फुड

खाद्यान्न पसलमा म्याद नाघेका सामग्री

खाद्यान्न पसलमा म्याद नाघेका सामग्री
मंसिर - ३ । कार्यविनायक नगरपालिकाका कतिपय खाद्यान्न पसलमा म्याद नाघेका खाद्यान्न बेच्न राखिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा एस मिनीस्टोर र दीपक गुप्ता स्टोरले म्याद नाघेका र लेबल नभएका खानेकुरा बेच्न राखेको पाइएको हो । जिप्रका ललितपुरका बजार संरक्षण अधिकृत विष्णुप्रसाद सुवेदीले दूध, मसला, खुर्सानी लगायत खाद्यान्न म्याद सकिएको पाइएको बताए ।अनुगमन टोलीले कार्यविनायक–१ मा रहेको एस मिनीस्टोरमा बेच्न राखिएको दूध म्याद नाघेको पाएकाले सोही स्थानमा नष्ट गरेको छ । खुर्सानीको धुलो, बेसार, मसला लगायत खाद्यान्नमा भने लेबल नभएको पाइएको छ । कार्यविनायक–३ को गुप्ता स्टोरले बेच्न राखेको म्याद नाघेका पाउरोटी टोलीले नष्ट गरेको छ । त्यस्तै दुनोट, मकैको पिठोलगायत खाद्यान्नमा लेबल नभएको पाइएको छ । टोलीले अरु खाद्यान्न पसलमा समेत अनुगमन गरेको थियो । टोलीले ठूला गल्ती नपाइएका खाद्यान्न पसललाई लेबल भएका सामान मात्रै किन्न र बेच्न निर्देशन दिएको छ । पहिलेभन्दा खाद्यान्न पसल सुधार हुँदै गएको पाइएको सुवेदीले बताए । उनले भने,– पहिलेभन्दा पछिल्ला दिनमा खाद्यान्न पसल सजग हुँदै गएको हामीले पाएका छौँ, पहिले नगरका भित्री भागमा मात्रै अनुगमन केन्द्रित भए पनि पछिल्लो समयमा नगरोन्मुख ठाउँमा समेत हुन थालेको छ । रासस

विशेष