फुड

काँचो स्याउ बजारमा

काँचो स्याउ बजारमा

खलङ्गा। जुम्ली काँचो स्याउ यहाँको बजारमा देखिन थालेको छ । जुम्ली स्याउ पूर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना र ७० प्रतिशत रङ चढिसकेको हुनुपर्छ । जुम्ला जिल्लाका तातोपानी र तिला गाउँपालिकामा उत्पादित स्याउ नपाक्दै बजारसम्म पुगिसकेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार दुई स्थानीय तहबाट झण्डै ६० टन स्याउ बजारसम्म पुगिसकेको छ । यस पटक व्यापारीले नपाक्दै स्याउ सुर्खेत बजारमा लगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, भदौ १० गतेभन्दा तल सिफारिस नदिनका लागि आग्रह गरेका थियौँ । यहाँका स्थानीय तहका वडाध्यक्षले मनपरी रुपमा ढुवानीका लागि सिफारिस दिँदा काँचो स्याउ रोक्न सकिएन जसले जुम्ली स्याउको गुणस्तरीयतामाथि प्रश्नचिन्ह खडा हुन पुग्यो ।

स्थानीय तहले महत्व बुझ्न नसक्दा बजारमा काँचो स्याउ पुगेको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो । हरितालिका नजिकिँदै गरेकाले यहाँका व्यापारी काँचो स्याउ उठाउन हतारिएका हुन् । यस पटक स्याउ उत्पादन निकै कम हुने सम्भावना छ । कृषि कार्यालयले पाँच हजार एक सय मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरेको छ । उत्पादन कमी हुँदा स्याउको महत्व बढ्ने भएकाले स्याउ टिप्न हतारो नगर्न कृषि विकास कार्यालयले आग्रह गरेको छ ।

जिल्लामा गोल्डेन, रोयल, रेड, जोनाथन, स्वीच एमी र चक्लेट जातको स्याउ उत्पादान हुने गरेको छ । पछिल्लो समयमा अष्ट्रेलियाली जातको फुजी स्याउसमेत जिल्लामा खेती गरिएको छ । बन्दाबन्दी र निषेधाज्ञाले पाकेको स्याउ सुर्खेत र नेपालगञ्ज लैजान ठूलो समस्या खडा हुने हो कि भनेर यहाँका स्याउ किसानमा निराशा छाएको तिला गाउँपालिका १ का स्याउ किसान गोर्ख बस्नेतले बताउनुभयो । गत वर्ष जिल्लामा १२ हजार मेट्रिक टन स्याउ फलेको थियो ।(रासस)

विशेष