स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले उपत्यकाका थप ७ अवैध क्लिनीकमा ताला लगायो

स्वास्थ्य मन्त्रालयले उपत्यकाका थप ७ अवैध क्लिनीकमा ताला लगायो

मंसिर २ ।  स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले बुधबार थप साच ओटा क्लिनिकमा तालाबन्दी गरिदिएको छ। दर्ता नभई सञ्चालन भइरहेका र दर्ता नवीकरण नभएका क्लिनिकहरुमा अनुगमन टोलीले ताला लगाइदिएको हो।

स्वास्थ्य मन्त्री गगन थापाको निर्देशन अनुसार काठमाडौँ र ललितपुरमा खटिएको अनुगमन टोलीले यसअघिका दुई दिनमा १३ वटा क्लिनिक बन्द गराएको थियो।

व्यवस्थापन महाशाखाका उपस्वास्थ्य प्रशासक डा. रामराज पन्थीको नेतृत्वमा काठमाडौमा खटेको टोलीले बुधबार ६ वटा क्लिनिकमा तालाबन्दी गरिदिएको छ भने दुई वटालाई २४ घण्टे पुर्जी दिएको छ। २४ घण्टाभित्र आवश्यक प्रक्रिया पूरा नभएमा ती क्लिनिकमा पनि ताला लगाउने डा. पन्थीले जानकारी दिए।

अनुगमन टोलीले शिलबन्दी गरेका क्लिनिकहरुमा काठमाडौं बालाजुका नेपाल जनस्वास्थ्य केन्द्र, नागार्जुन डेन्टल क्लिनिक, अल्का डेन्टल होम, ओशो आशिक डेन्टल क्लिनिक, ओम प्राकृतिक डेन्टल क्लिनिक र वाईपास पोली क्लिनिक रहेका छन्। त्यसैगरी, बालाजुकै नोवेल डेन्टल होम र सम्राट पोली क्लिनिक एन्ड मेडिकल सेन्टरलाई भने २४ घण्टे पुर्जी दिइएको छ।

स्वास्थ्य मन्त्रालयको अनुगमन महाशाखाका उपसचिव भवनाथ खतिवडाको नेतृत्वमा रहेको अर्को टोलीले ललितपुरका १६ वटा निजी स्वास्थ्य संस्थाको अनुगमन गरेको छ। ती मध्ये रचना अर्थो न्युरो रिह्याविटेसन सेन्टरमा ताला लगाइएको चिकित्सा महाशाखाका कृष्ण सुवेदीले जनाए। तीन दिनदेखि अनुगमनमा खटिएका दुवै टोलीले बिहीबार पनि विभिन्न ठाउँमा अनुगमन गर्ने भएका छन्।

Tala Bandi

विशेष