समाज

गाउँमै लाखौँ कमाउँछन् भारतीय नागरिक

गाउँमै लाखौँ कमाउँछन् भारतीय नागरिक
door-to-door-seller-nepalaaja
मंसिर - २ । भारतको विहार राज्यअन्तर्गत पर्ने मोतिहारी जिल्लाका नन्दलाल शाहनी विगत नौ वर्षदेखि म्याग्दीका गाउँगाउँ घुमेर बिग्रेका स्टोभ, राइस कुकर, प्रेसर कुकर, ग्यासलगायतका सामानको मर्मत गर्दै आएका छन्। झोलामा पेचकस, नट, रवर, ह्याम्बर, प्रेसरकुकरका सिटी, ढकनी, ग्यास सफा गर्ने सामान र यस्तै अन्य साधन बोकेर गाउँ चाहार्ने शाहनीले मासिक रु २५ हजारदेखि रु ४० हजारसम्म कमाउछन् । शाहनी मात्रै होइन भारतकै गोन्डा जिल्ला घर बताउने मनोहरलाल गुप्ता, फैजावादका पवनलाल श्रीवास्तवलगायतका भारतीय नागरिकले जिल्लाका गाउँ गाउँमा पुगेर आफ्नो सीपको प्रयोग गरी मासिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । “एक दिनमा रु दुई हजारदेखि रु तीन हजारसम्म कमाइ हुन्छ,” शाहनीले भने । त्यसैगरी झुल, तन्ना, सिरकका खोललगायतका कपडाको व्यापार गर्दै आएका भारत गोन्डाका मनोहरलाल गुप्ताले जिल्लाका गाउँ गाउँमा पुगेर बिक्री गर्छन्। उनले दैनिक रु चार हजारदेखि रु छ हजारका कपडा बिक्री गर्छन् । त्यस्तै भारत फैजावादका पवनलाल श्रीवास्तवले औषधिजन्य चिजको व्यापार गर्दै आएका छन् । उनले खुला रुपमा आयुर्वेदिक औषधि भनिएका सामान र महको बिक्री गर्दै आएका हुन् । “औषधि र मह बिक्री गरी दैनिक रु एक हजारदेखि रु दुई हजारसम्म आम्दानी हुन्छ,” उनले भने । सदरमुकाम बेनी बजारमा सयौँ भारतीय नागरिकले सैलुन, चनाचटपटे, तरकारी तथा मिठाइ बनाएर बिक्री गर्दैआएका छन् । नेपाली नागरिक मासिक रु २०÷२५ हजार कमाउन लाखौँ खर्च गरेर खाडी मुलुक जाने गरेका छन् । तर भारतीय नागरिकले भने नेपालकै गाउँघरमा थोरै लगानीमा मासिक लाखौ कमाउने गरेका छन् । म्याग्दी बहुमुखी क्याम्पसका अर्थशास्त्र विषयका प्राध्यापक भोला घिमिरे आफ्नै गाउँघरका सानासाना काममा नेपालीको ध्यान जान नसकेको बताए । आफ्नै गाउँघरमा रोजगारीका प्रशस्तै सम्भावना रहेका भएपनि नेपाली युवा भारतीय सहर जाने गरेका छन् । रासस

Door Sellers Indian in nepal

विशेष