समाज

कृषि संरचना प्रयोग विहीन

कृषि संरचना प्रयोग विहीन
मंसिर - १ । ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको कृषि उपजको बजारीकरण गर्ने उद्देश्यले जिल्लाका विभिन्न ठाउँमा निर्माण भएका पूर्वाधार प्रयोगमा आउन सकेका छैनन् । करोडाैँ खर्च गरेर निर्माण गरिएका कृषि उपज सङ्कलन केन्द्र, हाटबजार टहरा र बीउ प्रशोधन केन्द्रको भवन प्रयोग विहीन अवस्थामा छन् । कृषकले कृषि उपज बिक्रीका लागि नल्याउनु, पर्याप्त उत्पादन नहुनु, समन्वयको कमी र व्यवसायीको असहयोगका कारण पूर्वाधार प्रयोगमा आउन नसकेका हुन् । “सङ्कलन केन्द्र र हाटबजार सञ्चालन भए तरकारी, फलफूल र पशुजन्य उत्पादन बजारीकरण गर्न सजिलो हुने थियो” बाबियाचौर ताराखेतका कृषक थमप्रसाद पौडेलले बताए । बाबियाचौर, अर्मन, कुहुँ र बरङ्जाका कृषकलाई लक्षित गरेर माटेबगरमा स्थापना गरिएको हाटबजार र कृषि उपज सङ्कलन केन्द्र तीन वर्षदेखि बन्द छ । यसैगरी बेनी, महभिर, भुरुङ तातोपानी, घार र सिङ्गा तातोपानीमा पछिल्लो पाँच वर्षयता आठवटा कृषि उपज सङ्कलन केन्द्र निर्माण भएका छन् । बाबियाचौर र बेनीमा साप्ताहिक हाटबजार सञ्चालन गर्न टहरा निर्माण गरिएको छ । रत्नेचौर, रणवाङ र ताकममा बीउ प्रशोधन तथा भण्डारण भवन निर्माण भएको छ । हाल ताकमको बीउ भण्डारण, बेनीको हाटबजार र सिङ्गो तातोपानीको सङ्कलन केन्द्र आंशिक रुपमा सञ्चालनमा छन् । प्रयोगविहीन पूर्वाधार संरक्षणमा बेवास्ता गरिँदा जीर्ण बन्दै गएका छन् । सङ्कलन केन्द्र र हाटबजार सञ्चालन गर्न सकेमा ग्रामीण क्षेत्रका कृषकले उत्पादन गर्ने कृषि उपज सङ्कलन गरी बजारीकरण, कृषकले उचित मूल्य नपाउने र उपभोक्ताले बढी मूल्यमा खरिद गर्नुपर्ने समस्या न्युनीकरण हुने वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल बताउँछन् । रासस

Krishi Upaj Myagdi

विशेष