स्वास्थ्य

चितवनमा डेंगुका कारण १ बालिकाको मृत्यु, ६ सय ५३ जना विरामी

चितवनमा डेंगुका कारण १ बालिकाको मृत्यु, ६ सय ५३ जना विरामी

dengu मंसिर ३ । चितवनमा डेंगु रोगबाट एक बालिकाको ज्यान गएको छ । नेपालमै सबैभन्दा बढी डेंगु रोगको सङ्क्रमण देखिएको चितवनमा यो आर्थिक वर्ष लागेपछि डेंगुबाट मृत्यु भएको यो पहिलो हो ।

पूर्वी चितवनको खैरहनी नगरपालिकाकी ११ वर्षीया बालिकाको डेंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।  चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएको कात्तिक ३० गते मृत्यु भएपनि जनस्वास्थ्य कार्यालय चितवनले मङ्सिर २ गते बिहीबार मात्रै पुष्टि गरेको हो । केसीले दिएको जानकारीअनुसार चितवनको रत्ननगर र खैरहनी क्षेत्रमा यो वर्ष डेंगु सङ्क्रमण प्रकोपका रुपमा बढ्दो छ । चितवनमा यो वर्ष गएको भदौ पहिलो सातादेखि डेंगु रोगको प्रकोप फैलिएको थियो ।

जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले अहिलेसम्म डेंगुबाट चितवनमा ६ सय ५३ जना बिरामी फेला परेको जानकारी दिनुभयो । केही बिरामी बाहिरी जिल्लाका भए पनि अधिकांश चितवनका छन् । चितवनको पनि रत्ननगरका स्थानीयवासी बढी प्रभावित छन् ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु रोग सर्छ । यो लामखुट्टे कुनै पनि भाँडोमा जमेको सफा पानीमा फुल पार्ने भएकाले यसरी पानी जम्न दिन नहुने चिकित्सक डा भोजराज अधिकारी बताए । कडा ज्वरो आउने ज्यान दुख्ने, ठाउँठाउँमा बिमिरा देखिने तथा टाउको दुख्ने यसका लक्षण हुन् । डेंगुको खास उपचार छैन । लक्षण हेरेर चिकित्सकको निगरानीमा उपचार गराउँदा निको हुन्छ । झोलिलो पदार्थ खाने, आराम गरेर चिकित्सकको निगरानीमा औषधि लिँदा एक साताभित्रमा रोग निको हुने भएपनि लापरबाही गरेर मेडिकलबाट जथाभावी औषधि लिँदा जटिल भएर मानिसको ज्यान जान सक्ने चिकित्सकले बताएका छन् ।

जिल्लामा डेंगु फैलिएपछि अहिले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ भने भदौयता दुईपटक रोग सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियान चलाइसकिएको छ । जाडो सुरु भएसँगै सङ्क्रमण दरमा केही न्यूनीकरण आएको तर जोखिम नघटेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यो रोग लागेपछि मानिसको शरीरमा प्लेटलेटको मात्रा घट्दै जान्छ ।

रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलले अहिले डेंगु रोग केही मात्रामा घटेको बताए । चितवनमा २०६७ सालमा डेंगुको महामारी हुँदा सातसय ३९ जनामा सङ्क्रमण भएको थियो भने पाँचजनाको मृत्यु भएको थियो ।

विसं २०६९ सालमा पनि एकजनाको मृत्यु भएको थियो । अहिले पनि सङ्क्रमणदर झन्डै सातसय पुग्न थालिसकेको छ । जिल्लामा अहिले स्क्रब टाइफस रोगसमेत नेपालमै सबैभन्दा बढी छ । उक्त रोगका कारण छजनाले ज्यान गुमाएका छन् भने चारसय ९४ जना बिरामी परेका छन् ।

डेंगु, मलेरियालगायत कीटजन्य रोगको अनुसन्धानका लागि चितवन आएको विज्ञको अध्ययन टोली नमुना सङ्कलन गरेर तीन दिनपछि फर्किएको छ । अनुसन्धान तथा तालिम केन्द्रका इन्टोमोलोजिस्ट शिशिर पन्तको नेतृत्वमा इन्सेक्ट कलेक्टरसहितको टोली चितवन आएर तीन दिनसम्म अनुसन्धान गरेको थियो ।

dengu

विशेष