै कित्ताकाट गर्ने, बेच्ने आदिकाम पहिलेदेखि नै हुँदै आएको थियो । यसको जल्दोबल्दो उदाहरण कौशलटार हेभन हाउजिङको जमिनलाई लिँदा पनि हुन्छ । यो हाउजिङका कर्मचारीहरु नै बेच्नेले झुक्याएको आशयको जवाफ दिइरहेका छन् ।

जमिनमै चलखेल गर्ने गिरोह यो क्षेत्रमा सक्रिय छ । यस्ता गिरोहकै कारण कतिपय रैथाने किसानहरुको जमिन पनि हेरफर भएको छ ।


gyan-pyathaमेरो जग्गा खै ? मेरो नाम ज्ञानसुन्दर प्याठ हो । मेरो बुवाको नाम ज्ञानबिसी प्याठ हो । हामी मध्येपुर ठिमी–१५ मा चालीसौं वर्षदेखि तरकारी खेती गरिरहेका किसान हौं । हाम्रो वंशले पहिलेदेखि नै तरारी खेती गर्ने भएकोले यो ठाउँको नाम नै सागबारी बनेको छ । यो क्षेत्रका हामी रैथाने किसान हौं । मेरो परिवारको स सानो तीन टुक्रा जमिन यहि क्षेत्रमा छ । त्यसैमा तरकारी फलाएर हामी जीवीको गर्छौैैं ।

हाम्रो जमिनमध्ये एउटा ४ आना १ पैसा क्षेत्रफलको टुक्रा छ । त्यसमा हामी वर्षौदेखि खेती गरिआएका छौं । अहिले नापीबाट आएकाहरुले मेरो जमिन घटाइदिए । अहिले भनिरहेका छन् मेरो जमिन नक्सामा ३ आना २ पैसा मात्रै छ । नयाँ नक्सामा त ३ आना २ पैसा जनिम पनि रहेनछ । जम्मा एकआना मात्रै जमिन रैछ । उनीहरुको दाबीअनुसार हामीले ३७ सालमा खोलाको जमिन आफ्नो नाममा पारेकी बिमली उपाध्यायबाट जसले जमिन किनेका थिए, उनीहरुको जमिन हामीले मिचेका हौं । अब हाम्रो जमिन जहाँ छ, त्यो सबै तरकारी बारी नै हो । जहाँ सबै किसान सधै पुग्छन् । यस्तोमा अर्काको जमिन मिच्न कहाँ पाइन्छ र ?

यो क्षेत्रमा मेरो मात्रै नभएर धेरैको जमिन र नक्सा फरक छ । यो काम भूमाफिया र नापीका कर्मचारी मिलेर गरेका हुन भन्ने हल्ला मैले सुनेको छु ।


नापी/मालपोतका कर्मचारी नै संदीग्ध

केही समय अघि मालपोत कार्यालय भक्तपरका खरिदार देवराज केसीले ठिमी –१५ मै किर्ते लगत तयार पारेको कारण जेल जानु परेको थियो । जेलमै भएको बेला उनले ८५ लाख धरौटी बुझाएर बाहिर निस्के । खरिदार जस्तो तल्लो तहको कर्मचारी धरौर्टीबापत ८५ लाख बुझाउन सक्छ भने यस क्षेत्रमा भूमाफियाको चलखेल बुझ्न गाह्रो छैन ।

त्यस्तै नापी कार्यालय भक्तपुरमा ६५ सालदेखि कार्यरत सर्भेक्षक धर्म व्यञ्जनकार र उमाकान्त यादव गम्भीर विवादमा तानिएका थिए । उनीहरुले नदीउकास जमिन पास गरिदिन्छौं भनेर स्थानीयसँग पैसासमेत असूल गर्ने गरेको खबर बाहिरिएको थियो ।

स्थानीयका अनुसार व्यञ्जनकार र यादवले मध्यपुर ठिमी नपा–१५,१६ वडाको पूर्जा वितरण भई हाल साविक लागु भै सक्दा पनि साविक बालकोट र साविक दिव्यश्वरीका हनुमन्ते खोलाको छेउ किनाराका जग्गा साविक भन्दा बढी सरकारी जग्गा घुसाई जग्गा दर्ता गरिदिन्छु भन्ने, नापी विभागका महानिर्देशकलाई पैसा दिनु पर्छ जस्ता तर्क सुनाएर पैसा उठाउँने गर्थे ।

उनीहरुले सरकारी जमिनलाई व्यक्तिको बनाउने, एउटाको जग्गा नक्सामा धेरै देखाउन अर्काको जमिन कम देखाइदिने, बढी जग्गा हातमा पारिदिएबापत त्यस्ता जग्गाधनीबाट पैसा असुल्ने गरेको जानकारहरु बताउँछन् ।

भूमाफिया र कर्मचारीकै कारण ज्ञानसुन्दर प्याठजस्ता धेरै किसानहरुको जमिन अहिले हराइरहेको छ । उनीहरु वर्षौैदेखि भोगचलन गरिरहेको जमिन अहिले अरु मानिसहरु आएर भन्न थालेका छन्– ‘यो जग्गा तिम्रो होइन, नक्सामा छैन ।’

श्रम गरेर खाने सोझा किसान यस्तो परिस्थितिको सिकार भइरहेका छन् ।

यस्ता धेरै विवादास्पद विषयहरु यस क्षेत्रको जग्गामा जोडिएका छन् । यस क्षेत्रको स्वतन्त्र अनुसन्धान हुन आवश्यक पनि देखिन्छ ।

विशेष