खेल

अस्ट्रेलियामा के गर्दै छन् नेपाली क्रिकेटर सन्दीप ?

अस्ट्रेलियामा के गर्दै छन् नेपाली क्रिकेटर सन्दीप ?
Sandipमंसिर–३ । १६ वर्षकै उमेरमा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका सन्दीप लामीछाने अहिले अस्ट्रेलियामा छन् । अस्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान माइकल क्लार्कको निम्तोमा सन्दीप अस्ट्रेलियामा पुगेर क्रिकेट सिक्न लागेका हुन् । ‘नेपाली शेन वार्न’ उपनाम पाएका स्याङजाली ठिटो यतिबेला उनै शेनको धर्तीमा बल घुमाइरहेका छन् । अस्ट्रेलियन चर्चित लिग बिगब्यास खेल्ने सपना पछ्याउदै गरेका सन्दीप हाल न्यूसाउथ वेल्स प्रिमियर ‘प्रथम श्रेणी’ क्रिकेट खेल्दै छन् । उनी हाल माइकल क्लार्कको टिम वेस्टर्न सबर्ब क्रिकेट क्लबबाट प्रत्येक सप्ताहान्त न्यूसाउथ वेल्स प्रिमियर लिग खेलिरहेका छन् । न्यूसाउथ वेल्स प्रिमियर क्रिकेट, प्रथम श्रेणी क्रिकेट लिग खेलिरहेका सन्दीपले प्रिमियर ग्रेडमा ४ वटा एकदिवसीय, ३ वटा दुई दिवसीय र एउटा टि–२० खेलिसकेका छन् । उक्त खेलहरुमा सन्दीपले ९१ ओभर बलिंग गर्दै १५ विकेट आफ्नो नाम गरिसकेका छन् । यही बर्ष मे महिनामा हङकङ टि–२० ब्लिट्ज खेल्न हङकङ पुगेका सन्दीप र क्लार्क एउटै टिमबाट खेलका थिए । खेलकै क्रममा ड्रेसिंग रुम शेयर गरेका क्लार्क सन्दीपको बलिंग र सिक्ने क्षमता देखेर प्रभावित भए । त्यसपछि उनले सन्दिपलाई अस्ट्रेलियामा खेल्ने मौका दिएका हुन् । अस्ट्रेलिया पुगेपछि क्लार्क स्वयम् सन्दीपलाई लिन एअरपोर्ट आएका थिए । सन्दीपसँगै क्लाक मैदानमा उत्रिएपछि अस्ट्रेलियन मिडियामा समेत सन्दीप पनि हेडलाइन बनेका थिए । अस्ट्रेलियामा निरन्तर अभ्यास र एक्सपोजरको मौका पाएका सन्दीप प्रत्येक सप्ताहान्त म्याच खेल्छन् भने अरु दिन अभ्यास गर्छन् । अस्ट्रलियामा क्लबका आफ्नै मैदान पनि रहेको हुन्छ । सन्दीप बेलुका ५ बजेदेखि साढे ८ बजेसम्म क्लबमा दैनिक अभ्यास गर्ने गर्छन । अर्को महिना श्रीलंकामा हुने एसिया कप प्रतियोगिता अघि नेपाल फर्कन उत्साहित सन्दीप टियु मैदान र खेलाडी साथीहरुसंग भेट्न आतुर भएको बताएका छन् ।
 

Sandeep lamichhane

विशेष