बुहारी ऐश्वर्याको बोल्ड अभिनयबारे बल्ल मुख खोले अमिताभले
एजेन्सी — करण जोहर निर्देशित फिल्म ‘ए दिल है मुश्किल’ मा एश्वर्याले दिएको बोल्ड अवतारका सम्बन्धमा उनका ससुरा अमिताभ बच्चनले समेत प्रतिक्रिया दिएका छन् ।
ऐश्वर्याको यस्तो अवतारलाई लिएर मिडियाले थुप्रै समाचार बनाए । एश्वर्याको प्रस्तुतिले दर्शकलाई रिजाउन सके पनि बच्चन परिवारलाई रिजाउन नसकेको कुरा धेरै पटक बाहिरियो । फिल्म रिलिज भएको यत्तिका दिन पछि बल्ल ऐश्वर्याका ससुरा अमिताभले उनको बोल्ड चरित्रबारे मुख खोलेका छन् ।
हालै भएको कलकत्ता फिल्म फेस्टिभलमा बोल्दै अमिताभले ऐश्वर्याको भूमिकाले आफ्नो देशमा भएको महिलाको उन्नतिलाई झल्काएको बताए । फिल्ममा ऐश्वर्याले एक सम्बन्ध विच्छेद भएकी महिलाको भूमिका निभाउँदै प्रेमीलाई ‘म कसैको जरुरत हैन, सपना बन्न चाहन्छु’ भनेको संवादको अमिताभले खुब प्रशंशा गरेका छन् । यसले एक प्रगतिशील महिलाको संकेत गरेको अमिताभले बताए ।
व्यस्तताका कारण पूरै फिल्म हेर्न नपाए पनि फिल्म बन्दै गर्दाको केही भाग हेरेको आधारमा अमिताभले बुहारी ऐश्वर्या फिल्ममा निकै सुन्दर देखिएको बताए । करण जोहरको टिमसँग आफू खुसी भएको बताउँदै उनले उक्त टिमलाई बधाईसमेत दिए ।