समाज

अन्तत: आइपुगिन नेपालकी बुहारी भनेर चर्चामा रहेकी जोया

अन्तत: आइपुगिन नेपालकी बुहारी भनेर चर्चामा रहेकी जोया

मंसिर २ । ३ महिनाअघि नेपालबाट फर्काइएकी फिलिपिनी महिला जोया र उनका बच्चाहरु मिगेल र एरिक गत शुक्रबार नेपाल आएका छन् । चितवनका जीवन मगरसँग वैवाहिक सम्बन्धमा रहेर २ सन्तान भइसकेको भए पनि नेपालमा भिसाबिना बसेकाले र प्रशासनमा जीवन जोयाको बिहे दर्ता र बच्चाहरुको जन्म दर्ता हुन् नसकेकाले चितवनको आदर्श होम नामक संस्थाको सक्रियतामा फिलिपिनी कन्सुलेटको सहायतामा गत अगस्ट १५ मा जोयासहित उनका २ बच्चाहरु पनि फर्काइएको थियो ।

zoya-is-back-nepalaaja


नेपाली बाबु मार्फत नेपालमै जन्मेका ती २ बच्चाहरुलाई आमासँगै फिलिपिन्स पठाइएपछि घोर अन्याय भएको भन्दै संसारभर छरिएर रहेका नेपालीहरु आक्रोशित बनेका थिए र जोयालाई तुरुन्त नेपाल फर्काउनुपर्ने आवाज उठाएका थिए ।

अझ सञ्चारमाध्यममा प्रसारित जोयाको निष्कपट अन्तर्वार्ता, श्रीमान र परिवारप्रतिको स्नेह र सम्मान, सन्तानप्रतिको अथाह वात्सल्य प्रेम, नेपाल र नेपालप्रतिको सम्मान र ५ वर्षपछि पुनः पैसा कमाई नेपाल फर्किने आदम्य प्रतिबद्धता देखेर संसार भरका नेपालीको आँशु थामिएन ।

नेपाली समाजको अपेक्षा विपरीत उनको आदर्श विचार देखेर उनलाई उच्च सम्मान गर्दै ‘‘नेपालकै बुहारी’ नामकरण गरियो । सुरुमा पति जीवनले नहेरेकाले जोयालाई उद्धार गरी फिलिपिन्स फर्काइएको भनिए पनि जोया गएको केही दिनमै एक मिडिया मार्फत जीवनका आमा, छिमेकी र स्वयं जीवनले आफूहरुको सम्बन्ध राम्रै भएको तर गरिबीले गर्दा समस्या निम्तिएको भन्दै मिडियामा बताएपछि संसारभरबाट जोया र जीवनको पुनर्मिलन र जोया र नानीहरुको नेपाल फिर्तीका लागि अभियान सुरु भयो ।

यस क्रममा सामाजिक अभियन्ताहरु नवीन जङ्ग र हङ्कङ्ग निवासी नवांग शेर्पाले ‘‘जोया नेपालकी बुहारी” नामक फेसबुक मार्फत संसार भरका नेपालीहरुलाई सङ्गठित गर्दै सहयोग जुटाए भने नेपालमा नेपाल मगर सङ्घ र डीके मिडियाले जोयाको जीवन घटनाबारे छानविन सुरु गर्यो । जोयाको घर ठेगामा पत्ता लगाउन नविन जङ्ग र डियोन थापाले कैयन दुःख गरे । अनि व्यक्तिगत रकम पठाएर जोयालाई विश्वासमा लिई जोयासँग सम्पर्क स्थापित गर्न सफल भए ।

‘‘नो दलाल डाइरेक्ट ट्रान्सफर, जो पीडित उसकै नाममा खाता” नाराका साथ नवीन जङ्ग र नवांग शेर्पाले सुरु गरेको अभियानमा झन्डै १५ लाख जुट्यो ।

उता जोया जीवनको घटना हेरिसकेपछि गरिब र चोखो मायाका जोडीमाथि अन्याय भएको जिकिर गर्दै अमेरिका निवासी कामी शेर्पाले पनि जोया फर्काऊ अभियान सुरु गरे । जसअन्तर्गत उनले झन्डै १० लाख रुपियाँ जुटाएका छन् । यो जोया नेपाल फर्किसकेपछि केही उद्यम गर्नका लागि प्रयोग गरिने निर्णय भएको छ ।

एउटै उद्देश्यका साथ सुरु भएको कामी शेर्पा र नवीन जङ्गको अभियानमा सहकार्य सुरु भयो ।जीवनको पासपोर्ट चितवन प्रशासनबाट निकाल्नेदेखि जीवनको विवाह, जीवनमाथि लागेका आरोपको खण्डन गर्दै सत्यतथ्य बाहिर ल्याउने कार्यमा कामी शेर्पाको ठूलो भूमिका रह्यो ।

जीवन मगर आफ्ना मामा कामे मगरसँगै जोया र बच्चाहरुलाई फर्काउन १६ सेप्टेम्बरमा जीवन फिलिपिन्स उडेका थिए । सोही दिन बकोलोडबाट मनिला आई जोया र जीवनको पुनर्मिलन भएपश्चात १७ सेप्टेम्बरमा उनीहरु जोयाको माइती घर बकोलोड उडेका थिए ।

सोही अनुरुप उनीहरु १० तारिखमा मनिलाबाट इत्तियाड एयर मार्फत दुबई उडे र ११ तारिखको साँझ ५ बजे नेपाल ओर्लिए । पारिवारको रोहबरमा विशेष निगरानीमा रहने गरी जोयालाई नेपाल प्रवेश अनुमति दिइएको छ । हाल उनी पर्यटक भिसामा नेपाल भित्रिएका छन् ।

यसरी विभिन्न मनकारी व्यक्तिहरुको सहयोगले एउटा गरिब परिवारको उद्धार भएको छ भने नेपाली बाबु मार्फत नेपालमै जन्मेर झन्डै पनि विदेशी बन्न लागेका २ बच्चाहरुको नागरिक अधिकार दिलाउने कार्य सफल भएको छ ।

Joya Back

विशेष