कभर स्टोरी

राजेश हमालसँग बिहे भएन, अब अमेरिकामा डब्लु डब्लु ई नखेली बिहे नै गर्दिन

राजेश हमालसँग बिहे भएन, अब अमेरिकामा डब्लु डब्लु ई नखेली बिहे नै गर्दिन

रेस्लर कसरी बन्नुभयो ? ‘संयोगले ’ भगवती खड्का सजिलै उत्तर दिन्छिन । किनकि, उनको जीवनमा कुनै निश्चित उद्देश्य थिएन । जीवन काट्ने क्रममा उनले जे जति काम गरिन्, इमान्दारी र लगनले गरिन् । फलस्वरुप उनले नसोचेको रेकर्ड बनाइन्, ‘नेपालको पहिलो महिला रेस्लर’ उनका नामको अगाडि यो ट्याग त्यत्तिकै जोडिएको होइन । यसका लागि उनले गरेको संर्घष सुन्दा जो कोहीको आङ सिरिङ्ग हुन्छ । उनी पहिलो महिला रेस्लर भन्दा जति खुसी हुन्छिन्, त्यति नै रेस्लर बन्न गरेको त्याग र संघर्ष सम्झँदा भावुक ।
बाल्यकाल २८ वर्ष अगाडि रामेछापको गेलु गाविसमा जन्मिइन् भगवती । दाजुपछि जन्मिएकी दोस्रो सन्तान भगवतीको जन्मले परिवारलाई खुसी दिलाउन सकेन । ‘ए, छोरी भइछ ।’ छोराकै आशामा बसेको परिवारका लागि यो सन्देश सुखद थिएन । छोरी भएकै कारण उनले राम्रो रेखदेख पाउन सकिनन् । भगवतीको वालापन रामेछापको गेलु गाउँमै बित्यो । सोझी र सरल स्वभावकी उनी हक्की थिइन् । हक्की स्वभावका कारण उनीसँग उनकै उमेरका साथीभाइ डराउँथे । कसैले हेपेको महशुस गरे उनी प्रतिकारमा उत्रिन्थिन् । आमालाई छोरी जन्माएको भनेर गाउँभरी नै हेप्न थालेपछि उनी बिद्रोही भइन । ‘अन्याय सहन नसक्ने बानी सानैदेखि विकास भयो ।’ भगवती विगत सम्झिन्छिन् । स्कुल भर्ना हुन पनि उनले संर्घष गर्नुपर्यो । भगवती भन्छिन ‘अर्काको घर जाने जात किन पढ्नुपर्यो ?’ प्रश्नका तगेरा आइलाग्थे । जिद्धिवाल भगवती स्कुल गइ छाडिन् । bhagawati-khadka-first-female-wrestler-nepalaaja उनी स्कुल भर्ना हुदाँ अरु साथीहरुभन्दा ज्याँङ्गो थिइन । उमेर सानै भएपनि उनको शारीरिक बनोट ठूलो थियो । निहुँ खोज्ने केटालाई उनी गालामा पड्काइदिन्थिन् । ‘केटाहरु ज्यान देखेरै डराउँथे ।’ हास्दै भगवती बाल्यकाल सम्झिन्छिन्, ‘एकचोटी त मैलै १६ जना केटाहरुलाई एकैचोटी रामधुलाई गरे । त्यसपछि धेरैजसो मेरो छेउ पर्न पनि डराउन थाले । अनी, मलाई कलाकार ‘राजेश हमाल’भनेर बोलाउन थाले ।’
राजेश हमालप्रतिको क्रेज त्यसपछि भगवती स्कुलमा त्यही नामले चर्चित भईन । सबै साथीहरुले उनलाई ‘राजेश हमाल’भनेर जीस्क्याउन थाले । त्यो बेलासम्म उनलाई राजेश हमालका बारेमा थाहा थिएन । किनकि, उनले राजेशले अभिनय गरेको फिल्म हेरेकै थिइनन् । ‘देउता’ फिल्म हेरेपछि मात्रै उनलाई राजेश हमालको असली परिचय थाहा भयो । आफूलाई हिरोसँग तुलना गरिएकोमा उनी मख्ख परिन्, सँगै राजेशको फ्यान पनि भइन् । उनकै भाषामा राजेश हमालप्रति उनी क्रेजी थिईन । अविवाहित राजेश हमालको मोहमा परेर उनले हमाललाई पाउँ भनेर व्रतसमेत बसेको बताउछिन् । हमालले गाउँको सोझी केटी पाए बिहे गर्छु भनि दिएको अन्तरवार्ता गाऊँ घरमा ‘हिट’ भएको थियो । उनले मनमनै गमिन्, ‘मै हुँ त्यसो भए राजेशकी हुनेवाली ।’
माओवादीमा प्रवेश रामेछापमा त्यो बेला माओवादीको बिगबिगी थियो । उनको बुवाले गर्जो टार्नको लागि गाउँमा सानो किराना पसल थापेका थिए । माओवादीले उनको बुवालाई ‘की धन कि जन’ भन्ने दवाव दिन थाले । उनको बुवासंग २ लाख रुपैयाँ चन्दा मागे । सामान्य किसान परिवारका लागि सो माग निकै भारी पर्यो । दाइ काठमाडौँ पढ्न थालेपछि उनीहरु उल्टै ऋणमा डुबेका थिए । माओवादीलाई २ लाख चन्दा दिन सक्ने स्थिति नै थिएन । माओवादीको कोपभाजनमा परेका उनीहरुको पसल बन्द भयो । त्यसपछि भगवती माओवादीमा हिड्न बाध्य भईन् । तर, माओवादीमा उनको मन रमाएन । ३ महिनापछि उनी भागेर घर आईन् । त्यसपछि उनको घरमा तहल्का मच्चियो । किनकि, अब सेना र माओबादी दुईतिरबाट उनको परिवारलाई खतरा भयो । दुबै पक्षले जुनसुकै बेला जे पनि गर्न सक्थे । तर, भगवती डराइनन्, मर्नु परे मराँैला उनको दिमागमा यस्तै सोच आयो । उनी फेरि स्कुल जान थालिन् । रामेछापकै स्कुलबाट २०६४ सालमा उनले एसएलसी पास गरिन् । उच्च शिक्षा गाउँमा थिएन । धेरै पढे मात्र अघि बढिन्छ भन्ने छाप उनको दिमागमा लिसो झै टाँसिएर बसेको थियो । त्यसैले उनी काठमाडाँै आउने चाँजोपाँजो मिलाइन । तर, परिवारले उनलाई काठमाडौँ आउने मञ्जुरी दिएन ।
काठमाडौँ प्रवेश जस्तो पर्ला त्यस्तै टर्ला उनको दिमाग यस्तै सोचले भरियो । उनी झोली–कुम्लो बोकेर गाउँबाट काठमाडौँ टाप कसिन् । यो खबरले उनको गाउँमा अनेक हल्लीखल्ली चल्यो । तर, त्यसलाई भगवतीले बाल दिइनन् । सानो कुरामा अल्झिदा ठूलो कुरा छुट्छ भन्ने ज्ञान उनलाई थियो । भगवतीले जुन दिन उनले आफ्नो जन्मथलो छोडिन्, उनको वास्तविक संर्घष सुरु भयो । काठमाडौँमा उनको चिनेजानेको आफन्तहरु कोही थिएनन् । धेरै दिन उनी काठमाडौँमा बिचल्ली परिन् । भगवती भन्छिन ‘कति दिन भोकै बसँे, कति दिन एक छाक खाए, यस्ता कुराहरु नसम्झेकै राम्रो ।’ उनी भावुक हुँदै आफैँलाई प्रश्न गर्छिन, ‘मैले यस्तो पनि गरे र ?’ काठमाडौँ छिरेकै वर्ष २०६४ सालमा उनी पिके क्याम्पसमा भर्ना भईन । क्याम्पस पढ्दापढ्दै उनले ‘नाता बन्धन जीन्दगीको’ सिरियलमा अभिनय गर्ने मौका पाइन् । सो सिरियलले उनको परिचय स्थापित गर्दै लग्यो, भलै जीन्दगीको कथा व्यथा उस्तै थियो ।
भारोत्तोलनमा प्रवेश पिके क्याम्पसमा उनको जन्ता कटुवाल भन्ने विद्यार्थी नेत्रीसँग परिचय थियो । उनले नै भारोत्तोलन खेलमा लगाइदिइन् । ५ फिट ९ ईन्च अग्ली उनी भारोत्तोलन सिकेको ३ महिनामै उत्कृष्ट भईन् । छोटो समयमा नै उनी भारोत्तोलन खेलको राट्रिय खेलाडी बनीन । राष्ट्रिय स्तरको भारोत्तोलन खेलमा उनी तेस्रो भइन् । उनी आफैँलाई विस्वास नलाग्ने गरी सफलताको सिँढी उक्लदै गइन् । २०६५ सालमा भक्तपुरमा भएको भारोत्तोलन खेलमा उनले १ सय ३५ केजी तौल उठाइन् । भारोत्तोलन खेल्दा खेल्दै उनको हातको जोर्नीमा समस्या आयो । जोर्नीमा समस्या आएपछि उनको जीवनको बाटो मोडियो । उनी त दुखी भईन नै, भारोत्तोलनमा राम्रो सम्भावना देखेका उनका गुरुहरुको आशामा तुषरोपात भयो । सिरियलबाट अभिनयमा छिरेकी उनी रहरले गायिका पनि बनिन् । गीत संगीतमा उनको रुची सानैदेखि थियो । २०६५ सालमा उनले गीति एल्बम निकालिन् । एल्बमको नाम थियो ः युनिका । उनको गीत गाउने रहर ‘युनिका’ एल्बमले पूरा गरिदियो । धेरै संर्घष गर्दा पनि भगवती कुनै पनि क्षेत्रमा टिक्न सकिरहेकी थिईनन् । बिक्नु भन्दा टिक्नु ठुलो कुरा थियो । गीत गाउदै, अभिनय गर्दै टिक्न सक्ने वातावरण थिएन । उनले उनले, सोचेजस्तो जीवन हुन्न रहेछ । सपनाको संसारमा बाँच्न पैसाको जरुरत पर्ने उनले निष्र्कष निकालिन् । ऋण काँढेर उनले नयाँबजारमा रेष्टुरेन्ट खोलिन्ः भगवती रेस्टुरेन्ट । रेस्टुरेन्ट राम्रैसँग चल्यो । रेस्टुरेन्ट चलाएको १ वर्षमा नै उनले सबै ऋण तिरिन् । बुवलाई लागेको ऋण तिरिसकेपछि उनले रेस्टुरेन्ट बेचिन । रेस्टुरेन्ट बेचिसकेपछि उनी फेरि पहिलाकै बाटोमा फर्किइन् ।
खलपात्रको भुमिका रेस्टुरेन्ट बेचेपछि खालि बनेकी उनी द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठसँग द्वन्द्वको प्रशिक्षण लिन लालिन् । उनको ज्यांगो शरीर खलपात्रको रुपमा सुहाउँदो थियो । प्रशिक्षणकै क्रममा उनलाई भोजपुरी चलचित्र ‘प्रतिकार’मा अभिनय गर्ने अफर आयो । प्रतिकारमा उनकै शरीर र हाउभाउ सुहाउँदो फाइट गर्ने खलपात्रको रोल दिइयो । उनको फाइट गर्ने तरिका र ज्यांगो शरीरले दर्शकलाई अर्गानिक टेस्ट दियो । त्यसपछि त उनी नेपाली, भोजपुरीलगायत धेरै भाषाका चलचित्रहरुमा व्यस्त हुन थालिन् । उनले रक्षक, वर्षात, नाइट क्वीन, हवल्दार सुन्तली, हिम्मतवालीलगायत नयाँ पुराना गरी २ दर्जनभन्दा वढी नेपाली चलचित्रहरुमा सफल अभिनय गरिसकेकी छन् ।
रेस्लिङ प्रशिक्षण काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको एक कार्यक्रममा रेस्लर हिमालयन टाइगरसँग उनको भेट भएको थियो । पहिलैदेखिको चाहना भएपनि भगवतीले टाइगरलाई भेट्ने अवसर प्राप्त भएको थिएन, संयोगले प्रज्ञा प्रतिष्ठानले अवसर जुराइदियो । चलचित्रका सानोतीनो रोलमा ब्यस्त रहेकी भगवतीले रेस्लर हिमालयन टाइगरलाई भेटेपछि उनको दिनचर्यामा परिवर्तन आयो । bhagawati-khadka-first-female-wrestler-nepalaaja-02केही सयमयको भेटघाटमै जोखिम रुचाउने भगवतीको रेस्लर बन्ने सपना टाइगरले बुझे । उनले भगवतीलाई रेस्लिङको प्रशिक्षण लिन गर्जुधारा बोलाए । त्यसलगत्तै उनी दायाँबायाँ नसोचि टाइगरसँग रेस्लिङको प्रशिक्षण लिन थालिन् । रेस्लिङ शारीरिक खेल भएकाले जोखिम र कष्ट दुबै हुन्थ्यो । अझ उनले सिक्ने ठाउँमा कोही महिला थिएनन्, त्यसैले पुरुषसँग प्रतिस्पर्धा गर्नु अझ मानसिक र शारीरिक हिसाबले नै जोखिम हुन्थ्यो । जीवन संर्घष हो, भनेजस्तै काम गरेर देखाउन सजिलो थिएन । रेस्लिङ सिक्दा उनलाई गुरुले जहाँ पायो लात्ताले हिर्काउँथे । जता पनि छुन्थे । उनको शरीरको प्रत्येक अंगहरुमा चोट पुग्थ्यो । मांशपेशीमा गाठो पथ्र्यो । रेस्लिङ सिक्ने क्रममा उनी क्षतबिक्षत हुन्थिन । पुरुषले लात हान्दा र भुईमा पर्छादा सास रोकिए झै हुन्थिन् । तर, पनि उनले हार मानिनन् । प्रशिक्षण केन्द्रमा खराब नियत भएका केटाहरु थुप्रै थिए । प्रशिक्षणका क्रममा उनीहरुले अपशब्द बोल्ने, होच्चाउने र जिस्काउनेसमेत गर्थे । उनी एक्लो केटी भएर धेरैचोटी असुरक्षित महसुस गरिन । पछिपछि त्यस्ता गलत नियत भएका केटाहरुलाई वास्ता गर्न छोडेर प्रशिक्षण लिन थालिन् । किनकि, उनलाई रेस्लर बन्ने सपना पूरा गर्नुथियो ।
द ग्रेट चिन्नेसँगको भेट भगवतीले रेस्लिङको प्रशिक्षण लिन थालेको जम्मजम्मी दुई महिना हुँदै थियो । यसैबीच अमेरिकको टिएनए रेस्लिङ खेल कि चर्चिच महिला रेस्लर ‘द ग्रेट चिन्ने’ नेपाल आइन । उनी आएको उपलक्ष्यमा अर्घाखाँचीको सन्धिखर्कमा रेस्लिङ खेलको आयोजना भयो । त्यहि गेममा भगवतीले ‘द ग्रेट चिन्ने’ संग रेस्लिङ खेलेर नेपालको पहिलो महिला रेस्लर बनिन् । २०६९ मंसिर १६ गते नेपालले पहिलो नेपाली महिला रेस्लर पायो । त्यसपछि भगवतीको चर्चा पनि चलचित्र अभिनय, गायन र भारोत्तोलनले दिएकोभन्दा वढी चुलियो । रातारात उनी चर्चित भईन । त्यसपछि देशको विभिन्न जिल्लामा रेस्लिङ खेल्न उनलाई बोलाउन थालियो ।
‘नेपाल ओमन रेस्लिङ फाउन्डेसन’ त्यसपछि, उनको सोचमा परिवर्तन आयो । उनले आफैँले रेस्लिङ खेल्ने महिलाहरु जम्मा पार्न थालिन् । उनको पहिलो चेली अस्मिता सुनवार बनिन् । उनको भेट अस्मितासँग छवीराज ओझाको चलचित्र हवल्दार सुन्तलीमा अभिनय गर्दैगर्दा ताका भएको थियो । उनलाई ल्याएर भगवतीले प्रशिक्षण दिइन् त्यसपछि भगवतीसँगै अस्मिताले देशका जिल्ला र काठमाडौँमा रेस्लिङ खेलिरहेकी छिन् । अस्मीतालाई रेस्लिङमा ‘जुरेली’ नामले चिनिन्छिन । तर, रेस्लिङ खेल्ने महिला जम्मा पार्न उनलाई सजिलो भएन । उनले नक्सालमा ‘नेपाल ओमन रेस्लिङ फाउन्डेसन’ खोलेकी छिन । त्यहाँ रेस्लिङ खेल्न चाहने महिलाहरुलाई रेस्लिङ सिकाउछिन । रेस्लिङको विकास गर्ने उदेश्यले उनले त्यो सस्था खोलेको बताउछिन् । भन्छिन ‘सबैले रेस्लिङलाई उपेक्षा गरे । नत सरकार नै यो खेलप्रति सकरात्मक छ, नत यसका खेलाडिहरुले नै यो खेल व्यावसायीक बनाउन चासो दिएका छन ।’ नेपालमा रेस्लिङ नफस्टाउनुले उनलाई दुःख लागेको बताउछिन् । भन्छिन ‘व्यावसायीकता नभएकाले पहिलो महिला रेस्लर भएपनि नाम र दामको अभाव छ ।’ पहिचान भएपनि खेलाडीहरुलाई सम्मान नभएको उनले महसुस गरेकी छिन ।
पूरा नभएको सपना अभिनय, गायिका, भारोत्तलन पछि नेपालको पहिलो रेस्लर बेनिकी भगवतीले सामान्य महिलाले भन्दा धेरै ठूलो सफलता प्राप्त गरेकी छन् । तर, उनी भन्छिन् ‘मैले केही गरेको छैन, अझै मेरो सपना पूरा भएको छैन ।’ भगवतीको सपना गजबको छ । ‘कुनै पनि हालतमा अमेरिकामा गएर वल्र्ड ह्याभिवेट च्याम्पियन खेल्छु ।’ उनले थपिन् ‘अनी, नेपाली महिलाहरुलाई मजस्तै रेस्लर बनाउने मेरो सपना छ ।’ उनले रेस्लिङ खेल्नकै लागि अमेरिका जाने प्रयास नगरेकी पनि होइनन् । उनलाई अमेरिकाको हुहाइभ भ्याली रेस्लिङ केन्द्रले निमन्त्रण पनि गरिसकेको छ । तर, विडम्बना नेपालीहरु खेलाडि बनेर जाने र उतै हराउने भएकाले उनलाई पनि त्यस्तै सोचेर पूर्व खेलकुदमन्त्री पुरषोतम पौडेल सिफारिस दिएनन् । बल्लतल्ल पूर्व खेलकुद मन्त्री सत्यनारायण मण्डलले उनलाई सिफारिस दिए । तर, अमेरिकी दूतावसले ट्राभल कम भयो भनेर भिसा दिन मानेन । अमेरिका जाने तीन पटकको प्रयास यस्तै यस्तै कारणले असफल भइसकेको छ । तर, उनी हार नमान्ने बताउछिन् । ‘अमेरिका पुगेर रेस्लिङ नखेली मर्दिन ।’ उनले भन्छिन् ।
डब्लुडब्लुई नखेली बिहे नै गर्दिन २ दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी भगवती यतीबेला आफैँ चलचित्र निमार्णमा जुटेकी छिन् । उनले बनाउन लागेको चलचित्र उनको आफ्नै जीवनमा आधारित रहेको रहस्य खोलिन् । ‘क्वीन अफ नेपाल’ नामको चलचित्रको कथा रेस्लर बन्न एउटा महिलाले गरेको संर्घषको छ । जुन चलचित्रमा भुमिका भगवती आफ्नै छ । भगवती अझैसम्म अविवाहित छिन् । उनी अहिलेसम्म कसैको प्रेममा नपरेका बताउँछिन् । भन्छिन ‘माया प्रेममा वास्ता लाग्दैन । प्रेम प्रस्ताव राख्ने भएपनि त्यता ध्यान जादैन । घरबाट बिहे गर्ने पहिले दवाव आएपनि अहिले छैन । त्यसैले म भविष्य बनाउन केन्द्रीत छु ।’ संर्घषमा निरन्तरता लागिरहेकी भगवती अझैपनि संर्घष गरिरहेको बताउछिन । प्रगति देख्दा खुट्टा तान्ने धेरै भएकाले तिनीहरुलाई देखाउनकै लागि अझै धेरै गर्ने उनको चाहना छ । भगवती ‘भन्छिन ५ वर्ष लागोस् या १० वर्ष लागोस अमेरिका गएर डब्लुडब्लुई खेल्छु, खेल्छु । डब्लुडब्लुई नखेली बिहे नै गर्दिन ।’ प्रस्तुतिः सागर बुढाथोकी

bhagawati khadka first nepali wrestler interview with bhagawati khadka nepali first female wrestler

विशेष