समाज

जयरामघाट पुल निर्माण समयमै नसके ठेकेदारलाई कारवाही गर्छु : प्रधानमन्त्री प्रचण्ड

जयरामघाट पुल निर्माण समयमै नसके ठेकेदारलाई कारवाही गर्छु : प्रधानमन्त्री प्रचण्ड
मंसिर १ । खोटाङ–ओखलढुंगा जोड्ने दुधकोशी नदीको जयरामघाट पुल निर्माणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अग्रसरता देखाएका छन् । गत साता राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन तथा निरीक्षणका क्रममा खोटाङका स्थानीय बासिन्दासँगको भेटमा प्रधानमन्त्रीले छिट्टै पुल निर्माणको काम अघि बढाउन आवश्यक निर्णय लिने बताएका थिए । २०६६ असार २३ गते पुल निर्माणको सम्झौता भई २०७० मंसीर १५ गतेसम्ममा सम्पन्न हुनुपर्नेमा हालसम्म सम्पन्न नभएपछि पुल निर्माण कार्यलाई तिब्रता दिन प्रधानमन्त्रीले अग्रसरता लिएका हुन् । बुधबार प्रधानमन्त्रीले पुल निर्माणसँग सम्बद्ध सरकारी निकायका अधिकारीहरुलाई सिंहदरबारमा बोलाएर पुल निर्माण ढिलो हुनुको कारणबारे चासो राखेका थिए । प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि पौडेल, भौतिक योजना मन्त्रालयका सचिव धनबहादुर तामाङ, पूर्वाञ्चलका क्षेत्रीय प्रशासक शिबहरि सापकोटा, सडक विभागका निर्देशक देवेन्द्र कार्की लगायतका अधिकारीहरुलाई बोलाएर प्रधानमन्त्रीले आगामी चैत्र मसान्तभित्र पुल सक्ने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले ठेकेदारको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको भन्ने स्थानीयबासीको गुनासो स्मरण गराउँदै समयमै काम नसके ठेकेदारलाई कारवाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको चासोपछि भौतिक पूर्वाधार सचिव र सडक विभागका निर्देशकले ठेकेदारहरुलाई बोलाएर छिटो पुल निर्माणका लागि सचेत गराउने र समयमै सम्पन्न नभए कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

diktel jairam gha pool jairam ghat pool pm pushpa kamal dahal prachanda

विशेष