समाज

डोल्पाका २७ बालबालिका सुर्खेतमा अलपत्र

डोल्पाका २७ बालबालिका सुर्खेतमा अलपत्र
मंसिर - १ । काठमाडौँ लगिँदै गरेका उपल्लो डोल्पाका २७ बालबालिका सुर्खेतमा अलपत्र परेका छन् । उत्तरी डोल्पाको तिन्जे गाविसका ती बालबालिकालाई लामा ज्ञान दिने भन्दै काठमाडौँ लगिँदै थियो । उनीहरुलाई गत आइतबार सुर्खेतको छिन्चुबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका बालबालिका पाँच वर्षदेखि १५ वर्षमुनिका छन् । अभिभावकको मन्जुरीबिना काठमाडौँ लगिँदै गरेको अवस्थामा बालबालिकालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरक्षीक बहादुरजङ्ग मल्लले जानकारी दिए । बालबालिकासँगै तिन्जेकै २८ वर्षीय चोजिन जिष्टुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिष्टुले नै ती बालबालिकालाई उनीहरुका बा आमाको अनुमतिबिना काठमाडौँ लैजाँदै थिए । प्रहरीले नेपाली भाषा बोल्न नजान्ने ती बालबालिकालाई सुर्खेतस्थित महिला तथा बालबालिका कार्यालयको जिम्मा लगाएको छ । उनीहरुमध्ये १८ जनालाई पहिलोपटक लगिँदै थियो भने अन्य यसअघि नै काठमाडौँमै अध्ययनरत रहेको बताइएको छ । महिला तथा बालबालिका कार्यालय डोल्पाका अधिकृत भोजकला दवाडीका अनुसार सुर्खेतमा अलपत्र परेका बालबालिकालाई जाजरकोट हुँदै डोल्पा फर्काउने तयारी भइरहेको छ । 'चाँडै नै ती बालबालिकालाई आफन्तको जिम्मा लगाउँछौँ,' उनले भने । बर्सेनि उपल्लो डोल्पाबाट लामा ज्ञान दिने भन्दै बालबालिकालाई उनीहरुका बाआमाको अनमपतिबिना काठमाडौँ लगिने गरिएको बताइएको छ । उपल्लो डोल्पामा विद्यालय भएपनि नियमित पढाइ भने हुँदैन ।

child dolpaka balbalika surkhetma

विशेष