समाज

‘सुरक्षित उपत्यका’कोे अवधारणा

‘सुरक्षित उपत्यका’कोे अवधारणा
मंसिर - १ । महानगरीय प्रहरी स्थापना भएको ११ वर्ष पुग्दा समेत यसको अवधारणाअनुरुप काम हुन सकेको छैन । स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमका वक्ताले महानगरीय प्रहरीको अवधारणाअनुरुप काठमाडौँ उपत्यकाका प्रहरीलाई अधिकार प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बढ्दो सहरीकरणसँगै सुरक्षासँग सम्बन्धित चुनौती सापेक्षित रुपमा बढेको बताउँदै यसको सामना गर्न महानगरीय प्रहरीलाई स्थापनाको उद्देश्य अनुरुप कानुनी अधिकार र संरचनामा ढाल्दै लैजान आवश्यक रहेकामा जोड दिएका छन् । महानगरीय प्रहरी ‘सुरक्षित उपत्यका’कोे अवधारणा ल्याई त्यसको कार्यान्वयनमा लागिरहेको उनले बताए। कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मीले महानगरीय प्रहरीसँग सहकार्य गर्दै विभागले काम गरिरहेको बताए । पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह रानाले यतिका वर्ष बित्दा समेत महानगरीय प्रहरीको अवधारणाअनुरुप यसले कार्य सञ्चालन गर्न नसक्नु बेठीक भएको टिप्पणी गरे । सो अवसरमा काठमाडौँ महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख सनतकुमार थापा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, नेपाल बार एसोसिएसनका उपाध्यक्ष मोतीराज गौतम र डा हरिहर वस्ती लगायतले उपत्यकाकाे सुरक्षा व्यवस्था सुदृढ गर्ने गरी काम गर्न प्रहरीलाई सुझाव दिएका छन् । काठमाडौँ उपत्यकामा आपराधिक घटनाको चुनौती बढ्दै गएपछि एक दशकभन्दा अघि आजकै दिन नेपाल प्रहरीले महानगरीय प्रहरी सेवाको अवधारणा ल्याउँदै थप अधिकारसहितको महानगरीय प्रहरी उपत्यकाको तीन जिल्लामा स्थापना गरेको थियो । १८ प्रभाग र ६२ वृत्तमार्फत उपत्यकाका जनतालाई ९ हजार २६ जनशक्ति तथा प्रहरी शक्तिले सेवा प्रदान गर्दै आएको बताइएको छ । कार्यक्रममा उपत्यकाका प्रहरी तथा ट्राफिक प्रहरीमा बसेर उत्कृष्ट सेवा गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार, पदक तथा प्रमाणपत्र वितरण गरियो । यस वर्ष उपत्यकामा प्रहरीले अपराध कार्यमा संलग्न ७ हजार ७० जनालाई कानुनी दायरामा ल्याउनुका साथै राजनीतिक दलहरुले सञ्चालन गरेका २०८ विरोधका कार्यक्रममा सुरक्षाकर्मी परिचालन तथा १९७ सवारीमा सुरक्षा योजना बनाएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

mahangariya prahari peoples Police politicians valley

विशेष